जुत्ता / स्यान्डल किन्दा सावधान! ढाडजोर्नीको रोगी बनाउन सक्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७२, मंगलवार ०७:५३

कोटेश्वरकी सरिता क्षेत्रीले गत वर्ष किनेको एक जोर स्यान्डलका कारण खुट्टा मर्किँदा औषधि उपचारमा ठूलै रकम खर्चिनुपर्यो। स्यान्डल अलिकति ठूलो भए पनि आफूलाई मन परेर किनेकी थिइन् उनले। तर स्यान्डल लगाएर हिँड्ने पर्याप्त अभ्यास नहुँदा नहुँदै पनि मन परेको आधारमा मात्रै स्यान्डल किन्दा उनले स्वास्थ्यकै जोखिम मोलिन्।
त्यस्तै चाबहिल सरस्वतिनगर बस्दै आएका स्याङ्जाका पवन रेग्मीले किनेको अग्लो छालाको जुत्ता पनि उनका लागि जोखिम बन्यो। जुत्ता अप्ठेरो हुँदाहुँदै पनि लगाएका उनलाई घुँडा दुख्ने समस्या देखिन थाल्यो। जुत्ताका कारण दुख्ने समस्या आएको भन्ने पहिचान समेत गर्न सकेनन् उनले। पछि चाबहिलको मेडिकेयर हस्पिटलका चिकित्सकलाई देखाएपछि बल्ल उनले हिँडाई असहज भएकाले घुँडामा समस्या आएको पत्ता लाग्यो। समयमै चिकित्सकको सुझाव पाएकाले सामान्य थेरापीबाट उनको दुखाई समस्या अहिले कम भएको छ।
असहज जुत्ता तथा सेण्डिलका कारण ढाडजोर्नी तथा नसामा दीर्घकालीन दुखाई हुने तथा रक्तनली फूट्नेसम्मका खतरा हुने चिकित्सकहरु बताउँछन्।
जुत्तामा स्वदेशी ब्राण्डदेखि अन्तराष्ट्रियस्तरका ब्राण्ड पनि नेपालमा थुप्रै छन्। तर जुत्ता खरिद गर्दा केही कुरा ध्यान नदिइएमा किनेको जुत्ताले हिँड्न अप्ठेरो बनाउने मात्रै होइन कि ढाडजोर्नीकै रोगी बनाउने सम्वन्धित चिकित्सकहरु बताउँछन्। ढाडजोर्नी तथा नसा रोग विशेषज्ञहरुका अनुसार पैतलामा लगाउने जुत्ताले टाउकोसम्मलाई असर पार्दछ।
चितवन मेडिकल कलेजका अर्थोपेडिसियन डाक्टर विष्णुदेव शर्माका अनुसार कुर्कुच्चा वा अन्य विशेष भागमा मात्रै जुत्ताका कारण शरीरको बढी भार पर्न गएमा खुट्टाका जोर्नीहरु दुख्ने तथा नसामा समेत असर पर्न गई नसा फुट्नेसम्मका जोखिमहरु हुन्छन्। उनका अनुसार जुत्ताका कारण हिँडाईमा अप्ठेरो हुन गएमा खुट्टाको मसलको ढाड तथा कम्मरमाथिको ढाडमै असर पर्न गई दुख्ने र त्यसले दीर्घकालीन रुप समेत लिन सक्छ। आफूलाई हिँड्दा सहज हुनेगरी र खुट्टाको आकारअनुसार मिल्ने जुत्ता मात्रै लगाउन शर्माले सुझाव दिन्छन्। जाडो सिजनमा जुत्ता किन्दा झन् विचार पुर्‍याउनुपर्ने उनको भनाई छ।
त्यस्तै वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. विनोद खरेलका अनुसार जुत्ताका कारण रगतको सर्कुलरमा समेत प्रभाव पर्दछ, यसकारण बढी टाइट हुने जुत्ता लगाउँदा खुट्टामा रक्तसंचारमा बाधा हुन जाँदा नसा च्यापिने, टुट्ने पनि हुन सक्छ। पैंतलाभन्दा ठूलो जुत्ताले पनि हिँड्न अप्ठेरो हुने र त्यसले ढाडजोर्नीमै दवाव पर्न जाने उनको विश्लेषण छ। दैनिकजसो ढाडजोर्नीमा दवाव पर्न गएमा दुखाई सधैं रहिरहन सक्ने उनको भनाई छ। ‘जुत्ताका कारण खुट्टाको औंला र अगाडिको पैंतलामा मात्रै शरीरको भार पर्नु हुँदैन, स्यान्डल लगाउँदा यो समस्या प्राय देखिन्छ’ उनले भने ‘खुट्टाको सतहमा समान भार पर्ने खालको जुत्ता लगाउनु पर्छ।’ जुत्ताका कारण खुट्टाको ढाड मात्रै नभई कम्मरमाथिको ढाडलाई समेत असर पार्ने उनी बताउँछन्।
खरेल भन्छन् ‘समग्र शरीरको रक्तसंचारमा पनि जुत्ताको भूमिका ठूलो हुन्छ, त्यसैले त ब्लड प्रेसर हुनेले खुट्टाकै माध्यमबाट एक्सर्साइज गर्दछन्।’ जुत्ताकै कारण हर्मोनको उत्पादन र विकास समेत प्रभावित हुने उनको भनाई छ। ‘चिकित्सले भन्ने गरेको भन्दा वैज्ञानिकहरुले जुत्ता तथा ढाडजोर्नीको सम्वन्धमा धेरै कुरा पत्ता लगाएका छन्, त्यसकारण जुत्ता किन्दा लापरबाही गर्र्नै हुँदैन’ उनले भने। रक्तसंचारमा जुत्ताको ठूलो भूमिका हुने र जुत्ताकै कारण रक्तसंचार नमिल्दा मस्तिष्कसम्म असर पर्ने उनको बुझाई छ।
त्यसो त उद्योगीहरुले स्वदेशी ब्राण्डका जुत्तामा नेपालीको खुट्टाको आकारअनुसारको साँचो राखिने गरेको दावी गर्छन्। फुटवेयर म्यानुफ्याक्चर एसोसिएसनका अध्यक्ष रविनकुमार श्रेष्ठका अनुसार डिजाइन र स्टाइलको लागि भन्दा आफूलाई सहज हुने खालको स्यान्डल तथा जुत्ताहरु लगाउने गर्नुपर्दछ। ‘जुत्ताकै कारण ढाडजोर्नीमा असर पर्ने र दीर्घकालीन रोगी समेत बन्ने कुरामा उद्योगी पनि सचेत छौँ’ उनले भने ‘ग्राहक झन् बढी सचेत हुनुपर्छ।’ स्टाइलका लागि लगाउनै पर्ने कतिपय सेण्डिल लामो समयसम्म लगाउन उपर्युक्त नहुने उनको भनाई छ।
नेपालीलाई सुहाउँदोअनुसार स्वदेशी जुत्ताहरु उत्पादन भएको दावी गर्दै उनले सर्वसाधारणले नै जुत्ता किन्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउँछन्। ‘एउटै उमेरका, उस्तै जिउडाल भएकालाई पनि त्यहीं जुत्ता एकअर्कालाई नमिल्न सक्छ, त्यसकारण उपभोक्ता एकदमै सचेत हुनुपर्छ’ उनले भने।  सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१