गत शुक्रबार यूएईको अल ऐन शहरमा एक नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न भयो । “नयाँ वर्ष शुभकामना साँस्कृतिक साँझ” नाम दिइएको उक्त कार्यक्रम अल ऐनमा बसोबास गर्ने सक्रिय नेपाली युवाहरुको समूहले आउँदो नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान तथा नेपालबाट आउनुभएका कलाकार द्वय खुश्बू खड्का साथै गायिका साहिमा श्रेष्ठको स्वागतार्थ आयोजना गरेको हो ।
आयोजक समितिका संयोजक तथा समाजसेवी लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा अतिथि कलाकार नायिका खुश्बु खड्का, गायिका साहिमा श्रेष्ठ ,यूएई नेपाली माझ चर्चित मोडल मोहन बोगटीका साथै स्थानीय कलाकार मेनुसा लामा,डिजे मणि लामा,विक्रम परियार,जोस्ना प्रधान,राजीव जंग सिजापती,अनिता बन ,सजना लामा,आत्मा लगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
आकस्मिक तयारी र सिमित समयावधिका कारण अपेक्षित प्रचार प्रसार गर्न नभ्याएको बताइएको उक्त कार्यक्रममा अल ऐनबासी नेपालीको उल्लेख्य उपस्थिति रहेको थियो भने आबुधाबीबाट गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका केन्द्रिय समिति महासचिव दीपक खड्का ,गुल्मी सेवा समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतम ,समाजसेवी निर्मल पोखरेल लगायतको उपस्थिति थियो । जे.सागर द्वारा संचालित उक्त कार्यक्रममा प्रमोद देउजाले उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो।
करिब एक दर्जन चलचित्र र चार दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका खड्का पछिल्लो समय म्युजिक भिडियो छायांकनको सिलसिलामा यूएई आइपुगेकी थिइन् ।त्यसैगरी विविध भाषामा झन्डै दुई सय गीतमा आफ्नो आवाज दिइसकेकी गायिका साहिमा पनि आफ्नो गीतको छायांकनको सिलसिलामा निर्देशक द्वय नितिन चन्द र नमित चन्दको साथमा यूएईमै रहेकी थिइन् । करिब दस दिन बसाइको अवधिमा यो समुहले आधा दर्जन गीतको छायांकन गरेर आज शनिबार स्वदेश प्रस्थान गर्दैछ ।
sunaulonepal.com बाट
प्रतिक्रिया