नुवाकोट, ५ असार । अर्काकी श्रीमतिसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा बुधबार नुवाकोटको तारुकाका एक शिक्षक माथि कुटपिट भएको छ ।
तारुका २ को श्रीकृष्ण उच्चमाविका शिक्षक खमलाल तिमिल्सेनालाई स्थानीय एक महिलासँग अवैध यौन सम्बन्ध राखेको आरोपमा बुधबार स्थानीय युवाले कुटेका हुन् ।
स्थानीय युवाको कुटाइबाट घाइते शिक्षकलाई प्रहरीसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशनकुमार बस्नतले जानकारी दिनुभयो । शिक्षकको शरीरको माथिल्लो भागको कपडा च्यातेर नांगै बनाइएको छ भने ढाडमा नील डाम छन् ।
‘स्थानीय युवाहरुले एक विवाहित महिलासँग अवैध सम्बन्ध राखेको आरोपमा कुटेछन्, पछि स्थानीय प्रहरी चौकीलाई ती महिलासहित बुझाएपछि सदरमुकाम ल्याइएको छ,’ प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो, ‘घटनाको वास्तविकता बुझ्ने क्रममा छौं ।’
धादिङ घर भइ हाल तारुकाघाटमा बस्दै आएका शिक्षक तिमिल्सेना चारदिन काठमाडौं बसेर मंगलबार गाउँ फर्किएका थिए । शिक्षकसँग अवैध सम्बन्धको आरोप लागेकी महिला पनि काठमाडौंमा चार दिन बसेर फर्किएकी थिइन् ।
दुबै जना चारदिन राजधानीमासँगै बसेर आएको आरोप लगाउँदै स्थानीय युवाले शिक्षकलाई कुटपिट गरि युवतीसहित प्रहरीलाई जिम्मा लगाएका हुन् । एक सन्तानीका आमा ती महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा भारतमा छन् । स्थानीय बासिन्दाले भने तिमिल्सेनाको तीन वटी श्रीमती रहेको स्थानीयले आरोप लगाएका छन् ।
दुई वर्ष अघि पनि शिक्षक तिमिल्सेना आफ्नै छात्रालाई यौन दुराचार गरेको आरोपमा विवादमा मुछिएका थिए । यो घटना भने मिलापत्र गरी मिलाइएको थियो ।
प्रतिक्रिया