मिर्गौला प्रत्यारोपण, दिने धेरै श्रीमती लिने धेरै श्रीमान्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ माघ २०७२, शनिबार ०७:१७

mirgaulaमिर्गौला फेल हुने सम्भावना महिला र पुरुषमा बराबर नै हुन्छ । तर, फेल भइसकेपछि उपचारको पहुँचमा भने पुरुषको तुलनामा महिलाको पहुँच एक चौथाइभन्दा कम छ । नेपालमा मिर्गौला प्रत्यारोपण सेवा दिइरहेका अस्पतालको तथ्यांक हेर्दा प्रत्यारोपणका लागि मिर्गौला दिनेमा महिला बढी र लिनेमा पुरुष बढी देखिएको छ । नेपालमा मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र पछिल्लो समय चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजमा सुरु भएको छ । मंसिर मसान्तसम्म यी चारवटा अस्पतालमा पाँच सय ६७ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । अच्चम्म लाग्दो कुरा के छ भने कुल प्रत्यारोपण गरिएकामध्ये ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला छन् । तर, प्रत्यारोपणका लागि मिर्गौला उपलब्ध गराउनेमा ७० प्रतिशत महिला र ३० प्रतिशत मात्रै पुरुष छन् । जबकि, यो रोगको समस्या महिला–पुरुष दुवैलाई बराबर रूपमा देखिन्छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह भन्छिन्, ‘प्रत्यारोपण गरिएका बिरामीको तथ्यांकले उपचारको पहुँचमा महिला अहिले पनि पुरुषको तुलनामा निकै पछाडि छन् भन्ने देखाउँछ ।’ उनले महिलाको मिर्गौला फेल भएमा डाइलासिस गराउने, तर प्रत्यारोपणकै अवस्थासम्म नपुगेको बताइन । तर, उनले प्रत्यारोपणका लागि मिर्गौला झिक्ने काममा भने पुरुषभन्दा महिला नै पहिलो रोजाइ हुने बताइन् । ‘पुरुष बाँच्नैपर्ने र उनीहरूलाई महिलाले बचाउनैपर्नेजस्तो अवस्था देखिएको छ,’ नयाँ पत्रिकासँग उनले भनिन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विगतको तुलनामा केही सुधार भए पनि महिला र पुरुषको उपचार अनुपात निकै फरक भएको बताए । उनले विगतमा ९० प्रतिशत पुरुष र १० प्रतिशत महिलामा हुने गरेको प्रत्यारोपण अहिले ८० प्रतिशत पुरुष र २० प्रतिशत महिलामा हुने गरेको बताए । डा. श्रेष्ठले महिलालाई पनि उपचारको दायरामा अघि बढाउनु छ भन्ने जनचेतना बढाउनुपर्नेमा जोड दिए । दान गर्नेमा बाबुआमा बढी अंगदानसम्बन्धी सरकारी नीतिले प्रत्यारोपणका लागि बाजेबज्यै, बाबुआमा, दिदीबहिनी, दाजुभाइ, काकाकाकी, भतिजाभतिजी सहभागी हुन मिल्ने व्यवस्था गरेको छ । त्यस्तै बिहे गरेको दुई वर्ष पुगेका श्रीमान्–श्रीमतीले पनि एक–अर्कालाई दान गर्न सक्छन् । त्यस्तै सम्बन्ध गाँसिएको दुई वर्ष पुगेका सौतेनी बाबुआमा र धर्मपुत्र–धर्मपुत्रीले पनि छोराछोरी वा आमाबाबुलाई दिन सक्छन् । तर, दिनैपर्ने अवस्थामा सबैभन्दा अघि सर्ने भने बाबुआमा हुन् । नेपालका चारवटा अस्पतालको तथ्यांक हेर्दा कुल प्रत्यारोपणमध्ये ६७ प्रतिशत आमाबाबु