काठमाडौँ । नेपाली कांग्रेसको पर्यटन विभागले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त विभागले पार्टी निकटका पर्यटन व्यवसायीहरुको संगठन ‘नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ’ गठन गर्न आयोजना गरेको त्यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा सभापति सुशील कोइरालालाई निमन्त्रणा गरिएको थियो ।
पार्टी सभापति नै कार्यक्रमको प्रमुख अतिथि हुने भएपछि पर्यटन व्यवसायी र आयोजकहरुको हतारो स्वाभाविक रुपमै बढी हुने भै हाल्यो । सबैजना सभापति प्रमुख अतिथिका रुपमा आउने भएपछि फुलगुच्छा लिएर स्वागतमा पनि बसे । ९ बजेर ३० मिनेटमा कार्यक्रम गर्ने भनेर सबैलाई निम्ता दिइएको थियो । सञ्चारकर्मी पनि त्यहि निम्तोमा कार्यक्रमस्थ पुगे । तर, दश बज्दा पनि कोइरालाको उपस्थिति नभएपछि एक आपसमा ‘सभापति त नआउँने जस्तो छ नि’ भन्दै गाँइगुँई हल्ला शुरु भयो ।
कोइरालाको प्रतिक्षामै निर्धारित समयमा गर्ने भनिएको कार्यक्रम करिब १ घण्टा ढिला शुरु भयो । तर, त्यति बेलासम्म पनि कोइरालाको उपस्थिति देखिएन । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने कार्यक्रममा उपस्थित भए । देउवा उपस्थित हुँदा पनि कार्यक्रममा कोइराला आउने आशा आयोजकले मारेका थिएनन् । त्यहि भएर सभापतिको कुर्सी खाली नै राखेर कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख किशोरसिंह राठौरले कार्यक्रम शुरु गरे । कार्यक्रममा त्यति उत्साहजनक उपस्थिति नभएकाले आयोजकलाई पनि निकै धौ–धौ परेको थियो ।
कार्यक्रम चलिरहेको थियो, सभापतीको कुर्सी खाली नै थियो । गजब त के भयो भने कार्यक्रमको आधाआधिसम्म खाली रहेको कोइरालाको कुर्सीमा देउवा बसे । त्यसपछि हलमा झन् खासखुस बढी नै भयो । कतिले त आगामी महाधिवेशनबाट कोइरालाको कुर्सीमा देउवा बस्ने भन्दै छेडछाड पनि गरे ।
१५ मिनेटको भाषणमा ७ पटक घडी हरे देउवाले
कार्यक्रममा नेता विमलेन्द्र निधी बोलिरहेका थिए । देउवाले निधी बोलिरहेका बेला उनको मन्तव्य घटाउन आयोजकलाई पटक–पटक आग्रह गरे । तर, निधीको मन्तव्य घट्ने संकेत देखिएन् । देउवा पटक–पटक घडी हेर्न थाले । यो क्रम निरन्तर चलिरह्यो । जब निधीको मन्तव्य सकियो देउवा मञ्चमा आए । उनले मञ्चमा बोल्दा पनि घडी हेर्ने क्रमलाई निरन्तरता दिए । देउवाले १५ मिनेटमा कम्तीमा पनि १५ पटक भन्दा बढी घडि हेरेपछि दर्शक–दीर्घा पनि देउवाको हतारोबाट जानकार भए ।
‘सौच’गएका देउवा फर्केनन्
करिब १० मिनेटमा आफ्नो मन्तव्य सकेका देउवा केहीबेर मञ्चमा बसे । मञ्चमा बस्दा पनि उनले धेरै पटक घडी हेरे । देउवा मञ्चमा बसेपछि हौसिएका राठोर आफ्नो मन्तव्य जोडतोडका साथ राख्दै थिए । देउवा ‘सौच’ गर्न जाने संकेत गरेर बाहिर निस्के, तर फर्केनन् ।
‘यही कार्यक्रममार्फत वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ज्यूलाई म यो कुरा जानकारी गराउन चाहन्छु‘’ भन्दै मञ्चमा भाषण गर्दै गरेका राठोरले मञ्चतिर मुण्टो फर्काए । त्यतिबेला मञ्चमा कुर्सी मात्र थिए । देउवा थिएनन् । उनी अक्क न बक्क परे । हलमा फेरि हाँसो गुञ्जियो । साभार -nepalese.org
प्रतिक्रिया