अशोक सिलवाल । मलाई थाहा थिएन, यो यात्रामा उनी पनि हुनेछन् । तर, मैले बिहानै चन्द्र ढकालजस्तै मान्छे कलंकीमा देखें । संयोगले हामी एउटै गाडीमा परेछौं । म सबभन्दा पछाडिको लहरमा थिएँ भने उनी डाइभरछेउ पहिलो लहरमा । उस्तैउस्तै तीनवटा कार थानकोटतिर अगाडि बढ्यो ।
गाडी कलंकीबाट थानकोट पुगुन्जेल पनि हामीबीच कुनै कुरा भएन । म गाडीमा रहेका सहयात्रीहरूका कुरा मात्र सुनिरहेको थिएँ । गाडी थानकोट चेकपोस्ट आसपासबाट गोदामचौरतिर उकालियो । त्यति बेलासम्म भने मैले उनी चन्द्र ढकाल नै हुन् भनेर थाहा पाइसकेको थिएँ । यसअघि हाम्रो दोहोरो परिचय थिएन । यदाकदा उनलाई टेलिभिजन र आक्कलझुक्कल कुनै कार्यक्रमहरूमा देखेको थिएँ । तर, मलाई उनले देखेका थिए कि थिएनन् ? मैले उनलाई सोधिनँ । यद्यपि यसपटक यो यात्रामा मैले उनको नामजस्तो ब्रान्डेड ‘उनी’ पाइनँ । उनको असाध्यै सामान्य छविले म पहिलो भेटमा नै प्रभावित भइरहेको थिएँ ।
गोदाम भन्ने ठाउँमा पुगेर गाडीहरू रोकिए । त्यहाँ निर्माणको भव्य काम भइरहेको रहेछ । फुलचोकीपछि उपत्यकाकै दोस्रो अग्लो डाँडा चन्द्रागिरिसम्मको केबलकारको त्यो शुरू बिन्दु थियो, जो अब चाँडै नै शुरू हुनेछ । चन्द्र ढकाल एन्ड टिमको लक्ष्य यदि सफल भयो भने नयाँ वर्ष–२०७३ को पहिलो दिन झन् विशेष हुनेछ । धेरैले त्यो दिन कार मात्र होइन, केबलकार चढेर नयाँ वर्षलाई विशेष रूपमा शुरू गर्न सक्नेछन् ।
हामी अब चन्द्रागिरि केबलकारको कुरा गरिरहेका छौं । तर, म केबलकारभन्दा चन्द्र ढकालको जीवनशैलीलाई बढी नियाल्न खोज्दै छु । सामान्य जीवनबाट उक्लिएका उनी पछिल्लो दशककै व्यावसायिक हिरो रहे । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको जति नाम लिन्छौं हामी, आईएमईका नाममा हामी चन्द्र ढकालको नामै नलिई वा लिई उनको पनि त्यति नै चर्चा गर्छौं । देशका विभिन्न भागमा मात्र होइन, विदेशका अनगिन्ती भूमिमा पनि चन्द्र ढकाल आईएमईका नाममा एउटा चर्चित पात्र हुन् ।
‘केबलकारको दूरी साढे दुई किलोमिटर छ । यो यात्रा ९ मिनेटको हुनेछ । एक घन्टामा १ हजार मान्छे माथि जान सक्छन् । एउटा गोन्डोला (प्यासेन्जर बक्स) मा ८ जना अट्छन् । ३८ वटा गन्डोला छन् । थप ३ वटा क्यारियर छन् । केबलकारको बटम स्टेसनबाट टप स्टेसनबीच ९ सय ५१ मिटरको उचाइ छ । यो प्रविधि अस्ट्रियाको डुबरमेयरको हो । यसले नै मनकामनाको केबलकार पनि बनाएको हो । यो केबलकार बाथरुमदेखि रेस्टुरेन्ससम्म अपांगमैत्री छ । सायद यो दक्षिण एसियाकै अपांगमैत्री केबलकार परियोजना हो । स्पिडमा काम शुरू गरेको १७ महिना जति भयो । नाकाबन्दी, भूकम्प आदिले यो अलि ढिला भएको हो ।’
