ईश्वर पोखरेलले भने- एम्बुलेन्समा तोडफोड गर्नेलाई प्रहरीले गोली हानेर मार्नुपर्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७२, सोमबार ०६:२४

राजदूत दिपकुमार उपाध्यायले प्रभावकारी रुपमा कुटनीतिक पहल नगरेको आरोप

काठमाडौँ ,७ मङ्सिर । सत्तारुढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले विरामी बोकेको एम्बुलेन्समा तोडफोड गर्नेलाई प्रहरीले गोली हानेर मार्नुपर्ने बताएका छन्।

एमाले महासचिव पोखरेलले आइतबार पार्टीको भातृ संगठन युवा संघ नेपालले काठमाडौमा गरेको कार्यक्रममा एम्बुलेन्समाथि तोडफोड र आगजनी गर्नेहरु अपराधी भएको भन्दै प्रहरीले अपराधीलाई गोली हानेर मार्नुपर्ने बताएका हुन्।

उनले मानवअधिकारकर्मीहरु समेतको उपस्थिति रहेको कार्यक्रममा विराटनगर र इटहरीमा एम्बुलेन्स तोडफोडमा संलग्न आन्दोलनकारीमाथि गोली प्रहार नगरिएकामा असन्तुष्टि समेत जनाए। पोखरेलले आन्दोलनकारीका आपराधिक गतिविधिलाई प्रहरीले तमासाको रुपमा लिएको आरोप समेत लगाए।

पोखरेलले भारतको अघोषित नाकाबन्दी अन्त्यका लागि भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले प्रभावकारी रुपमा कुटनीतिक पहल नगरेको आरोप पनि लगाए। उनले राजनीतिक तहमा भेटवार्ता गर्नुको साटो राजदूत उपाध्याय भारतीय विदेश मन्त्रालयका सी र डी क्लासका कर्मचारीसँगको भेटमा सीमित बनेको र त्यहि कारण नाकाबन्दी अन्त्य नभएको बताए।

पोखरेलले मधेशवादी दलहरुले आन्दोलन गरेका भरमा तत्काल प्रदेशको सीमांकन हेरफेर नगरिने दाबी गरे। उनले प्रदेशको सीमांकन जग्गा प्लटिङ गरेजस्तो विषय नभएको भन्दै सीमांकन हेरफेरका विषयमा पर्याप्त छलफल गरिनुपर्ने बताए।

उनले सीमांकन हेरफेर, समानुपातिक प्रतिनिधित्व, निर्वाचन क्षेत्र निर्धारण लगायतका विषयमा एमालेले देशव्यापी रुपमा भेला र प्रशिक्षण गरेर आमजनतालाई आफ्ना धारणा अवगत गराउने पनि बताए।

कार्यक्रममा सहभागी मानवअधिकारकर्मीहरुले भारतीय नाकाबन्दी र मधेशवादी दलको आन्दोलन टुंग्याउनका लागि प्रभावकारी कदम नचालेको भन्दै सरकारको आलोचना गरे । अधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, प्रदिप पोखरेल, शान्ति अधिकारी लगायतले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न तथा कालोबजारी नियन्त्रणका लागि सक्रियता बढाउन सरकारसँग आग्रह गरेका थिए। सेतोपाटीबाट

प्रतिक्रिया