१० हजार बाँड्न सरकार अघि सर्‍यो, १० दिनमा सबैलाई दिइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७२, शुक्रबार २१:२७

भूकम्पकाठमाडौं । सरकारले १० दिन भित्रमा भूकम्प पीडित प्रत्येक परिवारलाई न्यानो लुगा किन्न १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गृहमन्त्रालय अन्तर्गतको केन्द्रीय आपतकालीन सहायता सञ्चालन केन्द्रले बढिमा १० दिन भित्रमा यो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।   सरकारले स्वेतपत्रमार्फ घोषणा गरेको भूकम्प पीडितका लागि न्यानो लुगा खरीदका लागि १० हजार दिने घोषणा गरेको थियो । चिसोका कारण भूकम्पबाट प्रभावितहरुको ज्यान जान थालेपछि राहतलाई प्रभावकारी बनाउन केन्द्रले यस्तो निर्णय गरेको हो ।   अर्थ, गृह, रक्षा र सामान्य प्रशासन मन्त्री, पुनर्निर्माण प्राधिकरणका सिइओसहित सुरक्षा निकायसहितको बैठकले स्थानीय निकायलाई थप अधिकार दिँदै काम अगाडि बढाउने निर्णय गरेको केन्द्रका प्रमुख रामेश्वर दंगालले जानकारी दिए ।   सरकारले बुधबारसम्ममा भूकम्प पीडितलाई दुई अर्ब २५ करोड ७३ लाख रुपैयाँ वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ । भूकम्प पीडितलाई न्यानो बाढ्ने अभियानअन्तर्गत यो रकम खर्च गरिएको हो ।   ‘१० दिनभित्रमा जसरी भए पनि रकम उपलब्ध गराउने निर्णय भएको छ,’ केन्द्र प्रमुख दंगालले बिजमाण्डूसँग भने, ‘रकम वितरणका लागि जनशक्ति नभए जिल्लाका कुनै पनि सरकारी कार्यालयका कर्मचारीलाई सिडिओ र एलडिओले संयुक्तरुपमा खटाउन सक्ने निर्णय भएको छ।’   बैठकको निर्णय अनुसार अब कुनै पनि जिल्लामा राहत वितरणका लागि जनशक्ति अभाव भए प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीले जुनसुकै कार्यालयका कर्मचारी खटाउन सक्ने छन् ।   भूकम्प प्रभावित गाउँमा सचिव नभए पनि वैकल्पिक व्यवस्था गर्न यस्तो निर्णय भएको हो । अहिले भूकम्प प्रभावितसमेत गरी देशका चारसय १९ गाविसमा सचिव छैनन् । गाविस सचिव नहुँदा कतिपय ठाउँमा राहत वितरण प्रभावित बनेको छ भने कतिपय ठाउँमा स्थानीय राजनीतिक दलका प्रतिनिधिको दबाबमा बनेका नक्कली पीडितले राहतको उपभोग गरिरहेका छन् ।   बैठकले पीडितका लागि आवस्यक रकम लैजाँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय परिचालन गर्ने निर्णयसमेत गरेको छ । सहज रुपमा पुर्‍याउन नसकिने ठाउँमा हेलिकप्टर परिचालन गरेर पनि रकम लैजाने निर्णय भएको दंगालले बताए ।   दुर्गम तथा हिमाली क्षेत्रमा सडक यातायातमार्गबाट राहत रकम पुर्‍याउन कठिन छ । साथै बैठकले विभिन्न स्थानमा अस्थायी स्वास्थ्य शिविरसमेत सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया