नुवाकोट । नुवाकोट तारुका वडा नं २ कोलाचौरका समग्र दलितहरुलाई गोलबद्व गर्ने हेतुले गठित नेपाल दलित समाजको भवन शनिबार एक समारोहकाबीच उद्घाटन गरिएको छ । उक्त भवन निर्माणका लागि वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल, गोथे सेन्टरका कोषाध्यक्ष समेत रहनुभएका अंग्रजी तथा जर्मन भाषाका टुरगाईड भाईकृष्ण खड्काले सहयोग गर्नुभएको थियो भने गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीले सोको संयोजन गर्नुभएको थियो ।
भवनको उद्घाटनार्थ लम्साल, खड्का तथा अधिकारीको टोली राजधानीबाट फिस्टेल एयरमा धैरेनी पुगेको थियो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी मोहन लम्सालले क्लबको सफलताका लागि शुभकामना दिँदै दलितहरुको उत्थानका लागि आगामी दिनमा क्लबमार्फत सहयोग जारी राख्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । ‘दलितहरुको विकास र उत्थानका लागि आगामी दिनहरुमा मेरो सहयोग जारी रहनेछ ।’ लम्सालले भन्नुभयो । उहाँले तारुका हुँदै धादिङ जोड्ने पर्यटकीय पदमार्ग तयारी आफूले थालिरहेको जानकारी पनि दिनुभयो । लम्सालकै संयोजनमा तारुकामा तीन वटा विद्यालय निर्माणको काम जारी छ भने हस्पिटल र खानेपानीका योजना पनि तय भैसकेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै विशेष अतिथी समाजसेवी भाईकृष्ण खड्काले दलितहरुको उत्थानका लागि आफूले क्लब निर्माणमा सहयोग गरेको भन्दै उक्त सहयोग आगामी दिनमा पनि जारी राख्ने बताउनुभयो ।
सोही समारोहमा बोल्दै अर्का विशेष अतिथी शिव अधिकारीले आफूलाई संस्थापक सल्लाहकारमा मनोनीत गरेकोमा क्लबलाई धन्यवाद दिँदै आफूले क्लबलाई निकै महत्वका साथ हेरेको बताउनुभयो । क्लबको विकासका लागि आगामी दिनमा शसक्तताका साथ लागिपर्ने उहाँको अठोट थियो ।
प्रतिक्रिया