एक लाख ३० हजार नेपाली पासपोर्ट इन्टरपोलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७२, मंगलवार ०६:५५
Nepali_mrpकाठमाडौं । वैदेशिक रोजगारीका क्रममा मात्रै दैनिक १५ सय नेपालीहरु विदेश जाने गरेका छन् । अन्य प्रयोजनका लागि विदेश भ्रमणमा जानेहरु पनि उत्तिकै हुन्छन् ।
 
छिमेकी मुलुक भारतबाहेकका मुलुकहरु जानका लागि राहदानी चाहिन्छ । त्यसैले दैनिक सैंयौं राहदानीहरु बनाउनेहरुको लाम केशरमहलस्थित राहदानी विभागदेखि हरेक जिल्लाहरुमा दैनिक सैयौंका संख्यामा हुन्छन् ।
 
तर त्यति नै मात्रामा राहदानी हराएर बनाउन विभाग र जिल्ला धाउनेहरुको लाम पनि हुने गरेका छन् । राहदानी विभागमा मात्रै दैनिक एक सयभन्दा बढी हराएका पासपोर्ट बनाउन आउनेहरु भेन्छिन् । राहदानी विभागका निर्देशक शरदराज आरणका अनुसार हरेक महिना ३५ सय पासपोर्ट हराएर बनाउन आउनेहरु छन् । पासपोर्ट हरायो भनेर दैनिकजसो एक सयको हाराहारीमा आउने गरेको दिर्नेशक आरण बताउँछन् ।
 
पासपोर्ट हराए के गर्ने ?
 
पासपोर्ट हरायो भने अर्को पासपोर्ट बनाउनुको विकल्प छैन । एउटा पासपोर्ट हराइसकेपछि नयाँ पासपोर्ट बनाउँनै प¥यो तर कथंकदाचित पुरानो पासपोर्ट कसैले भेटेर दुरुपयोग गर्न पनि सक्छन्, पुरानो हराएको भनेर नै प्रतिलिपि पासपोर्ट बताउने गरिन्छ ।
 
नियमावली अनुसार पासपोर्ट हराएमा कुनै दैनिक पत्रिकामा ३५ दिन अगाडि पासपार्ट हराएको उल्लेख गरी सूचना निकाल्नुपर्छ । पत्रिकामा प्रकाशित सूचनासहित हराएको क्षेत्रको प्रहरी कार्यालयका निवेदन दिनुपर्छ र प्रहरीले एक सातापछि खोजतलास जारी राखिएको तर नभेटिएको ब्यहोराको सहितको रिपोर्ट लेखिदिन्छ ।
 
प्रहरीको रिपोर्टसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा निवेदन दिएपछि अर्को पासपोर्ट हात पर्छ । यो प्रक्रिया वर्षौदेखि चलिआएको छ । नियमावलीअनुसार हराएको सूचना निकालेपछि प्रहरीले एक हप्तासम्म पनि खोजतलास गरी नभेटेमा प्रतिलिपि पासपोर्ट दिने उल्लेख छ ।
 
दैनिक पासपोर्ट कसरी हराउँछ ?
 
पासपोर्ट हराएर नयाँ लिन सजिलो छ । तर दैनिक सैयौं पासपोर्ट कसरी हराउँछ त ? ‘कहिलेकाँही कहिँ कतै खसेर, कतै छुटेर पनि हराउँन सक्छ । तर दैनिक सैयौं पासपोर्ट त्यसरी नै हराउने कुरा भएन’ विभागका निर्देशक आरण भन्छन्,– कतिपय पासपोर्ट म्यानपावरले हराइदिन्छन् भने कतिपय पैसाको मामिलामा कुरा नमिल्दा म्यापावरहरुले दिँदैनन् । कतिपय विदेश एप्लाई गरेर सफल भएन भने पुरानो पासपोर्टको खोट देखाएर नयाँ बनाउने गर्छन् ।’
 
पासपोर्ट मात्र होइन, नागरिकता, सवारी प्रमाणपत्र पनि नहराउने होइनन् । महत्वपूर्ण काजजात हराएपछि प्रतिलिपि भए पनि बनाउनै पर्ने बाध्यता हुन्छ नै । तर राहदानी जस्तै अन्य महत्वपूर्ण कागजातहरु हराएको कमै सुनिन्छ । त्यसैले अधिकांश राहदानी नियोजित रुपमा नै हराउने गरेको निर्देशक आरणकै भनाइबाट पुष्टी हुन्छ ।
 
प्रहरीले किन भेट्दैन हराएका पासपोर्ट ?
 
पासपोर्ट हराएपछि पत्रिकामा नै सूचना प्रकाशित गरेर खोजिगरिदिन प्रहरीलाई उजुरी दिने गरिए पनि प्रहरीले अहिलेसम्म कसैको पासपोर्ट भेटाइदिएको जानकारी छैन । पासपोर्ट हराएर भेटिन्छ कि भनेर खोजिगरिदिन प्रहरीलाई गुहार्ने नभई नयाँ बनाउनका लागि औपचारिकता मात्रै हो ।
 
प्रहरीले पनि खोजतलास भइरहेको भनेर औपचारिकताकै लागि रिपोर्ट बनाइदिने गर्छ । पासपोर्ट कसरी हराउँछ र हराएका पासपोर्ट कहाँ थुिप्रएका हुन्छन् भन्नेमा प्रहरीलाई पनि थाहा नभएको होइन । उसले म्यानपावरमा गएर पासपोर्ट निकाल्दिने झन्झट नै गर्दैन । राहदानी एप्लाई गर्न भन्दै म्यानपावरमा बुझाउने तर भिसा लागेपछि काम मन नपरेर अन्य विविध कारण छाडिदिन्छन् र हरायो भन्दै नयाँ निकाल्ने प्रक्रियामा लाग्ने गर्छन् ।
 
अधिकांश हराएको सूचना निकालेका पासपोर्टहरु आफ्नै म्यानपावरमा भए पनि म्यानपावर कम्पनीले पनि वास्ता गर्दैन । भिसा आएपछि कामदारले जान अस्वीकार गरेपछि भिसा चार्ज लाग्ने भन्दै मोटो रकम असुल्न प्रयास गर्छन् म्यानपावर ब्यवसायीहरु । यस्ता कारणले पनि म्यानपावरमै बेवारिस भनेर अधिकांशमा पासपोर्टहरु हराउने गरेका छन् ।
 
हराएका एक लाख बढी नेपाली पासपोर्ट इन्टरपोलमा
 
राहदानी विभागका अनुसार पासपोर्ट हरायो भन्दै नयाँ पासपोर्ट बनाउन आउनेको हराएको पासपोर्ट इन्टरपोलमा पठाउने गरिएको छ । अहिलेसम्म एक लाख ३० हजार हराएका नेपाली पासपोर्ट इन्टरपोलमा राखिएको विभागका निर्देशक आरण बताउँछन् । हराएको पासपोर्टको दुरुपयोग हुनसक्ने भएकाले क्यान्सिल गरेर इन्टरपोलमा राखिने गरिएको उनी बताउँछन् । हराएका पासपोर्टहरु इन्टरपोलमा पठाएलेका कुनै पनि पासपोर्टको दुरुपयोग हुनै नपाउने विभागको दावी छ ।

प्रतिक्रिया