कांग्रेस सभापति कोइरालाले अमेरिकाबाट ल्याए ७५ वटा मोबाइल सेट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७२, सोमबार १०:३२

sushil koirala mobileसम्पत्तिका नाममा दुईवटा पुराना मोबाइल टेलिफोन सेट मात्रै भएको दाबी गरेका निवर्तमान प्रधानमन्त्री सुशील कोइराला करिब ७५ वटा मोबाइल सेट लिएर गत बिहीबार स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि भन्दै कोइराला १७ जनाको जम्बो टोली लिएर कात्तिक २० गते अमेरिका प्रस्थान गरेका थिए । भ्रमणमा गएका १७ जनामध्ये बुहारी मृदुला कोइराला, भतिज अतुल कोइराला, भान्जीबुहारी प्रभा शर्मा, सुरक्षा गार्ड महेन्द्र मरासिनी र परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराईसहित ६ जना कांग्रेस सभापतिसँगै स्वदेश फर्किएका छन् । बाँकी ११ जना कहिले फर्किने हुन् टुंगो छैन । त्यही बसेका ११ जनामध्ये अधिकांश मृदुला कोइरालाका आफन्त रहेको बुझिएको छ । अमेरिका बसाईको २१ दिनमा कोइराला नेपालीहरुको बाक्लो बसाई रहेका सबै ठाउँमा पुगेका थिए । विभिन्न राज्यमा भव्य कार्यक्रम गरिएको थियो । जसमध्ये नेपाली जनसम्पर्क समिति अमेरिकाले न्युयोर्कमा गरेको स्वागत कार्यक्रम निकै भव्य थियो । उक्त कार्यक्रममा सहभागी हुनेमध्ये केहीले उपहारस्वरुप मोबाइल टेलिफोन लगेका थिए । नायक राजेश हमालका मामा खगेन्द्र जिसीले प्रधानमन्त्री भइसकेको र सबैभन्दा ठूलो पार्टीको सभापतिको हातमा गतिलो मोबाइ नभएकोमा आफू स्तब्ध भएको र उपहार ल्याएको बताएका थिए । ‘प्रधानमन्त्री भइसकेको र सबैभन्दा ठूलो पार्टीको सभापतिको हातमा गतिलो मोबाइलसमेत नभएको सुनेर म स्तब्ध भएँ, त्यसैले यो उपहार ल्याएको हुँ ।’ पाँच सय डलरको मोबाइल सेट उपहार दिंदै उनले भने । अरुहरुले पनि विभिन्न कार्यक्रममा खाँदा लगाउँदै मोबाइल सेट उपहार दिएका थिए । तरुण साप्ताहिकबाट

प्रतिक्रिया