आज हरिबोधिनी एकादशी पर्व मनाइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ मंसिर २०७२, आईतवार ०८:१८

aaaaकाठमाडौँ ,६ मङ्सिर । आज हिन्दू धर्मावलम्बीहरू भगवान विष्णुको पूजा–अर्चना र व्रत अनुष्ठान गरी हरिबोधिनी एकादशी मनाइदैछ ।

असार शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेषरूपले पूजा गरी आज विवाह गरिदिने चलन छ । हरिवोधनी एकादशीको अवसरमा काठमाडौंको शेषनारायण, कालीगण्डकी सेतीवेणी, खोटाङ बराहक्षेत्र लगायत ठाउँमा मेला लागेको छ ।

कालीगण्डकी र मोदीखोलाको संगम पर्वतको मोदीवेणी घाट, पाल्पा, गुल्मी र स्याङ्जाको साझा स्थानमा रहेको नेपालको वनारस भनेर चिनिने रूरू क्षेत्र, राम्दी, कालीगण्डकी र सेती खोलाको संगम तथा विश्वकै सबैभन्दा ठूलो शालिग्राम रहेको सेतीवेणीमा स्नान गर्नेहरुको बिहानै देखि घुइचो लागेको छ । त्यस्तै गुल्मीको रेसङ्गामा पनि आज ठूलो मेला लागेको छ ।

हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो। त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ। भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन्।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता अनुसार चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार मुहूर्त निस्कँदैन। चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ। कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष० लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ।

चार महिनाअघि अर्थात् आषाढशुक्ल एकादशीको दिन ९चतुर्मासको आरम्भमा ० आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न०को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ।

हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन्। हरिशयनी एकादशी ९असार शुक्ल एकादशी० का दिन आ(आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन्। तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्टस्थान ओगटेको छ। चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ। यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्वका छन्। यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा(वान्ता पनि रोक्ने कार्य गर्दछ। मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ।

प्रतिक्रिया