सुँडेनीको गल्तीले महिलाको पाँच बर्षदेखि ओडारमा बास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७२, बिहीबार १७:३६

जाजरकोट। पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला जङ्गलको ओडारमै बास बस्न थालेको पाँच वर्ष बितिसकेको छ ।

ती महिला कालिका खड्का २०५५ सालमा गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा झिक्न खोज्दा उनको पाठेघर फुटेको स्थानीय जानकारहरु बताउँछन् ।

समयमै उपचार पाउन नसकेपछि शारीरिक अवस्था बिग्रँदै गई कालिकाले मानसिक सन्तुलन गुमाएको स्थानीयवासी प्रतिभा खड्काले बताइन। उनले पिसाब एक सेकेन्ड पनि रोक्न सक्दिनन्, जतिबेला पनि उनको पिसाब बगिरहन्छ ।

अचेत अवस्थामै बोल्ने कालिकाले आफूलाई सबैभन्दा बढी टाउकोमा असर परेको छ भन्छिन । उचित उपचार पाउन नसकेकी कालिकाले मानसिक सन्तुलन गुमाएर ओडारमा बास बस्ने गरेपनि २०६७ सालसम्म घरमै बस्ने गरेको स्थानीयवासी वीरबहादुर खड्काको भनाइ छ ।

विगत पाँच वर्षदेखि मात्र कालिकाले आफ्नो घर छोडेर लहँ–६ खाराको जङ्गलमा रहेको एक ओडारमा बास बसिरहेकी छिन् ।

बाह्रै महिना ओडारमै बास बसिरहेकी खड्काले आगोको मात्र सहारा लिने गरिरहेकी लहँ–६ का अमर वलीको भनाइ छ । हेर्दा जीवनको कठिनपूर्ण संघर्षवाट प्रकृतिलाई नै जितिसकेकी जस्तो देखिने कालिकाको साथमा एउटा हँसिया मात्र छ । त्यही हँसियाले जङ्गलमा दाउरा बनाउने र काट्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

उमेरले ४० वर्ष पुगेकी कालिकाको परिवार पनि उपचार गर्नसक्ने अवस्थामा छैन । उनले अझै पनि उपचार पाउन सके मानसिक तथा शारीरिक दुबै हिसाबले सञ्चो हुनसक्ने धेरैले अनुमान गर्दै आएका छन् । कालिकाका श्रीमान् मक्करबहादुर खड्का भने उनलाई वास्तै नगरी अर्को विवाह गरेर लहँकै कालिमाटीमा बस्दै आएका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१