वन्यजन्तु तस्करीमा विश्वका निकुञ्ज र सरकारी अधिकारीको डरलाग्दो साँठगाँठ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ मंसिर २०७२, बुधबार १६:००

मिसेल मायर

वन्यजन्तु तस्करीमा विश्वका निकुञ्ज र सरकारी अधिकारीको  डरलाग्दो साँठगाँठ

हनोईको एउटा सर्वाधिक महङ्गो रेस्टुराँमा भियतनामी व्यापारीहरुको एउटा समूह आफ्ना अमेरिकी नयाँ साझेदारसँग उत्सव मनाउन भेला भएका छन् । “टोस्ट” कसैले प्रस्ताव गर्दछ । उनीहरु आ–आफ्ना महङ्गो स्कचले भरिएका ग्लास उठाउँछन्, र त्यहाँ असाध्यै राम्रो पाउडर छरिएको हुन्छ । त्यो सुनको पाउडर होइन, न त शुद्ध कोकिन नै हो । यो विरलै पाइन्छ र निकै महङ्गो पनि हुन्छः यो सेतो गैंडाको खाग (सिङ) को पाउडर हो ।

पचास वर्षअघि अफ्रिकामा सेतो गैंडाको सङ्ख्या ठूलो थियो । आज, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण युनियनको अनुमान अनुसार अफ्रिकामा करिब २५,००० त्यस्ता गैंडा बाँकी छन् । यी गैंडामध्ये अधिकांश दक्षिण अफ्रिकामा र केही नामिबिया र केन्यामा छन् । त्यस्तै, अफ्रिकाको सर्वाधिक चर्चित जनावर हात्तीको संख्यामा पनि तिव्र गिरावट आइरहेको छ । पचास वर्षअघि करिब १ देखि २ करोडको संख्यामा रहेका हात्तीको संख्या आज करिब ४७०,००० मात्र छ ।

यी तीव्र गिरावटको मुख्य कारण भनेकै अवैध चोरी शिकार हो । तर, मूल कारण भने एसियाका तिनै व्यावसायिक मानिसहरु हुन् । ती यस्तै मानिसको मागका कारण हो जसले एसियाली बजारमा प्रति पाउन्ड करिब १,५०० अमेरिकी डलरमा हात्तीको दारा किन्छन् । गैंडाको खागको भने ४५,००० वा सोभन्दा बढी अमेरिकी डलर मूल्य पर्दछ । यही चर्को मूल्यका कारण यो बर्सेनि २० अर्ब डलर बराबरको व्यवसायका रुपमा परिणत भएको छ । धेरै अफ्रिकी मुलुकहरुको राजनीतिक नेतृत्वमा समेत यसले प्रभाव पारिरहेको छ ।

विश्व वन्यजन्तु कोषको अनुमानमा करिब ४०० टन हात्तीको दाँत सन् २०१३ मा तस्करी भएको थियो, जसका लागि करिब ५०,००० हात्ती मारिएको थियो । सम्पूर्ण सेन्ट्रल अफ्रिकामा आज करिब ५०,००० हात्ती मात्र बाँकी छन् । पूर्वी अफ्रिकी मुलुक तान्जानीयामा सन् २००९ देखि २०१४ को अवधिमा हात्तीको संख्यामा पनि दुई तिहाईले कमी आएको छ । मोजाम्बीकमा पनि हात्तीको संख्यामा ४०% ले कमी आएको छ । मोजाम्बीकमा यसअघि पाइने सेतो गैंडा सम्पूर्ण रुपमा समाप्त भइसकेको छ ।

संरक्षणविद्हरुले वर्षौंदेखि अफ्रिकी जीवजन्तुका बारेमा आवाज उठाइआएका छन् । तर, अवैध सिकार उद्योगमा कमी आएन, र त्यो अझ मौलाउँदै गयो । स्थानीय आदिवासीको धनुवाण जस्ता परम्परागत विधि होइन, एके–४७, विद्युतीय ट्राकिङ र कहिलेकाहिँ हेलिकप्टरको समेत प्रयोग गरी अपराधीहरुले वन्यजन्तुको शिकार गरेका छन् । उद्योगकै स्वरुप धारण गरेको यी वन्यजन्तुको विनासमा राष्ट्रिय निकुञ्जका पदाधिकारी र सरकारी अधिकारीहरुको साँठगाँठ छ ।

यो आङ्कडाले परिवर्तनलाई भने स्पष्टै रुपमा चित्रण गरेको छ । सेभ द राइनो इन्टरनेसनलको प्रतिवेदनमा दक्षिण अफ्रिकामा अवैध शिकारीले गत वर्ष १,२१५ वटा (प्रत्येक आठ मिनेटमा एक वटा) गैंडा मारेका थिए र यो दर सन् २००७ मा १३ थियो । यो संस्थाको अनुमानमा, यही दरमा वन्यजस्तु मारिए अर्को वर्षभित्र जन्मभन्दा मारिनेको संख्या बढी हुनेछ । यसको अर्थ हो, दक्षिण अफ्रिकी गैंडाको विनास अवश्यम्भावी छ र त्यो चाँडै हुनेछ ।

