एसएलसीको नतिजा अब लेटर ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७२, शुक्रबार १२:३०

भक्तपुर । सरकारले यस वर्षदेखि प्रवेशिका परीक्षाको नतिजा लेटर ग्रेडिङ अर्थात् अक्षराङ्क प्रणालीमा सार्वजनिक गर्ने भएको छ ।

शिक्षामन्त्री अध्यक्ष हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आज बसेको बैठकले परीक्षाको नतिजा नौ समूहमा विभाजन गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वर्ष प्राविधिक विषय अध्ययन गरेका विद्यार्थीको प्रवेशिका परीक्षाको नतिजा यसै प्रणालीबाट परीक्षणका रुपमा सार्वजनिक गरिएको थियो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले बिहीबार भएको निर्णयानुसार परीक्षाको नतिजा सार्वजनिक गर्दा उत्तीर्ण, अनुत्तीर्ण भनेर उल्लेख नगरी ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी’, ‘इ’, र ‘एन’ समूह उल्लेख गरिने जानकारी दिए ।

सोअनुसार ९० देखि १०० प्रतिशतसम्म ल्याउनेलाई ‘ए प्लस’, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ‘ए’, ७० देखि ८० भन्दा कम प्रतिशत ल्याउनेलाई ‘बी प्लस’ र ६० देखि ७० भन्दा कम ल्याउनको ‘बी’ को मान्यता दिइने भएको छ ।

त्यसैगरी परीक्षामा ५० देखि ६० भन्दा कम अङ्क ल्याउनेले ‘सी प्लस’ र ४० देखि ५० भन्दा कम अङ्क ल्याउनेले ‘सी’ उल्लेख गरिएको प्रमाणपत्र पाउनेछन् । त्यस्तै २० देखि ४० भन्दा कम अङ्क ल्याउनेलाई ‘डी’ र एकदेखि २० भन्दा कम अङ्क प्राप्त गर्नेले ‘इ’ उल्लेखित शैक्षिक प्रमाणपत्र पाउनेछ । शून्यलाई एन समूहमा राखिने छ ।

यस वर्षदेखि प्रवेशिका परीक्षा दिने विद्यार्थीको प्रमाणपत्र एवम् लब्धाङ्कपत्रमा उत्तीर्ण र अनुत्तीर्णको व्यवस्था नराखी ग्रेड दिइने व्यवस्था गरिने छ । ‘डी’ र ‘इ’ भन्दा कम अङ्क ल्याउने परीक्षार्थीले त्यसभन्दा माथिकोे ग्रेड ल्याउन फेरि अर्को ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था हुने छ । रासस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१