बुर्तिवाङबाट ३८ किलो चरेससहित तीन पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ माघ २०७२, शुक्रबार ०७:३४
चरेसबागलुङको  बुर्तिवाङबाट ३८ किलो अवैध लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोलीले स्थानीय बसपार्कबाट उनीहरुलाई गएराति  पक्राउ गरेको हो।
चरेससहित पक्राउपर्नेमा रुकुमको रन्मा मैकोट–५ का ५१ वर्षीय बेजबहादुर घर्तीमगर, सोही स्थानका २३ वर्षीय राजु घर्तीमगर र रोल्पा घर भएकी ३० वर्षीया कर्मचीज पुन रहेको प्रहरीले जनाएको छ।
जिल्लाको ढोरपाटनबाट बुर्तिवाङ ल्याउँदै गरेका अवस्थामा गस्तीटोलीले चरेस फेला पारेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। जाँचका क्रममा झोलामा राखी बोकेको अवस्थामा चरेस भेटिएको उनको भनाइ छ।
चरेससहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ।  लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ अनुसार लागुऔषधसहित पक्राउपर्नेलाई दुई वर्षदेखि १० वर्षसम्मको कैद र १५ हजारदेखि एक लाखसम्मको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। रासस

प्रतिक्रिया