पर्छन् । त्यसमध्ये पनि ५० प्रतिशतभन्दा बढी आमा हुन्छन् । बाँकी १७ प्रतिशत मात्रै बाबुले दान गरेका हुन्छन् । दोस्रो नम्बरमा दान गर्ने श्रीमती हुन् । करिब २६ प्रतिशत श्रीमतीले आफ्ना श्रीमान्का लागि मिर्गाैला दान गरेका छन् । तर, श्रीमतीलाई दान गर्ने श्रीमान्को प्रतिशत तीन छ । बाँकी चार प्रतिशतमा दुई प्रतिशत दिदीबहिनी, बज्यै, धर्मपुत्री, काकी र बाँकी दुई प्रतिशत अन्य नातेदार छन् । वीर अस्पताल मिर्गौला प्रत्यारोपण विभागमा कार्यरत नर्स कल्पना ढुंगेल भन्छिन्, ‘सबैभन्दा बढी आमाले दिन्छिन्, त्यसपछि श्रीमतीले अनि त्यसपछि बाबुले, तर श्रीमान्ले त निकै थोरै ।’ किन यस्तो हुन्छ त ? फेरि उनै कल्पना भन्छिन्, ‘स्वभावैले महिलाहरू बढी संवेदनशील हुन्छन्, आमा, श्रीमती, छोरीहरूको स्वभाव बाबु, श्रीमान् र छोराहरूजस्तो हुँदैन । अर्को कुरा, नेपाल पितृसत्तात्मक परिवार भएर पनि यस्तो भएको हुन सक्छ ।’ पुरुषले दान गरे ५० हजार छुट राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले महिलाका लागि पुरुषले मिर्गौला दान गरे ५० हजार रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । केन्द्रले प्रत्यारोपणमा लाग्ने साढे तीन लाखको प्याकेजमा यदि महिलाका लागि पुरुषले मिर्गौला दान गरेको छ भने ५० हजार रुपैयाँ छुट दिने व्यवस्था गरेको हो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दान भन्ने कुरा महिलाको मात्रै होइन, पुरुषको पनि हो भन्ने सन्देश दिन र उत्प्रेरणा जोगाउन यस्तो व्यवस्था गरेको बताए । ‘यो अभियानपछि प्रत्यारोपणमा पुरुषको संख्या बढ्न थालेको छ,’ उनले भने । जनजाति श्रीमान् दानवीर मारबाडी श्रीमान् धनवीर श्रीमान्को मिर्गौला फेल हुँदा अधिकांश श्रीमती आफैँ दिन कस्सिन्छन्, तर श्रीमतीको मिर्गौला फेल भयो भने अधिकांश श्रीमान् आफूले भन्दा सकेसम्म अन्तबाट व्यवस्था मिलाउन खोज्छन् । त्रिवि शिक्षण अस्पतालका डा. शाह भन्छिन्– माडबारी तथा बाहुन समुदायका श्रीमान्ले श्रीमतीका लागि सकेसम्म आफूले दिन नखोज्ने प्रवृत्ति देखिन्छ । तर, जनजाति, दलित समुदायका श्रीमान् भने श्रीमतीका लागि आफँै दिन अग्रसर हुन्छन् । यस्तो किन हुन्छ ? डा. शाह भन्छिन्– दान गरेपछि आफू स्वस्थ भइँदैन, आफू स्वस्थ नभएपछि घरबार बिग्रिन्छ भन्ने भ्रम भएको हो कि उनको छोटो जवाफ थियो । कति सफल छ नेपालमा मिर्गौला प्रत्यारोपण अन्य रोगको अप्रेसन गर्दा सफल–असफल भएजस्तो मापन गरिँदैन मिर्गौला प्रत्यारोपणलाई । यसको सफलता एक वर्ष, पाँच वर्ष र १० वर्षमा कति सफल भयो भन्ने गरी मापन हुन्छ । त्यसमा पनि बिरामी बाँच्ने प्रतिशत र प्रत्यारोपण गरेको मिर्गौलाले काम गरेको छ–छैन भन्ने प्रतिशत हेर्ने गरिन्छ । तर, त्रिवि शिक्षण अस्पतालको अध्ययनले यस्तो देखायो : प्रत्यारोपण गरेका बिरामीहरू एक वर्षको अन्त्यसम्म बिरामी बााच्ने ९७ प्रतिशत एक वर्षको अन्त्यसम्म नयाा मिर्गौला (ग्राफ्ट)ले काम गर्ने ९६ प्रतिशत पााच वर्षको अन्त्यसम्म बिरामी बााच्ने ९३ प्रतिशत पााच वर्षको अन्त्यसम्म नयाा मिर्गौला (ग्राफ्ट)ले काम गर्ने ८८ प्रतिशत नेपालमा मिर्गाैला प्रत्यारोपण गरेको १० वर्ष पुगिनसकेकाले त्यसको जानकारी आएको छैन मिर्गाैला फेल हुने औसत उमेर ३४ वर्ष नेपालमा मिर्गौला फेल हुनेको औसत उमेर ३४ वर्ष देखिएको छ । त्रिवि शिक्षण अस्पतालका डा. शाहका अनुसार प्रत्यारोपणमा आउनेमा अधिकांश वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका युवा छन् । तर, दान गर्नेको औसत उमेर ४७ वर्ष देखिएको छ । सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण गराएको त्रिवि शिक्षण अस्पतालले ११ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरूको मिर्गौला फेरेको छ । डा. शाह भन्छिन्, ‘सानो बच्चाको मिर्गौला ठूलो व्यक्तिलाई हाल्नुपरेमा दुवै मिर्गौला हालिदिनुपर्छ ।’ प्रत्यारोपण गरेपछि जति पनि बााच्न सक्छ मिर्गौला रोगको बारेमा सबैभन्दा बढी सोधिने प्रश्न हो, प्रत्यारोपण गरेको व्यक्ति कति समय बाँच्छ ? त्रिवि शिक्षण अस्पतालका डा. शाह भन्छिन्, ‘जति पनि बाँच्छ । प्रत्यारोपणपछि पनि ५०–६० वर्ष बाँचेका उदाहरण संसारमा छन् । त्यसैले यसमा शंका लिनुपर्दैन । तर, प्रत्यारोपण गरेपछि स्वास्थ्य सतर्कतामा भने केही ध्यान दिनुपर्छ ।’ उनले प्रत्यारोपण पनि पटक–पटक गर्न सकिने भन्दै एकपटकको मिर्गौला असफल भएमा दोस्रो, तेस्रो, चौथो गरी धेरैपटकसम्म प्रत्यारोपण गर्न सकिने बताइन् । उनले प्रत्यारोपण गरेका बिरामीले प्रयोग गर्ने औषधिले रोगप्रतिरोधात्मक क्षमता ह्रास गराउने भएकाले खानपान, आनीबानीमा सुधार ल्याउन जरुरी छ । अर्थात् शरीरलाई थप जतन गर्नुपर्छ । डा. शाहका अनुसार प्रत्यारोपण गरेपछि पनि नयाँ मधुमेह रोग देखा पर्ने, मोटोपना, कोलेस्ट्रोल, इन्फेक्सनको सम्भावना, हर्ट अट्याकको सम्भावना बढी हुन्छ । त्यसैले जोगिन जरुरी छ । खर्चिलो रोग नेपालमा सरकारले मिर्गौला रोग लागेका व्यक्तिका लागि आठ लाख २० हजारसम्मको उपचार सुविधा दिने गर्छ । तर, यतिले पर्याप्त हुँदैन । डायलासिस, प्रत्यारोपण र प्रत्यारोपणपछिका औषधिमा सहुलियत दिए पनि प्रत्यारोपणअघि गरिने महँगा परीक्षण र त्यसपछि पनि जीवनभर महँगो औषधि खानुपर्छ । डा. शाह भन्छिन्, ‘प्रत्यारोपणपछि सुरुका केही महिना २५–३० हजारको औषधि खानुपर्छ, तर अवस्था हेरेर बिस्तारै घटाउन सकिन्छ । एक वर्षपछि वार्षिक पाँचदेखि १५ हजारसम्मको औषधिले पनि पुग्छ । उस्तै गरिबलाई २५ सय, तीन हजारको औषधिले पनि काम चलाउन सकिन्छ ।’ फेल भएकामध्ये ६० प्रतिशत मात्रै प्रत्यारोपण गर्न योग्य सबै मिर्गौला रोगीहरूलाई प्रत्यारोपण गरिँदैन । किनकि, मिर्गौलाबाहेकका अन्य खतरनाक रोग पनि उनीहरूसँग रहन सक्छन् । मधुमेह, क्यान्सर, मुटु, एडसजस्ता रोग लागेका बिरामीलाई प्रत्यारोपण योग्य हुँदैन । तर, नेपालमा वार्षिक फेल हुने चार हजार पाँच सय नयाँ रोगीमध्ये करिब ६० प्रतिशत अर्थात् करिब दुई हजार सात सयजना मिर्गौला फेर्न योग्य हुन्छन् । तर, ६ वर्षको अवधिमा मात्रै पाँच सय २१ वटा प्रत्यारोपण नेपालमा भएको छ । मिर्गौला फेल भएपछि विकल्प प्रत्यारोपण नै हो । चिकित्सक भन्छन्– प्रत्यारोपण गरे ९० प्रतिशत बाँच्ने सम्भावना हुन्छ । तर, डाइलासिस मात्रै गर्दा बाँच्ने सम्भावना ६० प्रतिशत मात्रै हुन्छ । मिर्गौला बिग्रेपछि मीरालाई छाडे श्रीमानले सुख–दु:ख सँगै बाँड्ने भन्दै ६ वर्ष लामो प्रेमसम्बन्धलाई बिहेमा परिणत गरेको सात महिनापछि काठमाडांै ताहचलकी मीरा (नाम परिवर्तन)को स्वास्थ्य समस्या देखियो । श्रीमान्ले गाडीमा राखेर त्रिवि शिक्षण अस्पतालमा ल्याए । लक्षणहरू बताउँदै जाँदा डाक्टरले मिर्गौलामा समस्या देखिन सक्ने आशंका गरे । सोहीअनुसार परीक्षण भयो । रिपोर्ट डाक्टरको आशंकासँग मिल्यो । उनको दुवै मिर्गौला फेल भइसकेको रहेछ । डाक्टरले प्रत्यारोपण गर्नुपर्ने कुरा गर्नासाथ श्रीमान्को व्यवहारमा परिवर्तन आयो । श्रीमान्ले आकस्मिक रूपमा व्यापारका लागि बाहिर जानुपर्ने भन्दै सोही दिन उनलाई माइती लगेर छाडिदिए । दु:ख–सुखमा साथ दिने भन्दै गरिएका वाचा एकैपटक तोडिए । जतिवेला मीरालाई आफ्नो श्रीमान्को जरुरी थियो, ठीक त्यतिवेला उनी एक्ली भइन् । ज्वाइँको व्यवहार सुनेकी आमाले तत्काल छोरीका लागि मिर्गौला दान गर्ने भइन् । तर, आमाको मिलेन । त्यसपछि बाबुले दिने निर्णय लिए । बिहे भए पनि छोरीको उपचारका लागि मीराका बाबुआमाले घरजग्गा धितो राखेर पैसा जुटाए । साढे तीन महिनाभित्रमा त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण गरे । उता व्यापारको सिलसिलामा बाहिर जान्छु भनेर मीरालाई छाडेका श्रीमान् न बाहिर गए, न मीरालाई भेट्न आए । मीरा र उनका माइतीलाई सुरुदेखि नै यो कुरा थाहा थियो । त्यसैले मीराका बुबाले माइतीमै राख्ने निर्णय गरेका थिए । तर, केही महिनापछि मीराको मन बदलियो । पुराना दिन सम्झिन थालिन् । प्रत्यारोपण गर्नुअघिको श्रीमान्को व्यवहारलाई बिर्सेर फेरि पनि उनै श्रीमान्सँग बस्न पाए हुने भन्नेमा थिइन् । यो घटनालाई सुरुदेखि नियालेरहेकी त्रिवि शिक्षण अस्पतालकी डा. दिव्याले प्रत्यारोपणको एक महिनापछि श्रीमान्लाई फोन गरी श्रीमतीलाई सँगै लैजान आग्रह गरिन्, तर श्रीमान्ले फेरि सर्त राखे । यसलाई लगेर बच्चा हुन्छ कि हुँदैन ? डाक्टरले बच्चा हुन्छ भनेपछि मात्रै उनी घर लैजान राजी भए । अहिले मीराले एक छोरी जन्माएकी छिन् । enayapatrika बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१