सुत्केरी अवस्थामा पोषणयुक्त खाना खानुपर्छ भनेर प्रायशः हामी सबैलाई थाहा भएकै कुरा हो । तर, कुन खानेकुरामा के–के पोषकतत्व पाइन्छन् भन्ने बारेमा थोरैलाई मात्र जानकारी होला । त्यसमा पनि हाम्रो समाजमा रहिआएको परम्परागत रोकतोकले गर्दा के खान हुने, के नहुने भन्ने बारेमा हामी सधैं अल्मइिरहेका हुन्छौं । अझ भन्नुपर्दा कोही बिरामी भयो वा अस्पताल भर्ना भयो भने त हामी खानामा धेरै नै बन्देज लगाउन पुग्छौं । एक नर्सिङ प्रोफेसनलका रुपमा कामको दौरानमा मेडिकल, सर्जिकल, प्रसूतिलगायत सबै वार्डको अनुभव लिने अवसर पाएकी छु । मैले काम गर्दा सबै खाले बिरामीका आफन्तबाट पाएको एउटा साझा प्रश्न हो–मेरो बिरामीले केके खाना बार्नुपर्छ सिस्टर ?
एउटा अनुभव सुनाइहालौं । एक सुत्केरीको अपरेसन गरी बच्चा भएको तीन दिन भएको थियो । केके खाँदै हुनुहुन्छ भनेर मैले सोधें । उहाँले जवाफमा जाउलो खाँदैछु भन्नुभयो । मैले भनें, अब त सागसब्जी, दाल, भात, तरकारी, माछामासु आदि नर्मल खाना खाए हुन्छ । तुरुन्त उहाँसँगै भएका आफन्तले भन्नुभयो– अपरेसनको गरेको घाउ पाक्छ । त्यसैले टाँका नकाटुन्जेल जाउलो नै दिएको ।
बिरामीबाट मात्र नभएर प्रायः आफन्तबाट पाइने जवाफ यस्तै हुन्छ । यतिमात्र होइन, अपरेसन गरी शिशु जन्मिएको छ भने अझै पनि कालो दाल, आलुको तरकारी दियो भने घाउ पाक्छ, शिशुलाई चिसो लाग्यो भने आमाले खानेकुरा बार्नुपर्छ, शिशुलाई जण्डिस भयो भने आमाले बेसार राखेका तरकारी खानुहुँदैंन भन्ने गलत अवधारणा अझै पनि कायम छ हाम्रो समाजमा । सुत्केरी अवस्थामा दाँत माझ्दा कमजोर हुन्छ, कपाल कोर्दा झर्छ, नुहाउँदा चिसो लाग्छ भन्ने डरले सरसफाइमा त्यति ध्यान नदिएको पनि मैले देखें । प्रायः सुत्केरी स्याहारमा सासू तथा आमाहरु नै सरिक हुने र कति कुरा थाहा हुँदाहुँदै पनि उहाँहरुको इच्छाविपरीत जान नसक्ने भएकाले पनि खानपान बार्नुपरेको तथा सरसफाइमा ध्यान नदिएको बताउँछन् सुत्केरी ।
पोषणयुक्त खाना हामी सबैका लागि उत्तिकै अत्यावश्यक छ । अघाउन्जेल खाएर मात्र हामी स्वस्थ हुने होइन । खानाको गुणस्तर कस्तो छ, त्यसमा के कस्तो पोषकतत्व मिसाइएको छ र कसरी पकाइएको छ ? त्यसले हाम्रो गुणस्तर निर्धारण गर्छ । आखिर कस्तो खानेकुरालाई पोषणयुक्त खाना भन्ने त ?
शरीरलाई शक्ति प्रदान गर्ने, शारीरिक वृद्धि विकास गर्न र रोगविरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि अत्यावश्यक पर्ने खाद्यवस्तु नै पोषकतत्व हुन् भने यही पोषकतत्व जस्तै कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानीको सम्मिश्रण नै पोषणयुक्त खाना हो । प्राकृतिक खाद्यपदार्थमा प्रायः एकभन्दा बढी प्रकारका पोषकतत्व पाइन्छन् । जस्तै, चामल, गहुँमा कार्बोहाइड्रेट र भिटामिन बी दुवै पाइन्छ भने दूध, दही, माछा, मासुमा प्रोटिन तथा खनिज (क्याल्सियम, जिंक) पाइन्छ भने हरियो सागसब्जीमा पनि भिटामिन र खनिज पाइन्छन् ।
१. शक्ति दिने पोषकतत्व ः कार्बोहाइड्रेट र चिल्लो पदार्थ (चामल, गहुँ, मकै, मह, सखरखण्ड, आलु, केरा, तेल, बदाम, नौनी आदि)
२. वृद्धि र विकास गर्ने पोषकतत्व ः प्रोटिन (गेडागुडी, दाल, सिमी, बदाम, केराउ, दूध, दही, माछा, मासु, अण्डा, कलेजो आदि)
३. सुरक्षा प्रदान गर्ने पोषकतत्व ः भिटामिन र खनिज पदार्थ (हरियो सागपात, फलफूल, टुसा, उमारेको गेडागुडी, कागती, सन्तला, अमला र खनिज पदार्थ दूध, दही, माछा, मासु, अण्डाको पहेंलो भाग, कलेजो, आयोडिनयुक्त नुन आदि)
अब आयो कुरा सुत्केरी महिलाको । किन महत्व छ सुत्केरी अवस्थामा पोषक तत्वको ?
