स्थानीयवासी नरबहादुर लुम्रे ९मगर०ले आफ्नै छोरी धर्मकुमारीलाई खोरमा थुनेर राखिएको अवस्थामा मानवअधिकारकर्मी, अपाङ्गता क्षेत्रमा क्रियाशील सङ्घसंस्था, जिविस, सञ्चारकर्मी र प्रहरी प्रशासनको सहयोगमा खोरबाट उद्धार गरी उनलाई घरमा राख्ने वातावरण मिलाएको छ । जन्मदै मानसिक समस्या भएकी किशोरीलाई वर्षौंदेखि खोरमा थुनिएकाले उनका हातगोडा कुँजिएका र चल्न सक्दैनन् । “रातभर रोइकराइ गर्थी, खप्न नसकेर बाबुले नै खोरमा थुनेर जानुभएको हो”, उनकी कान्छी आमा खिमकुमारीले भन्नुभयो ।
खोरमा थुनिएर बस्नुपर्दा उनको तौल पनि करिब २० देखि २५ किलोग्राम मात्र छ । १८ वर्षकी धर्मकुमारी बोल्न, हिँड्डुल गर्न र अन्य क्रियाकलाप गर्न सक्दिनन् । खानसमेत राम्रोगरी नसक्ने उनलाई परिवारले रातभर कराउने र चिच्याउने बहानामा खोरमा राख्ने गरेको पाइएको छ । दिनभर खोरबाट बाहिर निकालेर डोरीले बाँध्ने र साँझपरेपछि खोरमा थुन्ने गरिएको छ । स्थानीयवासीका अनुसार केही वर्षअघि सम्म राम्रोसँग हिँड्डुल गर्ने उनी अहिले परिवारकै कारण पूर्ण अशक्त बन्न पुगेकी हुन् । खोरमा सुतिरहने गरेकाले उनको शरीरभर घाउ छ ।
ती बालिकाका बाबु नरबहादुर वैदेशिक रोजगारीको सिलसिलामा कतार गएपछि बालिकाको स्याहारसुसारमा थप समस्या बनेको छिमेकी बताउँछन् । खोरमा थुनिएर राखिएको थाहा पाएपछि मानवअधिकार मञ्चको अनुगमन टोली त्यहाँ पुग्दा बालिकालाई खुट्टा र कम्मरमा बाँधेर राखिएको अवस्थामा फेला पारेका थिए । त्यसपछि उक्त घटना राष्ट्रिय अपाङ्ग महासङ्घ जिल्ला च्याप्टरमा जानकारी गराई सबैको सहयोगमा उद्धार गरी घर पु¥याएको हो ।
बालिकाको उपचारका लागिसमेत अपाङ्ग महासङ्घलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयले आर्थिक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बालिकालाई तत्काल जिल्ला अस्पतालमा उपचार गराउने र जिल्लामा नभए अन्यत्र लैजानसमेत यहाँका सङ्घसंस्था तयार भएका छन् ।
एक वर्षअघि दानाबारीबाट समेत एक युवतीको उद्धार गरी उनलाई उपचारपछि घर फर्काएको थियो । रासस
प्रतिक्रिया