इन्जियिर बन्ने सपना बोकेर हेटौंडाबाट काठमाडौं आउनुभएका मनोजकुमार श्रेष्ठ भँडेलको यात्रा एकाएक पर्यटन व्यवसायतर्फ मोडियो । साथीभाइको लहैलहैमा पर्यटन क्षेत्र अंगाल्न पुग्नुभएका उहाँले अहिले यस क्षेत्रमा हासिल गर्नुभएको प्रगति निक्कै लोभलाग्दो छ । विसं २०३१ साल भाद्र २ गते मकवानपुरको हेटौंडामा पिता पूर्णबहादुर श्रेष्ठ र माता पञ्चमाया श्रेष्ठको कोखबाट जन्मनुभएका मनोज उच्च शिक्षाको लागि २०४६ सालमा काठमाडौं प्रवेश गर्नुभएको थियो । माध्यामिक तहको शिक्षा स्थानीय विद्यालयबाटै लिनुभएका उहाँले काठमाडौं आएपछि पाटन संयूक्त क्याम्पसबाट इन्जियिनरिङ अध्ययन थाल्नुभयो । आइएमा सोचेजस्तो अंक नआएपछि उहाँ नेपाल कर्मस क्याम्पस, मिनभवनमा व्यवस्थापन संकाय अध्ययनको लागि भर्ना हुनुभयो । त्यहीबाट एमवीवीएससम्मको अध्ययन पूरा गरेपछि उहाँ आज भन्दा २२ वर्ष अगाडि पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।
ट्राभल कम्पनीबाट काम सुरुवात गर्नुभएका मनोजलाई विदेशीसँगको संगत, नयाँ नयाँ कुरा सिक्ने अवसरले यो क्षेत्र रमाइलो लाग्न थाल्यो । सँगसँगै कमाइ पनि हुन थालेपछि यो क्षेत्रले उहाँलाई झन् मोहित बनायो । प्रहरीमा जागिर खाने धोको पनि उहाँको सानै देखिको हो । २०५१ सालमा उहाँ प्रहरी निरिक्षकको परिक्षामासमेत सामेल हुनुभयो तर व्यवसायमा लाग्ने घर परिवारबाट प्रेरणा पाउनुभएका उहाँले अन्तत पर्यटन व्यवसायमा नै आफ्नो भविष्य देख्नुभयो र यही क्षेत्रलाई निरन्तरता दिनुभयो । केही समय ट्राभल कम्पनीमा काम गर्नुभएका उहाँले पार्टनरसिपमा हाइवे स्टार भेइकल सर्भिस सुरु गर्नुभएका श्रेष्ठले छोटो अवधिमा आफ्नो पूर्ण स्वामित्वमा हाइवे स्टार टुर्स प्रालि संचालन गर्न सफल हुनुभयो । पर्यटन यातायात क्षेत्रमा निडर, सफल व्यवसायी र स्पष्ट वक्ताका रुपमा सुपरिचित मनोजले पर्यटन व्यवसायको अलवा ललिनचोकमा कैलासपति सिमेन्ट मटेरियल प्रालिसमेत सञ्चालन गरिरहनु भएको छ ।
आफ्नो व्यवसाय सँगसँगै उहाँ विभिन्न संघसंस्थाको नेतृत्वदायी भूमिकामा रहेरसमेत सफल जिम्मेवारी वहन गरिसक्नुभएको छ । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को पूर्वअध्यक्षसमेत रहनुभएका उहाँ टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को वर्तमान उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै नेपाल—ईटली चेम्बर अफ कमर्सको सचिव पदमा रहेर कार्य गरिरहुन भएको छ भने अन्य दर्जनौं पर्यटकीय संघसंस्थाको सल्लाहकारका रुपमा जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । त्यत्तिात्रै नभएर उहाँ सामाजिक कार्यमासमेत त्यत्तिकै सक्रिय हुनुहुन्छ ।
बेलायत, अष्ट्रेलिया, भुटान, चीन, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवइ, कतार र भारत लगायतका देशहरुको भ्रमण गरि अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रको अनुभव संगालिसक्नुभएका श्रेष्ठले आफुलाई पर्यटक यातायात क्षेत्रमा एउटा छुट्टै ब्रान्डको रुपमा स्थापित गरिसक्नुभएको छ । तथापी, मनोज पर्यटन उद्योगकै लागि एक बहुआयमित व्यक्तित्वको रुपमा चिन्न सकिन्छ । लामो समय पर्यटन क्षेत्रमा विताइसक्नुभएका र विभिन्न देशको पर्यटन विकासबारे अध्ययन अवलोकलन गरिसक्नुभएका मनोज देशको राजनीतिक अवस्था र व्यवसायी विचको अस्वस्थ्य प्रतिस्प्रर्धाले चिन्तित हुनुहन्छ ।
पर्यटनप्रति मनोजको धारणाः
पर्यटनमा राजनीतिकरण बढि भयो । सम्भावना भएरै पनि सोचे अनुसारको सफलता हासिल गर्न नसकेको पर्यटन क्षेत्रले पछिल्लो समय भूकम्प र नाकाबन्दीको चपेटामा परेकाले अब के होला भन्ने अन्यौलता छ । व्यवसाय गर्नेले पनि ठूलो दुःख पाएका छन् । राज्यले यो क्षेत्रमा खासै ध्यान दिन सकेको छैन । अझ भेइकल क्षेत्रमा त राज्यको नजर पुग्नै सकेकै छैन । यो अवस्थामा अव कसरी अगाडि बढ्ने भन्ने दुविधा छ । संविधान जारी भएपछि देशमा शान्ति, स्थायित्व र विकासको गतिमा अगाडि बढ्छ भन्ने आशा जागेको भएपनि अहिलेको गतिविधिले थप समस्या थपिएको छ । पर्यटन क्षेत्र संवेदनशिल क्षेत्र भएका कारण पनि यसको प्रवद्र्धन र विकासका लागि सरकारले विशेष प्रथामिकतामा राखेर सहुलियत प्रदान गर्नुका साथै पर्यटनमा असर पर्ने खालका गतिविधि तत्काल रोक्नुपर्ने अहिलेको टड्कारो आवश्यकताको रुपमा खड्किएको छ ।
गन्तब्य नेपालबाट
प्रतिक्रिया