अन्‍नपूर्ण पोस्ट् बोकेको गाडीमा आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७१, सोमबार १४:०५

काठमाडौँ,२ असार । तीनजनाको समूहले शनिबार राति दुई बजे राजधानीमा अन्नपूर्ण पोस्ट् पत्रिका बोकेको गाडी र त्यसमा रहेका कर्मचारी गुरुप्रसाद काफ्लेमाथि आक्रमण गरेको छ। पोखराका लागि पत्रिका पुर्‍याउन राजधानीबाट हिँडेको बा१०च ९१२४ नम्बरको गाडीलाई स्वयम्भू सानोभर्‍याङमा रोकेर मोटरसाइकलमा रहेका उनीहरूले गाडी र कर्मचारीमाथि आक्रमण गरेका थिए।

उनीहरूले बाटोमा मोटरसाइकल तेर्स्याएर गाडी रोक्न बाध्य पारेका थिए। कर्मचारी काफ्लेले गाडीको सिसा खोल्नासाथ उनीहरूले कुनै कुरा नगरी मुक्का हानेका थिए। आफूमाथि एक्कासि आक्रमण भएपछि ‘किन कुट्नुहुन्छ, के गल्ती भयो र’ भन्दा उनीहरूले ‘अझ ठूलो कुरा गर्छस्’ भन्दै थप कुटपिट गरेको काफ्लेले बताए। कुटपिटबाट काफ्लेको अनुहारमा चोट लागेको छ। आक्रमणबाट गाडीको साइड लाइट र सिसा पनि फुटेको छ।

आक्रमणबाट रक्ता ये भए काफ्ले गाडी चालक कर्ण रेग्मीलाई लिएर हलचोक प्रहरी बिटमा पुगेका थिए। हलचोक प्रहरीले तत्कालै खोजतलास गर्ने क्रममा कुटपिटमा संलग्न भएको आरोपमा बालाजु बस्ने रामहरि जीसी, विवेक केसी र रोहित आचार्यलाई पक्राउ गरेको थियो।

काफ्लेलाई उपचारका लागि गोंगबुस्थित विनायक अस्पताल लगिएको थियो। अहिले उनको अवस्था सामान्य छ। प्रहरीले घटनामा संलग्न तीनजनालाई आगामी दिनमा यस्तो गतिविधि नगर्न सचेत गराउँदै छाडिदिएको छ। उनीहरूले मदिराको नसामा गल्ती भएको भन्दै माफी मागेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१