यी त चन्द्रागिरि केबलकारका शुरुआती सूचना मात्र हुन् । अरू थुप्रै सूचना मैले प्राप्त गर्नेछु । तर, मलाई फेरि पनि चन्द्र ढकाललाई नजिकबाट नियाल्नु छ । उनी कसरी बोलिहरेका छन् ? उनी कसरी हिँडिरहेका छन् ? उनको तरिका के हो ? सामूहिक रूपमा केही गफगाफ गरेपछि परियोजना क्षेत्रको एक छेउमा उनी अगाडि बढे । के–के न देखाउन लगेका होलान् भन्ठानें मैले । तर, उनले त स्लमडग स्टाइलको झुपडी चर्पीमा पो लगेका रहेछन् । चेन लगाउँदै चर्पीबाट उनी बाहिर निस्किँदै गर्दा एक जना साथीले मतिर देखाउँदै भने– ‘चन्द्र सर उहाँलाई चिन्नुभएन ? उहाँ अशोक सिलवाल ।’ एकछिन आँखा गाडेर मलाई हेर्दै चन्द्र ढकाल बोले– ‘चिनेजस्तो लाग्छ ।’
त्यसका केही कारण अवश्य छन् । म यहाँ त्यो कारणतिर जाँदिनँ । त्यो अलि व्यक्तिगत सन्दर्भ हुन सक्छ । मलाई पिसाब पनि अलि च्यापिसकेको थियो । म चर्पी छिरें । सुपर धनाढ्य ढकालजस्तै म पनि फ्रेस भएँ ।
अब यात्रा चन्द्रागिरिको शिखरतर्फ लाग्यो, जसको उचाइ २५ सय ४० मिटर छ । जहाँ केबलकारको टप स्टेसन छ । जहाँ भालेश्वर महादेवको मन्दिर छ । गाडी जाने बाटो डाँडासम्मै पुगेको रहेछ । गाडीमा अघिल्ला लहरहरू भरिइसकेका रहेछन् । पछाडिको कुचुक्क परेको सिटमा म छिरें । एक सिट बाँकी थियो । चन्द्र ढकालका लागि अगाडिको सिट छाडिदिन साथीहरू तयार थिए । भन्दै थिए– ‘सर अगाडि आउनु न ।’ ढकाल मसँगै आएर खुम्चिएर बसे । तर, हार्दिकतापूर्वक । मलाई लाग्यो, व्यावसायिक रूपमा ‘ठूलो मान्छे’ को मन पनि ठूलै रहेछ ।
‘यो केबलकारका लागि ११ वटा टावर छन् । एउटा टावरबाट अर्को टावरको म्याक्सिमम डिस्ट्यान्स ८ सय मिटर छ । केबलकार खतरामुक्त छ । बत्ती गयो भने हजार केबीको ब्याकअप छ । यदि त्यसले पनि काम गरेन भने इमरजेन्सी सिस्टम छ । ५ जना मिलेर यो प्रोजेक्टको काम भइरहेको छ । अम्बिका पौडेल, उत्तम नेपाल, उमा जिसी, मीनबहादुर गुरुङ र म चन्द्र ढकाल । यो सब प्रोजेक्ट चन्द्रागिरि नगरपालिका–६ मा पर्छ । यो प्रोजेक्ट स्थानीयमैत्री छ । विशेष गरी वृद्धाहरूलाई एउटा विशेष प्याकेज दिने योजना छ । स्थानीयको सपोर्ट लोभलाग्दो छ ।’
उनी लगातार केबलकार सञ्चालन सेवा भएपछि केबलकार बत्तिएझैं गरी समग्र चन्द्रागिरि योजना सुनाउँदै छन्– ‘चन्द्रागिरि हिल्स ब्रान्ड हो । यसभित्र भ्यु टावर, भालेश्वर मन्दिर, केबलकार, एम्युजमेन्ट पार्क, रिसोर्ट आदि हुन्छ ।’
