दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७२, बुधबार १३:१०

नवीन लोचनमगर, रोल्पा । दृष्टिविहिन बालबालिकाका लागि विशेष कक्षा नै सञ्चालन गरेको रोल्पाको बालकल्याण उमाविमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दृष्टिविहिन बालबालिकाको पढाई लेखाई तथा उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यसहित सेभ द चिल्ड्रेन र मानवअधिकार सचेतन केन्द्र (हुरेक) ले जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा उक्त सामाग्री वितरण गरिएको हो । वितरण गरिएको छात्रवृत्ति तथा विभिन्न शैक्षिक सामाग्रीहरुमा सेतो छडी १० थान, ब्रेल पेपर १२ ग्रुस, हार्मोनियम १ थान, मादल २ थान, बाँसुरी २ थान र खैचडी १ थान रहेका छन् । सेभ द चिल्ड्रेन इटाली अन्तर्गत गुणस्तरीय आधारभूत शिक्षा कार्यक्रमबाट फरक क्षमता भएका व्यक्तिहरुको सहयोगका लागि ती सामाग्री वितरण गरिएको हुरेकका शिक्षा कार्यक्रम संयोजक कृष्ण घर्तीमगरले बताए ।

सदरमुकाम लिबाङमा रहेको बालकल्याण उमाविको विशेष कक्षाका ११ जना विद्यार्थीहरुलाई ती सामाग्री हस्तान्तरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विशेष कक्षा अन्तर्गत १ देखि ११ कक्षासम्म गरी ६ जना छात्र र ५ जना छात्रले ब्रेललिपिको माध्ययमबाट अध्ययन गर्दै आएका छन् । सामाग्री हस्तान्तरण गर्दै जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले फरक क्षमता भएका व्यक्तिहरु पनि अवसर पाएमा सबैकाममा सफलता पाउने बताए । विशेष कक्षाका विद्यार्थीहरुको रेखदेख गर्दै आएका शिक्षक ओम सेनले स्रोतको अभावमा बालबालिकालाई खान, बस्नमा समस्या परिरहेको बताए । ब्रेल लिपिका आधारमा मात्रै नभएर सुनेर सिक्ने वातावरण पनि भइदिए झन् सहज हुने फरक क्षमता भएका छात्र चित्रबहादुर डाँगीले बताए ।

शैक्षिक सामाग्री हस्तान्तरण गरेकोमा बालकल्याण उमाविका सहप्राचार्य नारायण आचार्यले धन्यवाद व्यक्त गरे । कार्यक्रममा बालबालिकाहरुले गीत समेत सुनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१