आगो तापेरै बित्छ भूकम्पपीडितको रात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० पुष २०७२, सोमबार ०८:२४

bhukampaदोलखा। चित्रोले छाएको, चित्रैले बारेको साँघुरो टहरा । टहराभित्र एउटा पलङ, पातलो सिरक, केही मैला थाङ्ना । काटाकुटी–१ बोत्लाङमा तीन महिनाकी सुत्केरी २७ वर्षीया रेश्मा विकसँग जाडो छेक्न योभन्दा बढी केही छैन । तर, ठिही सहिनसक्नुको छ ।

उनलाई आफ्नोभन्दा बढी चिन्ता तीन महिनाको बच्चाको छ । आफूसँग भएका मैला थाङ्नाले गुटमुट्याएकी छिन् । तर, चिसोले बच्चाको रङ नै बदलिएको छ । अपांगता भएका श्रीमान्को समेत लालनपालनको जिम्मा उनकै काँधमा छ । खेतीपाती छैन, कमाइ गर्ने कोही छैनन् ।

सुत्केरी उनी बनिबुतो गरेर बिहान–बेलुकाको छाक टार्न बाध्य छिन् । सरकारले दिएको १५ हजार राहत रासन किन्दै सकिएको उनको भनाइ छ । पीडितले पाएनन् न्यानो राहत सरकारले दिने न्यानो राहतस्वरूपको दश हजार रुपैयाँ अझै हात लागेको छैन ।

बच्चालाई काख फेर्दै रेश्माले भनिन्, ‘टहरा बनाउन कसैले जस्ता दिएनन् । १५ हजार रुपैयाँ खाँदै सकियो । जाडोमा लगाउने र ओढ्ने–ओछ्याउने केही छैन । रातभरि जाडोले लुगलुग काम्छौँ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

सरकारले जाडो छल्न दश हजार रुपैयाँ दिन्छ भन्ने सुने पनि अहिलेसम्म हात नपरेको उनले गुनासो पोखिन् । भनिन्, ‘पाए त न्यानो लुगा किन्ने थियौँ, कम्तीमा यो चिसोले त मर्ने थिएनौँ ।’

आगो तापेरै कट्छ रात

बोत्लाङका ६३ वर्षीय पूर्णबहादुर कामी परिवारको हालत पनि उस्तै छ । तुसारोले चरचरी फुटेका हात–खुट्टामा रगतका धर्का टाढैबाट देखिन्छन् । ‘राति ओढ्ने सिरक र ओछ्याउने डस्ना पनि छैन । आगो तापेरै रात काट्नुपर्ने बाध्यता छ ।’

पातलो कमिजमाथि च्यातिएको मैलो ज्याकेटमा भेटिएका पूर्णबहादुरले दाउरा चिर्दै गर्दा भने, ‘जाडोले लुगलुग कामिन्छ । आगो नबाली रात कटाउन सकिँदैन । दाउरा सकिए के गर्ने होला ? केही मेलो छैन ।’

न्यानो राहतस्वरूप सरकारले दिने भनेको दश हजार रुपैयाँ उनले पनि पाएका छैनन् । उनले भने, ‘पहिले पाएको १५ हजार रुपैयाँ खर्च गरेर सकियो । अब दश हजार दिने भन्ने सुनेको छु । तर, पाउने कहिले हो थाहा छैन । पाए त न्यानो कपडा किनेर जाडो कटाइन्थ्यो ।’

अघिल्ला वर्षभन्दा बढी चिसो सेतै दारी फुलेका ७४ वर्षीय जितबहादुर विक जस्ताको टहरानजिकै खोक्दै गरेका भेटिए । भूकम्पले सुकुम्बासी बनाएको दुखेसो गर्ने उनलाई यसपटकको जाडो कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । अघिल्ला वर्षभन्दा यसपटक चिसो बढेको सुनाउँदै उनले भने, ‘बिहान–बेलुका त टाउको नै फुट्लाजस्तो हुन्छ । ओढ्ने–ओछ्याउने पनि केही छैन । रात कटाउन गाह्रो छ ।

प्रतिक्रिया