मानिस धनले होइन, मनले दरिद्र हुन्छ भन्ने लोकोक्ति यतिखेर निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको सरकारप्रदत्त आवासमा पुग्दा चरितार्थ भएको सबैले अनुभव गर्न सक्छन् । कान्तिपुर टेलिभिजनमा तत्काल निवर्तमान भएका राष्ट्रपति आवासको सदृश्य विवरण हेरेको यो पंक्तिकार त्यसको पाँच दिनपछि त्यहाँ पुग्दा यो राष्ट्रको र हाम्रो राज्य संयन्त्रमा रहेको दारिद्रयको अनुहार आश्चर्यबोधका साथ सजीव देख्न पायो ।
असोज तीन गते जारी संविधानअनुसार एक हप्ताभित्र प्रधानमन्त्रीको र एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन हुने स्पष्ट थियो । एक महिनापछि लगत्तै आवास परिवर्तन गर्नुपर्ने तत्कालीन राष्ट्रपतिका लागि तत्कालीन सरकारको चासो र करिब तीन हप्ता पहिले निर्वाचित भएको नयाँ सरकारको ध्यान नजानु आफैमा आश्चर्यको विषय हो ।
धेरै नेपालीहरू गरिब छन्, भूकम्पपछि धेरै नेपालीहरू पालमुनि बसिरहेका छन् र कतिपयको बास सडकमा नै छ, कतिपय मानिस गाउँमा पाखापखेराहरूमा कष्टकर जीवन बिताइरहेका छन् र तराई मधेसका अधिकांश घरहरू खर—खपटाको पीडा भोगिरहेका छन् भन्ने सिद्धान्तका आधारमा हेर्दा अहिले डा. यादवलाई राखिएको त्यो घर नभएर महल भन्न नसकिने होइन ।
सबै नेपालीले आवास सुविधा नपाएको वर्तमानमा उच्च ओहदाधारी पदाधिकारीहरू वा पूर्वपदाधिकारीहरू र त्यसमा पनि कुनै विशिष्ट पदाधिकारीलाई आवास सुविधा दिनु नै गलत भएको मान्नुपर्ने हुन्छ । तर सभ्यताको अग्रगामी चिन्तनका साथ बढेको, परिवर्तन र आधुनिक सुविधाको रहर निरन्तर बढ्दै गएको र प्रचलित परम्परा तथा विदेशमा प्रयुक्त व्यवहारका आधारमा राष्ट्रको विशिष्ट व्यक्तिलाई राज्यले सम्मानका साथ सुरक्षा र निश्चित केही न केही सुविधा र सहुलियत दिएको हुन्छ ।
नेपालमा पूर्वराजा ज्ञानेन्द्र समेतले पूर्व राष्ट्रप्रमुखको हैसियतमा राज्यको सुविधा र सुरक्षा पाइरहेको अवस्था छ । छिमेकी भारतकै सन्दर्भमा पनि अवकाशप्राप्त राष्ट्रपतिलाई आवास सुविधा, सुरक्षा र जीवनभत्ता प्रदान गरिनेमात्र होइन, पार्थिव अवशान भएका अवस्थामा उनको पति वा पत्नीले समेत आजीवन त्यो सुविधा पाउने प्रचलन छ ।
नेपालको पहिलो गणतन्त्रको राष्ट्रपति त्यसमा पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने र राष्ट्रमा राष्ट्रियताको, राष्ट्रिय एकताको, समुदायबीच
सद्भावको र चुरे संरक्षणको अभियन्ताका रूपमा छवि बनाइसकेका डा. यादवलाई राष्ट्रले हरप्रकारले सम्मान गर्नु सभ्यताको पहिचान हुने थियो ।
