प्रहरीमा ब्लफ कल गर्ने घटेनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७१, आईतवार ११:२०

मोरङ , १ अषाढ ।

अति व्यस्त हुने जिल्ला प्रहरी कार्यालय मोरङको सोधपुछ केन्द्रमा रहेको १०० नम्बरमा वर्षौंदेखि आउने गरेको ब्लफ कल गर्नेक्रम घट्नुको साटो झन् बढेर गएको छ । आवश्यक सोधपुछका लागि  पैसा नलाग्ने मोरङ प्रहरीको १०० नम्बरमा विभिन्न व्यक्तिले ब्लफ कल गरेर दिनरात हैरानी दिने गरेका छन् । polycom650
ब्लफ कल गर्नु हुँदैन, यो सार्वजनिक अपराध हो भनेर सम्झाउँदा पनि ब्लफ कल गर्नेहरु मान्ने गरेका छैन । यसरी सम्झाउँदा झन् उनीहरुले हौसिएर ब्लफ कल गरेर ड्युटीमा बसेका प्रहरीहरुलाई हैरानी दिने गरेका छन् । सोधपुछ केन्द्रमा दिनमा २० देखि ३० वटासम्म ब्लफ कल आउने गरेको ड्युटीमा खटिँदै आएका हबलदार गोपाल राईले बताए ।
उनका अनुसार पहिले तराईका विभिन्न जिल्लाबाट ब्लफ कल आउने गरे पनि आजकल भने पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, इलामतिरका मोबाइल नम्बरबाट महिलाहरुले बढी ब्लफ कल गर्ने गरेका छन् । ब्लफ कल गर्नेहरु प्रायः ड्युटीमा बसेका महिला र पुरुष प्रहरीहरुसँग लामो समय लगाएर पटकपटक विक्षिप्त यौन संवाद गर्ने गरेका छन् ।
प्रायः चोरी गरेका र भेट्टाएका मोबाइलको सिम प्रयोग गरेर ब्लफ कल गर्ने गरेकाले    हैरानी दिनेलाई पक्राउ गर्न गाह्रो हुने गरेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताउनुभयो । अब ब्लफ कल गर्नेहरुको नम्बर नै सार्वजनिक गरिदिने योजनामा प्रहरी जुटेको उनले बताए । जथाभावी आउने ब्लफ कलले गर्दा सोधपुछ केन्द्रको फोन धेरै समय व्यस्त हुने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१