यस्तो होस् मेरो जीवनसाथी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७२, शनिबार ०८:३५

ketiमलाई प्रेम कहिले होला भन्ने आतुरता छैन । तर, यसको अर्थ यो होइन कि म अहिले कसैसँग प्रेम गर्ने पक्षमा छैन । यो सबै भाग्यको विषय हो । प्रेमबाट टाढा रहनु राम्रो हो भन्ने पनि मलाई लाग्दैन ।

मेरा ममीबुबाको आजभन्दा ३० वर्षपहिले लभ म्यारिज भएको थियो । विवाहले प्रेमलाई संस्थागत गर्छ, त्यसको गहिराइ अर्कै हुन्छ । बुबाआमाको ३० वर्षे वैवाहिक जीवनको उतार–चढाव मैले देखेकी छु । तर, दुवैजना एक–अर्कासँग हुनुहुन्छ, सधैँ साथ दिन तयार हुनुहुन्छ । यसले मेरो मनलाई पनि छुन्छ । त्यसैले कहिलेकाहीँ मेरो दिमागमा पनि प्रेमबारे भावनाहरू उठ्छन् ।

म कोही यस्तो युवकको कल्पना गर्छु, जो मेरो ख्याल राख्न सकोस् । मेरो त्यस्तो युवासँग मात्र प्रेम हुन सक्छ, जसले मलाई सधैँ खुसी राख्न सक्छ, समय–समयमा हँसाउन सक्छ र मेरो ‘केयर’ गर्न सक्छ । सँगैसँगै म मेरो कल्पनाको प्रेमीको उचाइ अग्लो होस् भन्ने पनि चाहन्छु । म सधैँ बुबाको आँखाको तारो भएर रहिरहेँ । उहाँले मलाई सधैँ माया र सम्मान दिनुभयो ।

मलाई जति सम्झना छ, ती सबैमा म उहाँको माया पाउँछु । प्रेम र स्नेह पाउँछु । त्यतिवेला म सानी थिएँ । मलाई पहिलोपटक स्कुलमा छोड्न बुबा जानुभएको थियो । मेरो कक्षा पाँचौँ तलामा रहेछ । उहाँले मलाई पहिलो तलाबाट बोकेर पाँचाँै तलामा पुर्‍याउनुभएको थियो ।

माथि पुगेपछि बल्ल थाहा भयो, खासमा नर्सरी सबैभन्दा तल्लो तलामा रहेछ । उहाँको अनुहारमा त्यतिवेला कुनै रिस देखिएको थिएन, खुसी थियो । फेरि मलाई बोकेर उहाँले पहिलो तलामा लैजानुभयो । आजसम्म पनि म उहाँको त्यो दिनको खुसी सम्झिन्छु ।

एउटी छोरीलाई जस्तो माया गर्नुपर्छ, त्यसमा बुबाले कुनै कमी हुन दिनुभएन । तर, अहिले समय फेरिएको छ । केही पहिले बुबालाई एकजनाले मलाई फिल्ममा कुरा गरिदिन अनुरोध गरेछन् । त्यसअघि नै मैले त्यो फिल्म नखेल्ने बताइसकेकी थिएँ ।

बुबाले मलाई फोन गरेर त्यही अनुरोध भन्नुभयो । मैले भनेँ, ‘बुबा यसरी सिफारिस गर्ने काम प्रोफेसनल भएन ।’ त्यतिवेला बुबाले केही भन्नुभएन । तर, त्यसको केही दिनमा भन्नुभयो, ‘हो, अब तिमी म्याचुअर्ड भइसकेकी छ्यौ । आफ्नो काम ह्यान्डल गर्न सक्ने ।’

मलाई पनि अहिले यस्तै लाग्छ । तर, बुबाले पहिलो दिन मलाई स्कुल छोड्न गएको त्यो दिन र अहिले उहाँले दिएको स्वतन्त्रताबारे दुवै बुझ्न सक्ने युवकसँग म विवाह गर्न चाहन्छु । विवाहअघि हामीबीच प्रेम होस् । त्यो प्रेमले कालान्तरसम्म सम्मान पाइरहोस् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१