भूकम्प जानुअघि नेपालमा यहाँको क्षमताले भ्याउनेगरी नै पर्यटक आइरहेका थिए । भूकम्प गइसकेपछि पर्यटक आगमन घट्यो । केही समय बितेपछि भने भूकम्पबाट नेपालको पर्यटकीय सम्पदा सबै ध्वस्त भएका रहेनछन्, पदयात्रा मार्ग सुरक्षित रहेछन्, होटेलहरु पनि सेवा सुविधा उपलब्ध गराउन सक्षम नै रहेछन् भन्ने सन्देश बाहिर गयो त्यसपछि बिस्तारै पर्यटक आउने क्रम बढ्दै थियो । पहिले एकपटक आइसकेका भूकम्पपछि नेपाल कस्तो भयो भनेर आउने क्रम जारी थियो भने नयाँ पर्यटक पनि आइरहेका थिए । पर्यटक आगमन बढ्ने क्रम जारी थियो । तर फेरि जब नाकाबन्दी सुरु भयो त्यसले पर्यटनलाई ठूला असर पुर्यायो । नाकाबन्दीलाई विश्वले नै नराम्ररी लिएको छ । बाहिरका मित्रहरुसँग छलफल हुँदा उनीहरुले भूकम्पबाट जति सोचिएको थियो त्यति असर नपरेको तर अब नाकाबन्दीले नेपालमा धेरै ठूलो क्षति पुर्याउने विश्लेषण गर्ने गरेका छन् । नाकाबन्दीको असरबारे जुन समाचार सामाजिक सञ्जालका माध्यमले अपडेट भइरहेका छन्, यसले यहाँ आउन चाहने पर्यटक सतर्क बनेका छन् ।
हामी आफैंलाई पनि यहाँ टिक्न बडो गाह्रो भएको अवस्था छ । यस्तो अवस्थामा पर्यटक आएनन् भन्न पनि नसकिने अवस्था छ । हालका दिनमा अफिसियल भिजिटमा आउने पर्यटकको संख्या भने ३० प्रतिशतजति छ तर घुम्नकै लागि आउने पर्यटकको संख्या १० प्रतिशतमात्रै छ ।
खस्किँदो अवस्थामा रहेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पहिलो आवश्यकता हो राजनीतिक स्थिरता । त्यसपछि सरकारले नेपालको पर्यटन सम्भाव्यताबारे विश्वमा प्रचार प्रसार गर्नुपर्छ । यसका लागि सरकारका पर्यटनसँग सम्बन्धित सबै निकाय र निजी क्षेत्रको पनि सहकार्य आवश्यक छ । अहिले तुरुन्तै हामीले कसरी नेपाली पर्यटनका बारेमा विश्वमा सकारात्मक सन्देश दिन सक्छौं र उनीहरुलाई कन्भिन्स गरेर नेपाल ल्याउन सक्छौं भन्नेमा हाम्रो ध्यान जान आवश्यक छ । अर्को आवश्यकता हो पर्यटन क्षेत्रलाई राजनीतिमुक्त गराउनु । अहिले पर्यटनमा सयभन्दा बढी संघसंस्था छन् तर ती सबै विभिन्न राजनीतिक दलको प्रभावमा छन् । यसले गर्दा राजनीतिबाट टाढा हुन चाहने, विशुद्ध पर्यटन व्यवसायी हुन चाहने र पर्यटन व्यवसायबाट आफ्नो र मुलुकको पनि समृद्धि हासिल गर्न चाहने व्यवसायीलाई पार्टीको झन्डा अनि भिजन बोक्नेले धराशयी बनाएको अवस्था छ ।
कसैले आफूलाई पर्यटन व्यवसायीका रुपमा चिनाउन चाहन्छ भने यस क्षेत्रमा आइसकेपछि ऊ विशुद्ध व्यवसायीका रुपमा रहनुपर्यो । राजनीतिक गतिविधि पार्टीका कार्यक्रममै मात्रै सीमित बनाउनुपर्यो । यस क्षेत्रमा पसेपछि पर्यटन क्षेत्रका समस्या र तिनको समाधान खोज्नमै केन्द्रित हुनुपर्यो । म पर्यटनमा लागेको १५ वर्षजति भयो । यस अवधिमा विशुद्ध व्यवसायीका रुपमा रहन कुनै पार्टीविशेषको सदस्यता लिने, झन्डा बोक्ने काम मैले गरेको छैन । मेरोजस्तो सोच भएका हजारौं पर्यटन व्यवसायी छन् । अहिले राज्यले पर्यटनलाई खासै महत्व नदिएको अवस्था देखिन्छ । नेपाल पर्यटन बोर्डलाई पर्यटनको सम्पूर्ण जिम्मेवारी दिइएको छ । तर यो संस्था पनि निकै विवादमा आयो र काम पनि गर्न सकेन । काम गर्छु भनेर आउनेहरु पनि भ्रष्टाचारमा मुछिएको देखिएको छ । पर्यटन बोर्डको भ्रष्टाचारविरुद्ध सबै पर्यटन व्यवसायी एक भएका थिए तर अहिले जसको सरकार