तर ०३१ सालका सहिदहरूको सालिक सामुन्नेको भित्तामा उहाँलाई जसरी थन्क्याउने काम भएको छ, त्यो दृश्य हेर्दा जसकसैले पनि शिर निहुराउनुपर्ने अवस्था छ । डा. यादवको निवास प्रवेश गर्नुअघि मैले मेरो जिल्ला ओखलढुंगाका ती होनहार युवा अग्रजहरूको सालिकलाई मनमनै सम्मानका साथ नमन गर्न पुगें । लीला, ठगी, खगेन्द्र र गोकर्णलाई ०३१ असोज १३ गते जेल सार्ने निहुँ पारी नख्खुको त्यस उकालोको नजिक गोली हानी हत्या गरिएको थियो
ती सहिदहरू राजनीतिक परिवर्तनका लागिमात्र होइन, लोकतान्त्रिक आचरण, लोकतान्त्रिक संस्कृति र सभ्यता सहितको समाज परिवर्तनका लागि बलिदान भएका थिए । उनीहरू र उनीहरू जस्तैको बलिदानको जगमा उभिएको आजको परिवर्तनले राज्य संयन्त्र, राजनीतिक नेतृत्वमा विवेकपूर्ण संस्कार दिनसकेको छैन भन्ने तथ्य उक्त आवास पुग्दा पर्याप्त अनुभव गर्न सकिन्छ ।
एउटा गाडी बल्लतल्ल छिर्ने गल्ली, दुइटा गाडीभन्दा बढी पार्किङ गर्न नमिल्ने कम्पाउन्ड, घरबाहिर रंग घस्दै गरेका कर्मीहरू, वायरिङमा व्यस्त बिजुली कामदारहरू, कार्पेट काट्दै र जोड्दै गरिरहेका कर्मीहरू, नयाँ पालले छोपिएको, बन्दै गरेको र गल्तीले खुट्टा चिप्लएमा सिधै तल टाउको फुट्ने बार विनाको पर्खाल, रातभरि बिजुली नआएपछि चारैतिर उज्यालोका लागि बालिएका मैनबत्तीका अवशेष, चिसो भुइँमा खुट्टा जोडेर खाली बार्दलीमा आगन्तुकहरूलाई हँसिलो अनुहारमा भेट्दै गरेका तत्कालीन राष्ट्रपति यादव, त्यस घरमा मैले यस्तै देखेँ ।
पूर्व राष्ट्रपतिका सहयोगी सञ्जय भन्दै थिए, ‘यो घरमा मिटर जडान गर्नसमेत नपाइने रहेछ । सधैं तातो पानीले नुहाउँदै आउनुभएका राष्ट्रपतिलाई तातो पानी उमालेर दिन बिजुलीसमेत छैन । हिजो रातभरि मैनबत्ती बालेर राख्यौं । बिजुली नभएर मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न र रेडियो सुन्नसमेत पाइएको छैन ।’ क्षण—प्रतिक्षण राजनीतिक परिवर्तन र घटनाहरूको ताँती भइरहेको यो उत्तर संक्रमणकालबारे सूचना पाउन बिहान प्रकाशित हुने समाचारका पृष्ठमा मात्र निर्भर हुन बाध्य रहेछन्, निवर्तमान राष्ट्रपति ।
उनका अनेक अनुभवहरू होलान्, राज्य सञ्चालनमा बसेकाहरूसँग विचार आदान—प्रदान गर्नुपर्ने होला र अरुका विचारसमेत बुझ्नुपर्ने होला । तर उनीसँग मध्ययुगीन शैलीको उपायबाहेक यस्ता विचार सम्प्रेषण गर्ने र अवस्थाबोध गर्ने अरु केही छैन । तैनाथ सुरक्षाकर्मीहरूको बसाइ त अझ कहालिलाग्दो छ । चिसो मौसम सुरु भए पनि नांगो ठाउँमा बस्नुपर्दाको पीडा बुझ्ने अवस्थै देखिँदैन ।
योभन्दा पनि देशको मूल कानुन जारी गरेर पदीय जिम्मेदारी पुरा गरी बाहिरिएका डा. यादव बसेको घर कानुनत: अवैध रहेको सुन्दा अझ आश्चर्य हुन्छ ।