एक वयस्क महिलाका लागि सरदर दैनिक २३००–२५०० किलो क्यालोरी चाहिन्छ (कम काम गर्ने महिलाको हकमा १८ सयदेखि २ हजार क्यालोरी) भने सुत्केरीका लागि दैनिक थप ५ सय किलो क्यालोरी आवश्यक पर्छ । कम तौल भएकी, कुपोषित तथा एकभन्दा बढी शिशुलाई स्तनपान गराइरहेकी सुत्केरीको हकमा यो मात्रा बढ्न सक्छ भने सुत्केरी भएको तर स्तनपान नगराएकी (कुनै कारणवश शिशु नरहेको) महिलाका लागि पहिलेको नर्मल अवस्थाकै अनुपातमा पोषणयुक्त खाना दिए पुग्छ ।
गर्भावस्थामा जसरी महिलाले खाएको खानाको आधारमा गर्भमा रहेको शिशुको वृद्धि विकास हुने गर्छ, त्यसरी नै सुत्केरी अवस्थामा पनि पहिलो ६ महिना शिशुको पूर्ण आहार आमाको दूधमात्र हुने भएकाले र सुत्केरीले खाएको खाना नै दूधमा जाने भएकाले पोषणयुक्त खाना खानु अत्यन्त जरुरी छ । साथै सुत्केरी अवस्थामा आउने शारीरिक परिवर्तन अनि प्रसूति अवस्थामा भएको रक्तस्राव आपूर्तिका लागि तथा स्वयं आमा पनि स्वस्थ रहनका लागि पोषणयुक्त खानाको अत्यन्तै महत्व छ ।
हरेक सुत्केरी महिलाले ६ महिनासम्म शिशुलाई आफ्नो दूधमात्र सेवन गराउनुपर्छ र पानी पनि आमाकै दूधमा उपलब्ध हुन्छ । आमाको दूध नै ६ महिनासम्म शिशुका लागि पूर्ण आहार हो । शिशु ६ महिना पुगेपछि मात्र थप खानेकुरा बनाउनुपर्छ । हरेक सुत्केरी महिलाले माथि उल्लिखित पोषणयुक्त खानेकुरा अनिवार्य खानुपर्छ । अन्य कुनै रोग भएमा र खाना बार्नुपरेमा स्वास्थ्य सल्लाह लिनुपर्छ ।
स्तनपान गराउँदा आमाले खाएको आहारको केही अंश नै शिशुमा जाने भएकाले मोटाउने डरले खाना कम खाने, छाक छाड्ने गर्नुहुँदैन । साथै स्तनपान गराउँदा २५० देखि ३५० मिलिग्राम क्याल्सियम आमाको दूधबाट बच्चामा जाने र खानाबाट क्याल्सियम आपूर्ति नहुने भएकाले थप क्याल्सियम चक्की खानुपर्छ । क्याल्सियमले दाँत तथा हड्डी बलियो बनाउने, रगत जम्न मद्दत गर्ने, मांसपेशी खुम्चन र तन्कन सहयोग गर्ने र प्रतिरक्षा शक्ति मजबुत बनाउने गर्छ ।
प्रसवको समयमा अत्यधिक रक्तस्राव भएको छ र शरीरमा हेमोग्लोबिनको मात्रा घटेको छ र खाएको खानाबाट मात्र आइरनको आपूर्ति हुन सकेन भने आइरन चक्की पनि अनिवार्य रुपमा खानुपर्छ । आइरन चक्कीले दिसा कालो बनाउँछ र कहिलेकाहीँ वाकवाकी तथा बान्ता हुने पनि हुन्छ । यस्तो अवस्थामा कागती सेवन गर्नु राम्रो हुन्छ ।
अपरेसन गरी सुत्केरी भएका महिलाले तेस्रो दिनबाटै सबैथोक खान मिल्छ । आलु तथा कालो दालले घाउ पाक्ने कुरा सही होइन । आलुमा शरीरलाई आवश्यक पर्ने क्याल्सियम, आइरन, भिटामिन सी र फस्फोरस पाइन्छ । साथै बोक्रासँगै आएमा यसले कब्जियत पनि हुन दिँदैन । त्यस्तै, कालो दालमा पनि प्रोटिन पाइन्छ । तेलमा धेरै तारेको मरमसलायुक्त खानेकुरा कम खानु नै बुद्धिमानी हुन्छ । पोषणयुक्त खानाको सेवनले घाउ छिटो निको हुन मद्दत गर्छ र संक्रमण पनि हुन दिँदैन ।
कब्जियत सुत्केरीमा देखिने ठूलो समस्या बन्दै आएको छ । यसको रोकथामका लागि रेसादार खानेकुरा, फलफूल र प्रशस्त मात्रामा पानी पिउनुको साथै शारीरिक व्यायाम पनि गर्नुपर्छ । सुत्केरी अवस्थामा ज्वानोको झोल सेवन गर्ने हाम्रो परम्परा सराहनीय छ । शिशु बिरामी भएको खण्डमा आमाले खानेकुरा बार्नु हुँदैन । त्यसो गर्दा शिशुलाई पोषकतत्वको कमी हुन जान्छ ।
सुत्केरी अवस्थामा समयमा नुहाउने, हात तथा खुट्टाको नङ काट्ने, दाँत माझ्ने, कपाल कोर्ने र यौन अंग सफा गर्ने गर्नुपर्छ । भित्री कपडाहरु पनि समय समयमा परिवर्तन गर्नुपर्छ । दाँत तथा मुख सरसफाइमा ध्यान नदिँदा श्वास गन्हाउने र शारीरिक सरसफाइको कमीले गर्दा अवस्थ हुन गई खानामा रुची कम हुन जान्छ । परिणामस्वरुप अन्य रोगको पनि संक्रमण हुन पुग्छ ।
स्वास्थ्य खबरपत्रिका बाट साभार
प्रतिक्रिया