बन्छ, उसकै मान्छे हावी हुने भएकाले पर्यटन व्यवसायीबीच एकता पनि हुन सकेको छैन । यी सबैले गर्दा पर्यटन व्यवसाय झन् झन् धराशयी भएको देखिन्छ । उदाहरणका लागि हेर्ने हो भने अहिले पनि ठमेलका सयौं होटेल, रेस्टुराँ तथा पसल पर्यटकलाई सेवा दिन तम्तयार अवस्थामा छन् । पहिले यी होटेल रेस्टुराँ भरिभराउ हुन्थे तर अहिले ठमेल क्षेत्रमा दिनमा मुस्किलले सय डेढसय पर्यटकमात्रै देखिन्छन् । यस्तो अवस्थामा पर्यटन व्यवसायी कसरी टिक्ने ? न सरकारले सोचेको छ न त यस क्षेत्रमा रहेका संघसंस्थाले नै सोचेका छन् । यी संघसंस्थाका नेतृत्व आफू कसरी अघि जान सकिन्छ, आफ्नो दुनो कसरी सोझ्याउन सकिन्छ भन्नेमा मात्रै केन्द्रित छन् ।
स्पा एन्ड टुरिजमको मार्केटिङ गर्न आवश्यक छ
मैले विगत १४ वर्षदेखि पर्यटकका लागि स्पा सञ्चालनमा ल्याएँ । विभिन्न मुलुक घुमेर यसबारे बुझेर, नराम्रा पक्ष हटाएर नेपालको संस्कृतिसँग मिल्नेगरी स्पा सञ्चालनमा ल्याउने योजना बनाएँ । त्यति बेला नेपालमा पतिपत्नी एकैपटक गएर मसाज गराउन सक्ने अवस्था थिएन । यहाँ मसाजका नाममा विकृति फैलिएको थियो । मलाई पनि यो क्षेत्रमा नलाग्न धेरै साथीले सुझाव दिए । त्यसको बाबजुद पनि यो सेवा नेपालमा जरुरी छ भनेर सुरु गरें । पहिले मैले जोमसोममा दुई महिनाजति यो सेवा दिएँ । त्यति बेला यो सेवा लिने पर्यटकले राम्रो प्रतिक्रिया दिए । यस्तो सर्भिस नेपालका सबै पर्यटकीय क्षेत्रमा भए पर्यटक धेरै खुसी हुने थिए भन्ने सुझाव पनि उनीहरुले दिए । त्यसपछि घोरेपानी, मुक्तिनाथ, घान्द्रुकलगायतका सातवटा केन्द्रमा यो सेवा सुरु गरें । पछि काठमाडौंमा पनि यस्तो सेवा चाहियो भनेर पर्यटकहरुले नै माग गरेपछि ठमेलमा स्पा सुरु गरें । उद्घाटनमा तत्कालीन समाज कल्याण मन्त्री दुर्गा पोखरेललगायतका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो । अनि स्पामा बिस्तारै पर्यटक आउन थाले, स्वयं व्यवसायी पनि आउन थाले । त्यसपछि यो सेवाले सम्मान पायो । स्पाले नेपाली युवालाई आम्दानी पनि राम्रो गर्ने अवसर दिएको छ । यो क्षेत्रमा सेवा दिनेले महिनामा एक डेढलाखसम्म आम्दानी गर्न सक्छन् ।
स्पालाई विस्तार गर्न पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र यस क्षेत्रका संघसंस्थासँग कुरा भएको छ । विश्वमा हेर्ने हो भने जहाँ स्पाको विकास भएको छ त्यहाँ पर्यटनको विकास भएको छ । त्यसैले स्पालाई पर्यटनको मूल आधारका रुपमा अघि बढाउनुपर्ने अवस्था छ । नेपालमा स्पा एन्ड टुरिजम भनेर सँगसँगै मार्केटिङ गर्न सक्ने हो भने अहिले माउन्ट एभरेस्ट भनेर जसरी विश्वका पर्यटक यहाँ आउँछन् भविष्यमा स्पाका लागि भनेर त्यसरी नै पर्यटक आउने सम्भावना छ । यसले एकातिर पर्यटन विस्तार हुन्छ भने अर्कातिर रोजगारीको अवसर पनि सिर्जना हुन्छ । यो सेवाका लागि नेपालका बेरोजगार हजारौं युवालाई सिप सिकाएर काममा लगाउन सकिन्छ ।
स्पामा मनोरञ्जन, उपचार र आनन्द तीनवटै क्षेत्रको समन्वय पाइने भएकाले पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । स्पालाई राम्रोसँग मार्केटिङ गर्ने हो भने भोलि नेपालमा छोटो होलिडे प्याकेज बनाएर हजारौं पर्यटक भित्र्याउन सकिन्छ । यसबाट राज्यले पनि मनग्य आम्दानी गर्न सक्ने सम्भावना छ । eprofile.asia बाट
प्रतिक्रिया