बिजुलीको हाइटेन्सन लाइनमुनि घर निर्माण गर्न नपाइने भएको हुनाले यो घरको सबै नक्सापास हुन नसकेको र बिजुलीको मिटर जोड्न नमिल्ने जानकारी विद्युतका कर्मचारीहरूले दिएको सुन्दा देशको कानुन लगाउने निकायदेखि समाजको अनुहार पनि प्रकट हुन्छ । डा. यादव धनुषाको आफ्नै निवास जान पनि सक्छन् । तर पहिलो संविधान जारी भएपछि उत्पन्न राजनीतिक अवस्थाका कारण उनलाई केही असजिलो भएको हुनुपर्छ ।
संविधान जारी गर्नुअघि उहाँले बारम्बार सबैलाई सहमति र विश्वासमा लिन गर्नुभएको आग्रह र यसै आग्रहलाई समातेर आफ्नो कठोर प्रतिक्रिया जनाउने राजनीतिक खेतीका कारण अहिले तुरुन्त गाउँ जाने स्थिति देखिँदैन ।
त्यसमा पनि राष्ट्रपति पदको मर्यादा, देखिने सुरक्षा समस्या र भोलिका दिनमा बसाल्नुपर्ने परम्परा तथा देशी—विदेशी व्यक्तिहरूसँगका सम्वाद, भेट, राष्ट्रलाई आवश्यकता अनुरुप दिनुपर्ने सल्लाह, सुझाव र सहयोग सबैका आधारमा तत्काल विगतका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूले देशको राजधानी बाहिर रहने अवस्था दुष्कर हुनसक्छ ।
डा. यादवले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि आरम्भ गराएको चुरे संरक्षणको अभियानलाई पनि मूर्तरूप दिनु आवश्यक छ । यो काम उनकै पहलमा र चासोमा निरन्तर रहनुपर्ने अवस्था छ ।
एउटा विशेष राजनीतिक संयोग छ, जसलाई स्मरण गर्नु उपयुक्त हुनेछ । २०६५ सालमा डा. यादव राष्ट्रपति चयन हुँदा प्रखर साम्यवादी पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकार थियो भने अहिले पनि विश्वास र व्यवहार परिवर्तन गरेका तर विगतमा प्रखर साम्यवादका अनुयायी केपी ओली नेतृत्वको गठबन्धन सरकार छ ।
राष्ट्रपति निर्वाचित भएपछि त्यसबेला चक्रपथ बाहिरको एउटा कुनामा डा. यादवलाई थन्काइएको थियो भने अहिले राष्ट्रपति भवनवाट बाहिरिँदा त्यसरी नै चक्रपथ बाहिरको भित्तामा थन्क्याउने काम भएको छ । राष्ट्रपति पदको गरिमा, त्यसको मर्यादा र भोलिका दिनमा स्थापित गर्नुपर्ने परम्परा कस्तो हुने भनेर यसैकारण बहस चलाउनु अनिवार्य भएको छ ।
डा. यादव दुईछाक खान धौधौ पर्ने र राज्यले उहाँका लागि अतिरिक्त बोझ थप्नुपर्ने परिवारको सदस्य होइन भन्ने सबैलाई थाहा छ । उनले इच्छा गरेमा तुरुन्त आफ्नो धनुषाधाममा पुगेर जीवनका बाँकी दिनहरू कटाउन सक्छन् उनी । तर राष्ट्रपतिका रूपमा उनले पुर्याएको योगदान ओझेलमा पर्नेमात्र होइन, उनका अनुभवहरूबाट फाइदा लिन राष्ट्रले सहज रूपमा सक्दैन । यसै पनि डा. यादवको उमेर अझै निष्क्रिय र आराम गर्नैपर्ने अवस्थामा पुगेको छैन ।
यो पटक जसरी राष्ट्रपतिको आवासका लागि कुनै तयारी भएन, त्यसरी नै भोलिका दिनमा पनि समस्याहरू आउन सक्छन् । कमसेकम उपयुक्त स्थानमा पूर्व राष्ट्रपतिहरूका लागि आवास क्षेत्र निर्माण गरी आवश्यक भौतिक सुविधा सहितको सुरक्षा व्यवस्था एकमुष्ट रूपमा गर्ने सोच बनाउनसके उपयुक्त हुने थियो ।
प्रतिक्रिया