मकालु एडभेन्चरका संचालकसमेत रहनुभएका वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालको संयोजन र स्विस नागरिकहरुको आर्थिक सहयोगमा तारुकास्थित आरुबोटे वडा न. ४ मा निर्माणधिन विपी स्मृति प्राथमिक विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी केही दिनभित्रै निर्माण कार्य सकिने एडभेन्चरका सञ्चालक लम्सालले जानकारी दिनुभयो ।
नागरिक वर्नहार्ट वुल्लर नेतृत्वको लगानीकर्ता स्वयं भवन निर्माणका लागि खटिरहेका छन् । भवन निर्माणको काम तिब्र गतिमा अगाडि बढिरहेको र छिट्टै नै निर्माण कार्यले अन्तिम रुप लिने विश्वास लम्सालले व्यक्त गर्नुभयो । विपी प्रावीको निर्माण सम्पन्न भएलगत्तै भूकम्पको पूर्ण क्षति व्यहोरेका तारुकाकै वडा न. ५ को श्री नमूना जनजागृति प्रावी र वडा न. ८ स्थित हस्तीकेसर प्रावीको पनि यसलगत्तै चरणवद्व रुपमा निर्माण कार्य गरिने भएको छ । यसैबीच शुक्रबार मोहन लम्सालको नेतृत्वमा गएको स्विस नागरिकहरुको टोलीले तारुकामै हस्पिटल र खानेपानी आयोजना सुरु गर्नेबारे अध्ययन÷अवलोकन गरेको छ ।
तारुकाबासीको बाजागाजा र सांस्कृतिक झाँकीसहितको भव्य स्वागतका माझ स्विस नागरिक बर्नहार्ट बुल्लरले सो ठाउँमा लामो समयदेखि खानेपानीको अभाव खट्किएको भन्दै आफूले खानेपानी परियोजना अगाडि बढाउने आवश्वासन दिनुभयो । त्यस्तै जनताको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बुल्लरले एक हस्पिटल खोल्ने प्रतिवद्वता पनि जाहेर गर्नुभयो । त्यस्तै बुल्लरकै सहयोगमा आरुबोटे गाउँदेखि कोलडाँडा गाउँसम्मको सडक मर्मत गरिने भएको छ ।
तारुकाका स्थानियबासीसमेत रहनुभएका गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारी र मोहन लम्सालले तारुकाको स्थानिय समस्याबारे बताएपछि बुल्लरले यस्तो यस्तो आश्वासन दिनुभएको हो ।
राजधानीबाट नजिक रहेर पनि विकासका दृष्टिकोणले तारुका बत्तीमुनीको अँध्यारो भएको र उक्त क्षेत्रले लामो समयदेखि खानेपानी, स्वास्थ्योपचार, विद्यालयलगायतका समस्या झेलिरहेको तथा पछिल्लो समय भूकम्पबाट तारुकाका सम्पूर्ण विद्यालयहरु ध्वस्त भएको परिस्थितिमा विद्यालयको पुननिर्माणका लागि आवश्यक पहल गरिदिन आफूले सामाजिक व्यत्तित्व मोहन लम्साललाई आग्रह गरेको अधिकारीले बताउनुभयो । आफ्नो आग्रहलाई सहज ग्रहण गर्दै सहयोग गरेकोमा तारुकाबासीले लम्साललाई मानवताको प्रतिमुर्तिको रुपमा चित्रण गरेको अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया