करिश्मा कपुरको प्रेम: रिलमा चम्किलो, रियलमा मधुरो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० मंसिर २०७२, आईतवार १०:४९

sdfएजेन्सी । पर्दामा करिश्मा कपुर जति चम्किइन् प्रेम र वैवाहिक जीवन भने त्यत्तिकै मधुरो साबित भएको छ।
नयाँदिल्लीका व्यापारी सञ्जय कपुरसँग सन् २००३ मा विवाह गरेकी करिश्माको दाम्पत्य जीवन एक दशकभन्दा बढी टिक्न सकेन। सन् २०१३ देखि पतिसँग छुट्टिएर मुम्बईमा आमासँग बस्न थालेपछि सहमतिीमा सम्बन्धविच्छेद गर्ने सहमतिमा पुगेका उनीहरूको सम्बन्धविच्छेदमा पनि समस्या आएको छ।
सहमतिअनुसार पतिले सम्पत्ति दिन आनाकानी गरेको आरोपसहित करिश्मा कानुनी उपचारका लागि गत शुक्रबार मुम्बईको बान्द्रास्थित फेमिली कोर्टको शरणमा पुगेकी छन्। हुन त वैवाहिक जीवनमा मात्रै होइन, प्रेमसम्बन्धमा पनि करिश्मालाई अभागी साबित भएकी छन् । सन् १९९० को दशकमा करिश्माको चमक बेग्लै थियो। रणधीर कपुर र बबिताकी छोरी। बलिउडमा कपुर परिवारकी उत्तराधिकारी।
१७ वर्षको उमेरमा सन् १९९१ मा चलचित्र प्रेमकैदीबाट बलिउडमा डेब्यु गरेकी उनी त्यसपछि ‘चार्मिङ’ नायिकाका रूपमा दरिन सफल भइन् । त्यस बेला करिश्मा र अजय देवगनको प्रेम प्रसंग बलिउडमा चर्चाको विषय थियो।
सम्भवतः करिश्माको पहिलो प्रेम अजयबाटै सुरु भएको थियो तर उनको त्यो प्रेमकथा सफल भएन। अजय अर्की अभिनेत्री काजोलसँग नजिकिएपछि करिश्मा खिन्न भइन्। तापनि उनको क्रेज र व्यस्तताका कारण असफल प्रेमको घाउ धेरै दिन रहेन।
उनी अभिषेक बच्चनसँग नजिकिइन्। त्यस बेला अभिषेकको पहिचान भन्नुु केवल मेगास्टार अभिताभ बच्चन पुत्रमात्रै थियो । तापनि करिश्मा उनीप्रति नतमस्तक थिइन्। अजयसँगको प्रेमबाट घायल भएकी करिश्माको मनमा अभिषेकले मल्हल लगाउन सफल भए।
करिश्मा र अभिषेकले आफ्नो प्रेमलाई सार्थक बनाउन वैवाहिक सम्बन्धमा बाँधिन तयार भए। परिवारको सहमतिमा अमिताभ बच्चनको ६०औं जन्मदिनका अवसरमा सन् २००० मा इन्गेजमेन्ट गरे।
त्यसताका कपुर र बच्चन परिवारको सम्बन्धका कारण यो जोडी सधैं चर्चाको विषय बन्यो तर सन् २००३ को फेब्रुअरीमा इन्गेजमेन्ट ब्रेक भएको समाचार बाहिर आएपछि सबै आश्चर्यचकित भए। यो घटना अभिषेककी आमा जया बच्चन र करिश्माकी आमा बबिताबीचको मनमुटाव र अहम्का कारण भएको थियो।
परिवारको सहमतिविपरीत जान नसकेपछि करिश्मा र अभिषेक आआफ्नो बाटो लागे। त्यसपछि करिश्मा नयाँदिल्लीका व्यापारी सञ्जय कपुरसँग नजिकिएकी हुन्। सञ्जयको त्यसअघि नन्दिता मेहतानीसँग विवाह भइसकेको थियो।
कतिपयले करिश्माका कारण सञ्जयले नन्दितासँग सम्बन्धविच्छेद गरेको आरोप पनि लगाए। करिश्मा र सञ्जयको प्रेमचर्चा चलेको छोटो समयमै सन् २००३ सेप्टेम्बरमा विवाह गरे।
सन् २००५ मा उनीहरूले एक छोरीलाई जन्म दिए। पहिलो सन्तान जन्मेपछि उनीहरूबीच खटपट सुुरु भएको चर्चा चल्न थाले पनि परिवारभित्रको समस्यालाई सुल्झाउँदै अगाडि बढे। यो क्रम लामो समय चल्यो।
सन् २०१० मा दोस्रो सन्तानका रूपमा एक छोरालाई जन्म दिएपछि उनीहरूको दाम्पत्य जीवनमा समस्या नरहेको चर्चा भए पनि त्यो गलत साबित भयो। केही समयपछि नै यो दम्पतीको सम्बन्धमा दरार देखा पर्‍यो।
समयको क्रमसँगै मनमुटाव र आरोप प्रत्यारोपले उग्र रूप लिएपछि सन् २०१३ देखि करिश्मा नयाँदिल्ली र पति सञ्जयलाई छाडेर मुम्बईमा आमासँग बस्न थालिन्। दुई सन्तानका साथ मुम्बई बस्न थालेपछि उनीहरू सहमतिमा सम्बन्धविच्छेद गर्न राजी भए।
सम्बन्धविच्छेदसँगै करिश्माले पाउने रकमलाई लिएर बलिउड इतिहासमै सबभन्दा महँगो सम्बन्धविच्छेदका रूपमा चर्चा भयो तर सहमतिअनुसार ६ महिनाभित्र दिनुपर्ने रकम नदिएपछि उनीहरूको सम्बन्धविच्छेदमा पनि समस्या देखिएको हो। यही विषयलाई लिएर करिश्मा अदालतको शरणमा पुगेकी हुन्।
४१ वर्षीया करिश्मा अहिले अर्का व्यापारी सन्दीप तोस्निवालसँग डेटिङमा रहेको प्रसंगले चर्चा पाउने गरेको छ। विद्या वालन र उनका पति सिद्धार्थ रोय कपुरले दिएको एक डिनर पार्टीमा करिश्मा र सन्दीपसँगै गएका थिए। अहिले सञ्जय कपुर पनि प्रिया चटवालसँग लागेको बताइएको छ।
प्रेमकैदीपछि करिश्माले जिगर, अनारी, राजाबाबु, सुहाग, गोपीकिसन, साजन चले ससुराल, जित, अन्दाज अपना अपना, कुल्ली नं। वान, हिरो नं। वान, बिबी नं। वान, राजा हिन्दुस्तानी, दिल तो पागल है, फिजा, जुवेदा, शक्तिलगायतका विभिन्न चलचित्रमा अभिनय गरेकी छन्।
लामो समयको अन्तरालपछि करिश्मा बलिउडमा कमब्याक गर्ने तयारीमा रहेको चर्चा चले पनि उनी अहिले पारिवारिक समस्यामै जेलिएकी छन्।
अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया