ग्राण्डीको बदमासीः भूकम्प पीडितलार्इ बिदेशीले दिएको औषधि ६ महिना लुकाइयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७२, सोमबार ०६:०७
  • हालै स्वास्थ्यमन्त्री रामजनम चाैधरीलार्इ  अाैषधि हस्तान्तरण गर्दै  डा. उपेन्द्र महतो 

op काठमाण्डौ,१४  मंसिर । नेपालकै सुविधा सम्पन्न एवं विदेशी लगानीसमेत रहेको ग्राण्डी अस्पतालले सरकारका नाममा भूकम्पपीडितका लागि आएको ५ करोड रुपैयाँ बराबरको औषधि ६ महिनासम्म लुकाएको रहस्य खुलेको छ ।

गत बैशाखमा गएको भूकम्पबाट पीडित नेपालीहरुका लागि दुबईको एनएमसी ग्रुपले करिब १८ लाख दिराम बराबरको औषधि नेपाल पठाएको थियो । एनएमसीको वेबसाइटमा मे १३ (बैशाख ३० गते) तारिखमा छापिएको समाचारमा ‘गत हप्ता ती औषधि एयर कार्गोमार्फत नेपाल पठाइएको’ भनिएको छ ।

ग्राण्डी अस्पतालमार्फत पठाइएका ती औषधि नेपाल सरकार र अन्य संस्थालाई हस्तान्तरण गरिने समाचारमा जनाइएको थियो । बैशाखको अन्तिम साता नै एयरलिफ्ट गरी पठाइएका ती औषधि ग्राण्डीले लामो समयसम्म सरकारलाई जानकारी नै नदिई लुकाएको तथ्य हालै मात्र सार्वजनिक भएको छ ।

Medical-Support

गत साता ग्राण्डी अस्पतालमा आयोजित एक कार्यक्रममा ‘नाकाबन्दी पीडित’का लागि भन्दै करिव पाँच करोड रुपैयाँको औषधि सरकारलाई दिइएको घोषणा गरियो । जुन, त्यही पुरानो औषधि थियो ।

कार्यक्रममा ग्राण्डी अस्पतालले नै नाकाबन्दी पीडितलाई सहयोग हस्तान्तरण गरेको बताइए पनि भूकम्पकै बेला आएर लुकाइएको बिदेशी सहयोग नै अहिले हस्तान्तरण भएको पुष्टि भएको हो ।

कार्यक्रममा एनएमसीले दिएको पाँच करोडको औषधिमध्ये ग्राण्डीमार्फत तीन करोड ६० लाखको मात्रै सरकारलाई हस्तान्तरण गरिएको छ । बाँकी एक करोड ४० लाख रुपैयाँको औषधि डा. उपेन्द्र महतोको फूलकुमारी महतो ट्रष्टले वितरण गर्ने बताइयो ।

औषधिको एक पोका स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरिएको छ । औषधि हस्तान्तरण कार्यक्रममा उपेन्द्र महतोले औषधि हस्तान्तरण गरेको प्रचार गरिए पनि ६ महिना पहिले नै भूकम्पपीडितलाई आएको औषधि यसरी बाडिँदैछ भन्ने तथ्य चाँहि गुपचुप नै राखियो ।

ग्राण्डी अस्पतालका सूचना अधिकृत बिनोद अधिकारीले समेत यी औषधि भूकम्पपीडितकै लागि आएको स्वीकारे गरेका छन् ।

यस्तो छ ग्राण्डी अस्पतालका सूचना अधिकृत बिनोद अधिकारीसँगको प्रश्नोत्तर: 

तपाईहरुको अस्पतालमा आयोजित कार्यक्रममा सरकारलाई हस्तान्तरण गरिएको औषधि कसले दिएको हो ? अस्पतालले कि उपेन्द्र महतोले ?

– यो औषधि उपेन्द्र महतोले दिनुभएको पनि हैन, ग्राण्डीले दिएको पनि हैन, दुबईको एनएमसी ग्रुपले अस्पतालमार्फत् सरकारलाई दिने भनेर पठाएको हो ।

कहिले पठाइएको थियो औषधि ?

– यो भूकम्पकै बेला पठाइएको औषधि हो । हामीले गोदाममा राखेका थियौं, हामीले बाँड्न पाउने औषधिहरु त सिन्धुपाल्चोकतिर बाँडिसक्यौं, फूलकुमारी महतो ट्रष्टअन्तर्गतको अस्पतालले पनि बाँडयो होला ।

भूकम्पका बेला पठाएको भन्नुभयो । आउन ढीला भएर हो कि किन अहिले मात्र बाँड्नुभएको ?

– हैन, आएको त भूकम्पकै बेलामा हो । सरकारले अहिले अत्यावश्यक औषधि अभाव भयो भन्यो त्यसैले अहिले दिएको ।

भूकम्पका बेला आएको औषधि सात महिनासम्म किन गोदाममा राखेर सरकारलाई नदिएको त ?

– औषधि आउन ढिलाइ पनि भएको हो । हामीले सरकारको औषधि सुरक्षित नै राखिदिएका थियौं, अहिले आवश्यक परेर दियौं ।

त्यसोभए एनएमसीले नेपालका नाकाबन्दी पीडितलाई भनेर औषधि दिएको हैन, भूकम्पपीडितका लागि भनेर दिएको औषधि तपाईहरुले अहिलेमात्रै सरकारलाई दिनुभएको हो ?

– हो । एनएमसीले नाकाबन्दीका लागि भनेर औषधि पठाएको हैन ।

onlinekhabar बाट

प्रतिक्रिया