काभ्रे । वैशाखको भूकम्पले घरबारविहीन यहाँका भूकम्पपीडितलाई कठ्यांग्रिँदो चिसो अर्को संकट बनेर आएको छ । सात महिनादेखि पालमुनि र अस्थायी टहरामा बस्दै आएका उनीहरूको बसाइ चिसोका कारण कष्टकर बन्दै गएको छ ।
केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् । देउपुर, च्याम्राङबेसी, कोशीपारी, साट्ठीघर भगवती, डाँडापारिका भूकम्पपीडितसँग न पेट भर्ने अन्न छ, न आङ ढाक्ने कपडा । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्याले सताइरहेको वेला कठयांग्रिँदो चिसोले झन् पीडा दिएको छ । दुर्गम च्याम्राङबेंसी गाविस–९ तांग्रेमाराङका कुलबहादुर तामाङ वर्षांैदेखि बस्दै आएको गाउँबाट विस्थापित भएर पनौतीमा त्रिपाल मुनिको बासमा छन् । जाडो बढेपछि उनलाई पालमुनिको बाँसले पनि चिन्ता थपिदिएको छ ।
भूकम्पपछि आएको पहिलोले घरजग्गा बगाएर विस्थापित भएका ५० वर्षीय बमबहादुर थिङलाई पनि यही समस्या छ । उनले भने, ‘चिसोले साह्रै सताएको छ, चिसोसँगै चारजनाको परिवार कसरी पाल्ने भन्ने चिन्ताले समेत पिरोलेको छ ।’ अर्का भूकम्पपीडित कुलबहादुर थिङको पीडा पनि उस्तै छ । ‘बस्ने घर र खाने खेतबारी पनि भूकम्प र पहिरोले लग्यो,’ उनले आफ्नो पीडा पोखे, ‘सात महिना बितिसक्दा पनि सरकारले गाँसबासको व्यवस्था गरेको छैन । पालमुनि बसेर यो चिसो धान्न सकिएला जस्तो छैन ।’
भूकम्पपछिको पहिरोले घरजग्गा बगाएका ६० परिवारका दुई सयभन्दा बढी पीडित स्थानीय विद्यालय र चउरमा पाल टाँगेर बस्दै आएका छन् । ग्रामीण क्षेत्रमा झन् चिसो एक सातादेखिको शीतलहरले भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै स्थानीयवासीको चहलपहल शून्यप्रायस् छ भने दिनभरि मानिसहरू अगेनाको वरिपरि नै हुन्छन् ।
विद्यालय पनि यसबाट प्रभावित भएका छन् । चिसोसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढ्न थालेको छ । चिसोले दीर्घरोगी, रक्तचाप असन्तुलन भएका तथा बालबालिका र वृद्धवृद्धाको संख्या बढ्न थालेको हो । रुघाखोकी र ज्वरोका बिरामीलाई विशेष सावधानी अपनाउन डाक्टरले सल्लाह दिएका छन् ।
चिसोमा सकेसम्म घर बाहिर ननिस्कन र निस्कनुपर्दा न्यानो कपडा लगाउन उनीहरूको सुझाव छ । रुघाखोकी र ज्वरो एक दुई दिनमा ठीक नभए तुरुन्त जाँच गराउनुपर्छ । स्वास्थ्य जाँचमा ढिलाई भए निको हुन समय लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा। राजेन्द्र प्रसाद शाहको भनाइ छ । यस्तै, जाडोमा रोटा भाइरस पनि सक्रिय हुने हुँदा झाडापखालाको जोखिम पनि धेरै हुने शाहले बताए ।
पाल तथा शिविरमा बस्दै आएका भूकम्पपीडित बस्दै आएको बस्तीमा झाडापखालाको खतरा धेरै हुने उनको भनाइ छ । चिसोबाट जोगिन जाग्राम भूकम्प गएको ७ महिना बितिसक्दा अझै पनि सयौं भूकम्पपीडित खुला चौरमा पाल टाँगेरै बस्न बाध्य छन् । विनाशकारी भूकम्पपछिको वर्षायामलाई जसोतसो धानेका उनीहरूलाई यतिबेला चिसो कसरी कटाउने भन्ने पिरलो छ ।
अझ भारतले गरेको अघोषित नाकाबन्दीका कारण बजारमा ग्यासको चरम अभाव भएपछि भूकम्पपीडित थप समस्यामा परेका छन् । ‘ग्यास छैन, आगोमा खाना पकाउन पर्याप्त दाउरा छैन,’ एक पीडितले भने, ‘जसोतसो ज्यान जोगाउन झिटी दाउरा खोजेर रातभर जाग्राम बस्ने गरेका छौँ ।’
नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया