जागिर लगाइदिन्छु भन्दैं ११ जनालार्इ लाखाैं ठगी गर्ने नक्कली डिअाइजी पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ माघ २०७२, शनिबार २०:२०

काठमाडौँ । अनुसन्धान निरीक्षक र सहायक निरीक्षकमा जागिर लगाईदिने भनी विज्ञापन समेत गरेको देखाइ सङ्गठितरुपमा सर्वसाधारणलाई लाखाैं ठगी गर्ने तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

गृह मन्त्रालय प्रहरी हेडक्वार्टर नक्सालको च.नं.२०८ पत्र सं. १५३ बाट अनुसन्धान निरीक्षक र सहायक निरीक्षक गरी ४० जना आवश्यक परेको नक्कली सूचना देखाई उनीहरुले ११ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

हिजो र आज पक्राउपर्नेमा कालिकोट पुर्कोट घर भई हाल भक्तपुर ठिमी बस्ने सतल महतरा, कालिकोट जिल्ला सिवखाना घर भई हाल धापासी बस्ने नेत्रबहादुर शाही र गोरखा गुम्दा घर भई हाल नयाँ बसपार्क बस्ने विकास गुरुङ रहेका उनीहरुलाई आज महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

उनीहरुले गोरखाका वीरबहादुर गुरुङसमेत ११ जनालाई सम्पर्कमा ल्याई सिंहदरवारस्थित राष्ट्रिय अनुसन्धान विभागको कार्यालय बाहिर गेटमा बसी सम्पूर्ण कागजपत्र लिई अनुसन्धान निरीक्षकका लागि रु सात लाख र सहायक निरीक्षकका लागि रु पाँच लाख लिने गरेको अनुसन्धानको क्रममा खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए ।

विभागलाई आवश्यक सङ्ख्यामध्ये २० प्रतिशतमा प्रतिस्पर्धा गर्न नपर्ने सिधै नियुक्ती हुने भनी ११ जनाबाट रु चौतिस लाख चालीस हजार लिएको अनुसन्न्धानको क्रममा खुलेको छ ।

पीडित ११ जना प्रहरीको सम्पर्कमा आएपनि अन्य व्यक्तिसमेत पीडित भएको हुनसक्ने महाशाखाका प्रमुख खनालले बताए ।

उक्त छनोट प्रक्रियामा अभियुक्त नेत्रबहादुर शाहीले आफूलाई प्रहरी नायब महानिरीक्षक कमलसिंह बम बताएको र विकास गुरुङले बेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने गरेका थिए ।

सम्पूर्ण व्यवस्थापन छनोट प्रक्रिया, कागजात सङ्कलन महतराले गर्ने र रकम गङ्गाप्रसाद न्यौपानेको नाममा ग्लोबल आईएमई बैंकको खाता नं.०८०७०१०००८९३८ मा जम्मा गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

महतराको कोठाबाट प्रहरी हेडक्वार्टरको नाममा प्रकाशित भएको सूचना, छनोट भएका जवान ४६ जनाको नामावली रहेको कागजात समेत फेला परेको थियो ।

सो घटनामा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको आशङ्कामा उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाैं पठाइएको छ । रासस

प्रतिक्रिया