फुजेल काण्ड : ‘कानुन तल व्यक्ति माथी’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ फाल्गुन २०७२, शनिबार १४:२५
  • नेताहरु नै अपराधी छन्  
  • सत्ताकै लागि कानुन

 

 

प्रधानमन्त्रीले सम्बोधन गर्ने भनिएको सैनिक मञ्चको कार्यक्रममा आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गर्दै केही वर्षदेखि अनसनमा बस्दै आएकी गंगामाया अधिकारीलाई न्यायको माग गर्दै शुक्रबार मानवअधिकारकर्मीहरुले धर्ना दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरि केही घण्टा नियन्त्रण लियो । पक्राउ पर्नेहरुमा चर्चित मानवअधिकारकर्मीहरु थिए । तीमध्ये एम्नेस्टि इन्टरनेशनल नेपालका अध्यक्ष सुर्यबहादुर अधिकारी पनि थिए । उनै अध्यक्ष अधिकारीसंग फुजेल घट्ना र यसको राजनीतिक प्रभावका विषयमा राष्ट्रिय खबरका लागि पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।555035_749036508445718_777322176_n (1)

केही समयअघि हामीले खबर पायौँ कि प्रजातन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री, राष्ट्रपतिलगायत सरकारका उच्च अधिकारीहरु सैनिक मञ्चमा आउदैछन् । त्यसपछि हाम्रा साथीहरुबीच सल्लाह भयो, प्रजातन्त्र, नागरिक अधिकार र शुसासनबारे उनीहरुले भाषण गनुपूर्व नै हामी त्यहाँ पुगेर धर्नामा बस्यौँ । खासगरि छोराको हत्यारालाई कार्वाहीको माग गर्दै केही वर्षयता अनसनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था निकै नाजुक बनेको छ । उनलाई वीर अस्पतालमा नभएर गंगालाल लगिएको छ । हत्यारा त खुला रुपमा हिडिरहेको छ नै अब ती बुढी आमासमेत जीवनमरणको दोसादमा पुगेकी छन् । उनको जीवनरक्षाको चुनौति देखेर हामीले यो विषयमा सरकारले कानमा तेल नहालोस् भनेर कार्यक्रम स्थलमै धर्ना सुरु गरेका थियौँ । कार्यक्रम शुरु हुनुपूर्व नै प्रहरीहरु आए । हामीलाई तपाईहरु हिड्नुस् भन्दै जवरर्जस्ती भ्यानमा हालेर सिंहदरबारमा रहेको प्रहरी वृत्तमा लगेर थुने । झण्डै तीन घण्टा थुनेर हामीलाई छाडियो । यसबाट पनि के प्रष्ट हुन्छ भने सरकार मानवअधिकारको सवालमा गंभिर छैन । तर हामी मानवअधिकारकर्मी सरकारको यस्तो निरिहताको विरोध गरिनै रहन्छौँ ।
आफ्नो छोराको हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि अनसनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था
चिन्ताजनक छ । कस्तो राज्य हाम्रो ? सर्वोच्च अदालतले समेत फुजदोषीमाथी कार्वाही गर्न सिफारीश गरिसकेको अबस्थामा सरकारले कार्वाही गर्न सकेको छैन । यसले दण्डहीनतालाई पश्रय दियो कि दिएन ? हामी अपराधीलाई कार्वाही गर सरकार भनेर सप्रमाण आवाज उठाउनेहरुलाई प्रहरी लगाएर थुनाउने सरकार ।

