छठ पर्वका लागि सजावट र झकिझकाउ पारिँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७२, आईतवार ०४:३९

खजवीरगन्ज, २९  कात्तिक ।
नजिकिँदोे छठ पर्व भब्यताकासाथ मनाउनका लागि औद्योगिक एवम् व्यापारिक नगरी वीरगन्जका स्थानीय युवाले जलाशयको सरसफाइ तथा सजावटमा व्यस्त देखिएका छन् ।

उनीहरुले वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी, सिर्सिया नदी, नगवा, छपकैया र पिप्रालगायतका पोखरी एवम् जलाशयको सरसफाइ तथा सजावटमा लागिपरेका छन् । ती पोखरी, नदी तथा तलाउलाई उनीहरुले दुलही झैँ शृङ्गारिन लागिपरेका छन् ।

छठ पर्वलाई हर्षोल्लासका साथ मनाउन स्थानीय घडीअर्वा पोखरी परिसरमा अहिले पन्डाल निर्माणको कार्य द्रुतगतिमा भइरहेको छ । पन्डाल निर्माणका लागिमात्र लाखौँ रुपैया“ खर्च गरिएको छ । व्रतालुको स्वागतका लागि घडीअर्वा पोखरी नजिकै ठूलाठूला स्वागतद्वार र सूचना घरकोे निर्माण गरिएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ । सुरक्षाका लागि पर्याप्तमात्रामा स्वयम्सेवक खटाइने व्यवस्था मिलाइएको छ भने भक्तिमय गीत सङ्गीतका लागि ठाउ“ठाउ“मा माइकहरु जडान गरिएको छ ।

त्यस्तै छठ पूजा स्थलमा प्रकाश र खानेपानीको पर्याप्त व्यवस्था मिलाइएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको पहिचानका रुपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । रासस

प्रतिक्रिया