काठमाडौँ । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोसी छनोट हुनुभएको छ । २०६८ कात्तिक १४ गते तत्कालिन सिइओ प्रचण्डमान श्रेष्ठको ४ वर्षे कार्यकाल सकिएपछि बोर्ड प्रमुख वीहिन हुँदै आएको थियो ।
आवेदकमध्येबाट सीईओ छनोट उपसमितिको सिफारिसअनुसार आज बसेको बोर्डको बैठकले जोसीलाई सीईओमा नियुक्त गरेको हो । उपसमितिले डा. ज्ञानेन्द्ररत्न तुलाधर, ज्ञानेश्वर महतो र जोसीलाई सिफरिस गरेको थियो । तीनजनामध्येबाट जोसीलाई सीईओमा छनोट गरिएको हो ।
आइतबार र सोमबार सिइओ छनोट प्रक्रियामा नौजना डा. हरि शर्मा, डा. ज्ञानेन्द्ररत्न तुलाधर, ज्ञानेश्वर महतो र विष्णुबहादुर जिसी, दीपकराज जोशी, नारायण प्रधान, लोकबहादुर खत्री, भूमि लामा र रघु बिष्ट सहभागी हुनुहुन्थ्यो ।
सीईओका लागि चार वर्ष अगाडि नै आवेदन दिएर १२ जना सर्टलिष्टेड भएका थिए । नयाँलाई पनि आवेदन खोल्नुपर्ने आवाजकाबीच यसअघि उम्मेद्वारी दिएका पुरानैमध्येबाट सीईओ छनोट गर्नुपर्ने अदालतको फैसलाअनुरुप पुरानैमध्येबाट प्रक्रिया अगाडि बढाईएको थियो ।
तत्कालिन कामु सीईओसमेत रहेका सुवास निरौला भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका तथा अर्का दुईजना शिवशरण थापा, अमेरिका र हुमबहादुर गुरुङ, सिङ्गापुरमा रहेको र प्रक्रियामा सामेल हुन मानेपछि नौजनाबीच प्रतिस्पर्धा भएको थियो । लामो समयदेखि नेतृत्वबिहीनताको अवस्थाबाट गुज्रिरहेको नेपाल पर्यटन बोर्डले सीईओ पाएसँगै पर्यटनमा खुसीयाली छाएको छ ।
प्रतिस्पर्धीहरुको अन्तर्वार्ता तथा प्रस्तुतीकरणको मूल्याङ्कन, उनिहरुको विज्ञतालगायतको आधार उपसमितिले सर्ट्लिष्टेड गरी तीन जनाको नाम तयार गरी प्रतिवेदन आगामी बोर्ड बैठकमा प्रस्तुत गरेको थियो सोही प्रतिवेदनका आधारमा सीईओ छनोट गरिएको हो ।
प्रतिक्रिया