अवैध शिकारलाई सैन्यकृत गरिँदा जीवजन्तु जोगाउने संरक्षणवादी समूहको प्रयासमा तीव्र कठिनाइ उत्पन्न भइरहेको छ । उदाहरणका लागि, केन्याको ओल पेजेटा निकुञ्जमा रहेका १३३ वटा गैंडा तस्करबाट जोगाउन त्यहाँ चौबीसै घण्टा सशस्त्र पहरा दिनु परिरहेको छ ।

तर आशाका केही किरणहरु पनि यहाँ छन् । गत महिना, चिनीया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति बाराक ओबामाले हात्ती र गैंडाको खाग तस्करीलाई पूर्णरुपमा निषेध गर्नेगरी सहमति जनाएका छन् । त्यो सहमतिको रातारात कार्यान्वयनमा समस्या होला, तर यो महत्वपूर्ण प्रगति हो किनभने चीन नै विश्वको सर्वाधिक ठूलो आखेटो उपभोगकर्ता मुलुक हो ।

स्थानीय तहमा पनि उल्लेखनीय प्रगति भएको छ । केन्यामा, गत वर्ष मात्र गैंडाको तस्करीमा झण्डै आधाले कमी आएको छ, र यहाँका १,०२४ गैंडामध्ये ३४ वटा मात्र मारिएका छन् । यो वर्षको पहिलो ९ महिनामा तस्करहरुले झण्डै ६ वटा गैंडा मारेका छन् । हात्ती मारिने क्रममा पनि कमी आएको छ । सन् २०१३ मा मरेका हात्तीमध्ये करिब ६०% वन्यजन्तु तस्करले मारेका थिए । यो वर्ष, करिब एक तिहाईमा आइपुगेको छ, र यो उल्लेखनीय सुधार हो ।

केन्यामा, यो प्रगतिलाई पर्यटनसँग व्याख्या गरेर हेर्नुपर्ने हुन्छ । गत दुई वर्षमा केन्यामा छाएको सुरक्षा त्रासले सर्वत्र नराम्रो असर पारेको छ । ओल पेजेटाका कार्यकारी अधिकृत रिचार्ड भिग्नेको भनाइमा सरकार असमञ्जसमा छ, खासगरी निकुञ्जको प्रमुखको नियुक्तिका सन्दर्भमा ।

केन्यामा भएको अर्को महत्वपूर्ण प्रगति स्थानीय तहमा आएको रणनीतिक बदलाब हो । मुलुकका धेरै निजी संरक्षण संस्थाहरुले विगतको रक्षा कवचको मानसिकता त्यागेका छन् । नयाँ व्यवस्थाले जंगल क्षेत्रमा मानव घुसपैठलाई निषेध गर्दछ, र यो सामुदायिक विधिअनुसार चल्दछ । उदाहरणका लागि, ओल पेजेटाले सुख्खा मौसममा निकुञ्ज छेउछाउ मात्र गाईवस्तु चराउन अनुमति दिन्छ । यसको बदलामा, पशुपालक किसान र समुदायले अवैध शिकारीहरुका बारेमा निकुञ्ज प्रशासनलाई अनिवार्य रुपमा जानकारी दिनु पर्दछ ।

यो नवीन विधिले राम्रो नतिजा ल्याएको छ । ओल पेजेटामा वर्षौंदेखि एउटा पनि हात्ती मारिएको छैन, र थोरै संख्यामा मात्र गैंडा मारिएका छन् ।

अन्तर्राष्ट्रिय, राष्ट्रिय र सामुदायिक तहका कार्यमा अहिले राम्रो स्थिति छ । तर यदि अफ्रिकी गैंडा र हात्तीको दिर्घकालीन रुपमा बचावट गर्नु परे वैयक्तिक तहमा पनि विशेष प्रयास गरिनु आवश्यक छ । मानिसहरु, खासगरी धनाढ्य एसियालीहरु, वा उनीहरुका पश्चिमा साझेदारहरुले वन्यजन्तुको तस्करीका सामान खरिद गर्नु हुन्न, र उनीहरुले त्यस्ता सामान कसैले दिइहाले अस्वीकृत गर्न सक्नु पर्दछ ।

(मिसेल मायर नैरोबीस्थित आगा खाँ विश्वविद्यालयको आमसञ्चार स्कुलका डिन हुनुहुन्छ ।) 
(प्रोजेक्ट सिन्डीकेट÷रासस । अनुवादः सोमनाथ लामिछाने) 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१