काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा दुई वटा सदस्य पद खाली भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले बोर्डका तत्कालिन सञ्चालक समिति सदस्यद्वय धु्रबनारायण श्रेष्ठ र रेवत बहादुर थापालाई पुनः मनोनयन गर्ने गरेको निर्णय कानुनविपरित भएको भन्दै बदर गर्ने पुनराबेदन अदालत पाटनले फैसला गरेसँगै उक्त पद स्वतः रिक्त भएको हो ।
पर्यटन मन्त्रालयले गत २०७० मंसिर २५ गतेको दिन श्रेष्ठ र थापालाई पुनः सञ्चालन समितिमा पुनः मनोनयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल क्यानोइङ एसोसिएशनका अध्यक्ष तथा टानका बर्तमान महासचिव कर्णबहादुर लामाले पुनराबेदन अदालतमा निवेदन पेश गर्नुभएको थियो । सो निवेदन २०७२ माघ ६ गतेको दिन पुनरावेदन अदालतको इजलासमा पेस गरिएको थियो । इजलासको फैसलामा भनिएको छ ‘मनोनयन गर्ने मन्त्रालयको निर्णय कानुनी प्रक्रिया पूरा नगरी कानुनविपरित निर्णय भएको देखिँदा उत्प्रेषणको आदेशद्धारा बदर गरिदिएको छ’ ।
पुनरावेदन अदालत पाटनले २०७२ माघ १० गतेको मितिमा फैसलाको जानकारी दिन निवेदक कर्णबहादुर लामालाई जानकारी पत्र पठाएको हो । चलानी नं २४८६ रहेको जानकारी पत्रमा अदालतले कानुनी प्रक्रिया पूरा गरी बोर्डको कार्यकारी समितिमा रिक्त रहेको सदस्य पदमा मनोनयन गर्न आदेशसमेत दिएको छ ।
प्रतिक्रिया