सिन्धुपाल्चोक । चित्रा र बोराले बेरेको गोठ, चारैतिर हावा छिर्ने प्वाल । ओछ्याउने डस्नाको सट्टा फल्याक, ओढ्ने गुन्द्री । गुन्द्री पनि दुईटा मात्रै । एउटाले ढोकामा हावा छेक्ने, एउटा कहिले ओढ्ने त कहिले ओछ्याउने ।
६० वर्षका कान्छा तामाङ र श्रीमती माइली लुगलुग काप्दै रात बिताउँछन् । ‘आफू त मरे पनि के भयो र ?’ कान्छाले भने, ‘यी ६ र १४ वर्षका छोरालाई तातोमा सुताउन सकिएन । थोत्रा र च्यातिएको मन्डी कति जनाले ओढ्ने ? भुइँबाट र गोठको प्वालबाट एकै पटक आउने सिरेटोले मार्ला जस्तो छ ।’ जाडो भएपछि कहिले त त्यही गुन्द्री पनि तानातान पर्छ ।
४० वर्षीया माइलीलाई चिसोले भेटेको छ । स्वाँ–स्वाँ हुन्छ, कहिले ज्वरो पनि आउँछ । कान्छाको एक कान्लोमाथि ६६ वर्षीया गोम्बे तामाङ ओछ्यान परेको महिना बितेको छ । ‘खेतीमा हिँड्दाहिँड्दै गोम्बे थला परे,’ कान्छाले सुनाए । बिजोग भएको गाउँमा उनी मात्रै होइन । सबै गोठ र टहरामै छन् । बारबेर नभएकै गोठमा सुत्छन् । गोम्बेको गोठ त झन् प्लास्टिकले बेरेको छ ।
‘नभएपछि कृे लाग्छ ?’ स्थानीय अगुवा कृष्णबहादुर तामाङले भने, गोम्बे काम गर्दागर्दै थला पर्यो ।’ खुला ठाउँमा सुतेकाले उनी हावाका कारण सुन्निइसकेका छन् । गाउँलेहरू गोम्बेको अवस्था नाजुक भएको बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया