उत्तरपश्चिम पाकिस्तानमा विस्फोट, १७ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ मंसिर २०७२, सोमबार १३:०१
उत्तरपश्चिम पाकिस्तानको पराचिनार सहरको बजार इलाकामा आइतबार भएको एक बम विस्फोटनमा परी कम्तीमा १७ जनाको मृत्यु भएको  छ।
अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने सो इलाकामा भएको यस बम विस्फोटनमा परी अन्य ५५ घाइते भएका स्थानीय उर्दू टेलिभिजन च्यानल जिओले एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ । बजार इलाकाको एक पसलभित्र स्थानीय समयानुसार आइतबार अपराह्न १२ः३० बजे सो बम विस्फोटन गराएको थियो।
पराचिनार बजार इलाकामा भएको यस विस्फोटनको समयमा ठूलो सङ्ख्यामा व्यक्तिहरू किनमेलमा व्यस्त रहेको प्रत्यक्षदर्शीले सञ्चार माध्यमलाई बताएको छ । यस विस्फोटनमा परी कैयौँ पसलहरू क्षतिग्रस्त भएका छन्।
यस घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यस आक्रमणमा संलग्न रहेको आशङ्कामा दुई सदिग्ध व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनून हुसेनले यस आक्रमणको निन्दा गरेका छन्। घाइते व्यक्तिहरूको राम्रो उपचारको बन्दोबस्त मिलाउनका लागि प्रधानमन्त्री सरिफले सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन्।
सो बम आक्रमणको अनुसन्धान जारी रहेको जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१