जिविसको ‘सर्टलिष्ट’बाट असन्तुष्टद्वारा अख्तियारमा उजुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार १०:४६

111226075955620नवीन लोचनमगर/रोल्पा, ७  मंसिर ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको दोस्रो कार्यक्रमका लागि विभिन्न पदहरुमा लिइएको आवेदनमा पहिलो चरणको नामावली प्रकाशनमा पक्षपात भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्ला विकास समिति रोल्पा अन्तर्गत सञ्चालित उक्त कार्यक्रमको दोस्रो चरणको लागि लिइएको आवेदनमा नामलिष्ट छनौट गर्दा पक्षपात गरिएको, शक्तिकेन्द्रको दवावमा परेको, घुस खाएको लगायतका आरोप उजुरीकर्ताहरुले लगाएका छन् । आवेदन दिएका तर नाम ननिस्किएका १३ जनाको संयुक्त हस्ताक्षरसहित अख्तियार अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय सुर्खेतमा छानविनको माग गर्दै उजुरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला विकास समितिको कार्यालय रोल्पालाई बोधार्थ गरिएको उक्त उजुरीपत्रमा अनुभव नै नपुगेका, नक्कली कागजात पेश गरेकालाई छनौटमा पारेको आरोप लगाउँदै सार्वजनिक गरिएको उक्त लिष्ट रद्धगरी लोकसेवाको प्रक्रिया अनुसार फेरि छनौट गर्न माग गरिएको छ ।

उता छनौट समितिका संयोजक एवं जिविस रोल्पाका सूचना अधिकृत रामकुमार न्यौपानेले आफ्नो नजिता असफल भएपछि असन्तुष्टि र दुखी हुनु स्वभाविक भएको भन्दै आफूहरुले मापदण्डकै आधारमा छनौट गरेको दाबी गर्नुभयो । निष्पक्ष रुपमा निवेदकहरुको कागजात र अनुभवको आधारमा छनौट गरिएको भन्दै न्यौपानेले निवेदकहरुको उजुरीको आधारमा अख्तियारले पनि छानबिन गरेको खण्डमा प्रष्टै हुने बताउनुभयो ।

पहिलो चरणको नजितामा एक सय आठ जना निवेदक मध्ये १८ जनाको नाम प्रकाशित भएको छ । लामो समयसम्म विभिन्न कारण देखाउँदै सर्टलिस्ट सार्वजनिक गर्न नसकेको यस कार्यक्रमका लािग छनौट समिति नै पटकपटक गठन गर्नु परेको थियो । विभिन्न समस्या देखाउँदै नजिता सार्वजनिको समय बारम्बार सार्दै आइरहेका बेला लामो समयपछि सार्वजनिक गरिएको नजिता पनि विवादित बन्न पुगेको हो ।

प्रतिक्रिया