अन्तर्राष्ट्रिय समुदायमा बेइज्जत

फुजेल प्रकरण अन्तर्राष्ट्रियकरण भईसकेको छ । तर दोषी आज पनि खुलेआम हिँडिरहेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र यहाँको कानुनमाथी प्रश्न उठिसकेको छ । यो हाम्रो लागि पक्कै राम्रो हाईन । एम्नेष्टि इन्टरनेशनलको हाम्रो केन्द्रिय कार्यालयबाट पनि फुजेल घट्नाका दोषीमाथी कार्वाही गर्न सरकारलाई आग्रह गरेको थियो । हामी त यी दिनरात गंगामायालाई न्याय दिलाउन लागि परेका छौँ । तर हामीलाई पनि राजनीतिक दलका नेता र सरकारले नै राजनीति गरेको भन्ने आरोप लगाए । न्यायको सुनिश्चितता गराउनुपर्ने सरकार र राजनीतिक दलका नेताहरुनै यो विषयमा गंभिर नभईदिदा नेपालमा मान्छे सुरक्षित छैनन् भन्ने कुरा संसारमै फैलिसक्यो । यसले हाम्रो देशको बारेमा पक्कै राम्रो सन्देश दिदैन ।

नेताहरु नै अपराधी छन्  सत्ताकै लागि कानुन कुल्चिन्छन् नेताहरु

हाम्रो देशमा  नेताहरु नै अपराधी छन् । अन्यायलाई प्रश्रय दिनु पनि अपराध नै हो । नेपालको राजनीति अपराधबाट निर्देशित छ । मानवअधिकारको संरक्षण गर्न केपी वलीको नेतृत्वको सरकार पूर्ण असफल छ । ओली सरकारमा धेरै पार्टीहरुको संलग्नता छ । मुख्य रुपमा एनेकपा माओबादीको विशेष समर्थनमा यो सरकार बनेको छ । र फुजेल काण्डका दोषी पनि तत्कालीन माओबादीकै कार्यकर्ताहरु हुन् । उनीहरुलाई कार्वाही गरिए माओबादीले विरोध जनाउने डरले यो सरकारले हिम्मत गर्न सकिरहेको छैन । सत्ताको लागि कानुन कुल्चने हाम्रोमा चलन नै विकास भएको छ ।

प्रजातन्त्र के का लागि ?

प्रजातन्त्र दिवसको अवसर पारेर हुने कार्यक्रममा पुगेर ठुला भाषण दिएर प्रजातन्त्र सुनिश्चित हुँदैन । न हेलिकप्टरबाट पुष्पगुच्छा गरेरै प्रजातन्त्रको संरक्षण हुन्छ । प्रजातन्त्र साँच्चै मान्ने हो भने नागरिकको बाँच्न पाउने अधिकार सरकारले सुनिश्चित गर्न सक्नुपर्छ । न्यायको लागि त्यति लामो समयदेखि अनसनमा बसेकी गंगामायालाई अहिले स्वास्थ्य उपचारको खाँचो छ । उनको जीवनरक्षाको खाँचो छ । प्रजातन्त्रमा कानुन मान्नुपर्छ र नागरिक सर्वोच्चता हुनुपर्छ । प्रजातन्त्र जनताको लागि हो, त्यसैले जनताका अधिकार उच्च प्राथमिकतामा राख्नुपर्छ । तर यो सरकार प्रजातन्त्रका यी आधारभूत मान्यतामा चुकेको छ ।

नेपालमा मानवअधिकारको अवस्था गम्भीर

अहिले यहाँ नागरिक अत्यन्तै असुरक्षित छन् । कुनैपनि बेला एउटा आम नागरिकमाथी जे पनि हुन सक्छ । नागरिक अधिकारको विषयमा सरकार र राजनीतिक दल नै गंभिर छैन । यहाँ व्यक्तिको बोलि र पहुँचको दायरामा कानुन छ । कानुन सबैभन्दा माथी हुनुपर्ने हो तर हामीकहाँ कानुनभन्दा व्यक्ति माथी छन् । उनीहरुले जे गर्यो त्यो नै कानुन बन्ने अवस्था छ । हाम्रो देशमा अहिले दण्डहीनता चरम उत्कर्शमा छ । त्यसैले नेपालमा मानव अधिकारको अवस्था गम्भीर छ ।

प्रतिक्रिया