साँघुरिएर बसेका उनी फराकिला योजनाका कुरा गर्दै छन् । काठमान्डु नजिकैको दूरीमा रहेको यो ठाउँलाई उनी नगरकोटभन्दा माथि उठाउन चाहन्छन् । कलंकीबाट जम्मा ९ किलोमिटरको दूरीमा रहेको यो ठाउँमा केबलकारसँगै ‘हाइकिङ’ लाई पनि योजनाबद्ध तरिकाले अगाडि बढाउन सकिने मेरो कुरामा उनी सहमत मात्र भएनन्, त्यसका लागि सोचिसकेको पनि बताए ।
‘काठमान्डुका बच्चाहरूका लागि यो सुन्दर गन्तव्य हुनेछ । काठमान्डुमा भएकाहरू मात्र होइन, काठमान्डुमा आएका सबैलाई समेत यो अनिवार्य गन्तव्य हुनेछ’ –उचाइबाट काठमान्डु हेर्दै उनी भन्दै थिए । गाडीबाट ओर्लिएर फराकिलो काठमाडौं हेर्दै गर्दा स्कुल डे«स लगाएका बच्चाहरू माथितिर उक्लिँदै थिए । तिनीहरूतिर हेरेर ढकालले ठट्यौली गरे– ‘केबलकार चढ्न जान लागेको हो ?’
उमेरले पनि परिपक्व भइसकेका उनको बालसुलभ रमाइलो प्रश्नमा उनको केबलकार सपना भावनात्मक रूपले पनि जोडिएको रहेछ भनेर मैले अनुमान गरें । तर, त्यो सामान्य तर सांकेतिक घटनामाथि मैले कुनै प्रतिक्रिया जनाइनँ । फिसिक्क हाँसें मात्र ।
केही पाइला अगाडि बढ्दा एउटा समूह भेटियो । उनीहरू फोटो खिच्दै थिए । फेरि ढकाल उनीहरूतिर नजिकिएर सोधे– ‘फोटो खिचिदिऊँ ।’ उनीहरू पनि मजस्तै हाँसे मात्र । केही बोलेनन् ।
कुरा गर्दागर्दै हामी भ्यु टावरमा पुग्यौं तर त्यहाँ मोबाइलको टावर एकदमै ‘पोर’ थियो । टावरै थिएन भन्दा पनि हुन्छ । २५ सय ४० मिटरको उचाइमा रहेको भालेश्वर मन्दिर परिसर नेचुरल भ्यु टावर हो । मौसम सफा भए भ्यु टावरबाट सगरमाथा देखिन्छ रे । राति वीरगन्जमा बलेको पनि बत्ती देखिन्छ रे ।
सामरिक महत्त्वको यो स्थानको दक्षिपट्टि चित्लाङ र पूर्वपट्टि चन्द्रागिरिकै भूगोल छ भने अर्कोपट्टि मकवानपुरको फाखेल ।
काठमान्डुबाट नजिकै रहेको पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्त्वको यो शिखरबाट नेपालका प्रायः हिमशृंखला देख्न सकिन्छ । काठमान्डु देख्न सकिन्छ ।
भालेश्वर महादेवका लागि बनाइँदै गरेको आकर्षक मन्दिर अगाडि उभिएर जानकारी दिइयो– ‘देउताको घर थिएन । अब बन्दै छ । यहाँ आएर एउटा वर मागे पुग्छ भन्ने जनविश्वास छ । रुखमुनि रुझेर बसेका थिए भगवान् । तर, अब उनले मन्दिर पाएका छन् । चन्द्रागिरिको चिसोले अब उनलाई नसताउला ।’
