काठमाडौँ । अनेरास्ववियु मतगणना हिँजो रातीबाट सुरु भएको एमालेनिकट अनेरास्ववियुको मतगणना अहिले पनि जारी छ । एमाले पार्टी कार्यालय धुम्बारहीमा जारी अहिलेसम्मको मत गणनामा अध्यक्षका प्रत्यासी दीपक गौतमलाई ३१ मतले पछि पार्दै नवीना लामा अगाडी देखिनुभएको छ । कुल १ हजार ५ सय १९ मतमा अहिलेसम्म ३ सय ४७ मत गनिएको छ । जसमा लामाले १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी गौतमले १ सय ५८ मत प्राप्त गर्नुभएको छ । मतगणना भोली बिहानसम्म जारी रहने नेता दीपक गौतमले जानकरी दिनुभयो । अनेरास्ववियुको यो महाधिवेशनले अध्यक्षसहित खुला प्रतिष्पर्धाबाट चारजना उपाध्यक्ष, एक महासचिव, चार खुला र तीन आरक्षणसहित सातजना सचिव निर्वाचित गर्नेछ । त्यसबाहेक अनुशासन निर्वाचन र लेखा गरेर तीनवटा आयोगका प्रमुख, १७ सदस्यीय स्थायी समिति र एक सय ४१ सदस्यी केन्द्रीय समिति सदस्य पनि निर्वाचित हुनेछन् । माघ २८ गते राजधानीमा सुरु भएको महाधिवेशन, संगठनको आन्तरिक द्धन्द्ध र माउ पार्टी एमालेका उच्च तहका नेताले आफू निकटका व्यक्तिलाई जिताउन गरेको कसरतका कारण लम्बिएको हो । महाधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा नवीना लामा तथा नेता माधव नेपाल समूहको समर्थनमा दीपक गौतमबीच प्रतिष्पर्धा भएको छ ।
प्रतिक्रिया