संस्कृतमा निधारलाई भाल भनिन्छ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा उनको निधार पतन भएकाले भालेश्वर महादेव भनिएको हो रे ।
मल्लकालीन फ्लेबरको मन्दिर बन्दै गरेको मैले देखें । रिसोर्ट भने नुवाकोट दरबार स्टाइलको बनाउने योजना रहेको ढकालले सुनाए ।
१० लाख पर्यटकको आइटेनरीमा एक दिन थप्न सकियो भने नेपालको समग्र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने तर्क गर्दै नेपाल आउने विदेशीको नेपाल बसाइलाई एक दिन लम्ब्याउने लक्ष्य लिएर यो सब गरेको बताउँदै गर्दा ढकालमा चम्किलो आत्मविश्वास देखिन्थ्यो ।
अझ उनको अर्को नारा पनि रहेछ । हरेक नेपाली कम्तीमा एकपटक चन्द्रागिरिमा ।
भन्दै थिए– ‘यो मोडेल प्रोजेक्ट हो । यदि यो सफल भयो भने पूर्वाधारसहितको अरू गन्तव्यमा पनि जान सक्छौं ।’
उनी अझ हौसिएका छन्, तर, सामान्य तरिकाले बोल्दै छन्– ‘रिसोर्ट, एम्युजमेन्ट पार्क आदि गरेर ३ सयले प्रत्यक्ष रोजगारी पाउनेछन् भने अप्रत्यक्ष १ हजार जनाले काम पाउनेछन् । दूधदेखि फूल बेच्नेसम्मले ।’
ग्लोबल आईएमई बैंक र आईएमई ग्रुप अफ कम्पनिजका अध्यक्ष ढकाल बैंकिङ, सूचनाप्रविधि, ट्राभल एन्ड टुरिजम, पूर्वाधार विकासलगायत थुप्रै क्षेत्रमा सक्रिय छन् ।
पछिल्लो समय केबलकारमा समेत उक्लिएका ढकालका कुरा मात्र सुनिरहेको थिइनँ, म पनि बोल्दै थिएँ ।
‘मजस्ता सामान्य नेपालीले आफ्नो छवि देख्छ तपाईंमा । तपाईंले धेरै प्रगति गर्नुभयो । गर्दै जानुहोस् । तर, समाजले तपार्इंबाट मानवीय र सामाजिक अपेक्षा धेरै गरेको छ । त्यसैले तपाईंमा व्यावसायिकसँगै त्योभन्दा बढी सामाजिक जिम्मेवारी छ’, मैले त्यसो भनिरहँदा खुसी र भावुक हुँदै उनले बलियो गरी भने– ‘हो ।’
जब नेपालबाट उल्लेख्य मात्रामा जनशक्ति बाहिर जान थाल्यो, ठीक त्यही बेला उनले व्यवसाय शुरू गरे । विदेशमा काम गरेर नेपालीले कमाएको पैसा नेपाल ल्याउने खास माध्यम बने उनी । समयले उनलाई चिन्यो किनकि उनले समयलाई चिने । आईएमई यस्तो ब्रान्ड बन्यो कि अरू रेमिट्समा जाँदा पनि पनि मान्छेहरू यसैको नाम लिन थाले । संस्थाको नाम नै सेवाको नामजस्तो । तर, उनी त्यत्तिमा रोकिएनन् ।
डेढ दशकभन्दा बढी समयदेखि उनैका गाडी चलाइरहेका ड्राइभर मदनले सोह्रखुट्टेमा मलाई छाड्दै गर्दा भन्दै थिए– ‘चन्द्र सरको जीवन मलाई सपनाजस्तै लाग्छ ।’ उनले भनेको यो थोरै शब्दमा चन्द्रको जीवनको चामत्कारिक सफलता बुझ्न सकिन्छ । तर, त्यसको जगमा सम्झन र बिर्सनलायक कति घटना होलान् ?newsofnepal बाट साभार
प्रतिक्रिया