अभिनेत्री पूजना प्रधान जो क्यासिनोमा नाच्दानाच्दै यसरी बनिन् नायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ कार्तिक २०७२, आईतवार ०७:२३

सामान्य परिवारकी छोरी हुँ । मेरो बुवाको घर लमजुङ र मावली सिलिगुडी हो । बुवा गुरुङ र आमा प्रधान । सानैदेखि आमासँग बसेकाले मैले आफ्नो थर प्रधान लेखेकी हुँ ।
मेरा बुवाआमाले मागिविवाह गर्नुभएको हो । पछि बुवाले दोस्रो बिहे गर्नुभयो । जतिबेला म पाँच वर्षकी थिएँ । त्यसपछि मेरी आमा बुवासँग छुट्टिएर बस्न थाल्नुभयो, काठमाडौंमा । हामी छोराछोरी पनि आमासँगै बस्न थाल्यौँ ।
बुवाले ठेक्कापट्टाको काम गर्नुहुन्थ्यो । बुवा सिलिगुडी घुम्न जाँदा आमासँग भेट भएछ र मागिविवाह गर्नुभयो । र, आमालाई काठमाडौं ल्याउनुभयो । हामी काठमाडौंमै जन्मिएका हौँ ।
हामी तीन सन्तान छौँ– दाइ, म र बहिनी । दाइ दर्पण गुरुङ पहिले रोजगारीका सिलसिलामा कतार जानुभयो । अहिले नेपालीमै होटल व्यवसायी हुनुहुन्छ । बहिनी इशु गुरुङ ब्युटिसियन हो, जागिरका लागि अहिले बहराइनमा छ ।
बुवासँग छुट्टिएपछि आमाले पढाउन थाल्नुभयो, भ्याली भ्यु बोर्डिङ स्कुलमा, यो स्कुल बानेश्वरमा थियो । आमाले दार्जिलिङबाट एसएलसी पास गर्नुभएको छ । उहाँको इंग्लिस राम्रो छ । आमा बिरामी भएर पढाउन नसक्ने भएपछि मैले रेस्टुरेन्टमा नाच्न थालेकी हुँ । आमाको ब्लड प्रेसर हाई छ, एकदिन बाटोमै लड्नुभएछ । त्यसपछि दाइ र मैले आमालाई काम गर्न दिएनौँ ।
लैनचौरकी सिगानी

pujanapardhanसानैदेखि मलाई डान्स गर्न मन पथ्र्यो, मन लाग्थ्यो । देउसी–भैलोमा नाच्थें । कसैले नाच भनिरहनुपर्दैनथ्यो । क्यासेट बज्यो कि नाच्न पुगिहाल्थें । कसैको घरमा नाच्ने खालको गीत बज्यो भने म आँगनमा गएर नाच्थें । मलाई सम्झना भएसम्म मेरो बालपनको स्वभाव यस्तै थियो ।
म सानैदेखि काठमाडौं लैनचौरमा बसेकी हुँ । अहिले पनि लैनचौरमा गएर मेरो बालपनबारे सोध्नुभयो भने केही अलि पुराना मान्छेबाट जवाफ आउनेछ, ‘त्यो ‘सिगानी’लाई म पनि चिन्छु, त्यो सिगानी पनि हिरोइन भइछ ।’ यसको मतलब राम्रोसँग सिगान पुछ्ने नहुँदै म त्यो टोलमा नाच्दै हिँड्थेँ ।
टोल छिमेकमा मैले एउटी नाच्ने ‘फुच्ची’ को परिचय बनाएकी थिएँ । नजिकै कतै नाच्ने कार्यक्रम भयो कि मेरै नाम अघि आउँथ्यो । सबैले ‘पूजालाई नचाउनुपर्छ’ भन्नुहुन्थ्यो । त्यति बेला मलाई सबैले पूजा भन्थे । पछि मैले पूजना लेख्न थालेकी हुँ ।

रेस्टुरेन्ट र क्यासिनोमा नाचेँ
धर्म गुरुङ भन्ने हुनुहुन्थ्यो, हाम्रो छिमेकी । उहाँको दम्पतीले नै डान्स सिकाउनुहुन्थ्यो । उहाँहरुको शिवशक्ति डान्स सेन्टर थियो, पुतलीसडकमा । उहाँहरुलाई मैले नाच्छु भन्ने राम्रोसँग थाहा थियो । एकचोटि उहाँहरुले एउटा सांस्कृतिक कार्यक्रम गर्नुभएको थियो, प्रज्ञा भवनमा । त्यसमा मैले पनि नाच्नुपर्ने भयो । त्यतिबेला मैले ‘जाउँजाउँ रेलैमा’ बोलको गीतमा नाचेकी थिएँ ।
०५६ सालतिरको कुरा हो । कुपन्डोलमा मितेरी रेस्टुरेन्ट थियो । त्यहाँ नाच्नका लागि एउटा कल्चरल ग्रुप चाहिएको रहेछ । कुरा धर्मदाइसम्म आएछ । धर्मदाइले मलाई पनि ग्रुपमा सहभागी गराउनुभयो । आमा बिरामी भएर पढाउन छाडेपछि मैले पनि आफूले सकेको काम पाए राम्रै हुन्थ्यो ।
सातजनाको ग्रुप थियो, दुई केटा र पाँच केटी । सबैभन्दा सानी म थिएँ । म १२ वर्षकी थिएँ, तर १८ वर्षकी भन्नुपर्ने थियो । धर्मदाइले त्यही सिकाउनुभएको थियो । रेस्टुरेन्टको साहुले मलाई कलिलो उमेरकी भनेर जागिर दिन मान्नुभएन । साहुले धर्मदाइलाई भन्नुभएछ, ‘यो १८ वर्षकी जस्ती छैन । सानी छ, बच्चा नचायो भनेर मलाई गाली गर्छन्, यसलाई भोलिदेखि नल्याउनू ।’
काम नपाउने भएपछि सबैको अगाडि म रोएँ । म रोएपछि धर्मदाइले साहुसँग सल्लाह गर्नुभयो र मलाई राखियो । मैले त्यहाँ राति सात बजेदेखि १० बजेसम्म नाच्नुपथ्र्यो ।
मितेरीमा मसँगै नाच्ने एउटी रेश्मा श्रेष्ठ भन्ने दिदी हुनुहुन्थ्यो । त्यहीबेला उहाँलाई सोल्टी होटलको क्यासिनोमा डान्स गर्न बोलाइयो । रेश्मादिदी क्यासिनोमा नाच्ने कि ननाच्ने भन्ने द्विविधामा हुनुहुन्थ्यो । एक–दुई दिन जाने र मन नपरे नजाने सोचमा हुनुहुन्थ्यो । उहाँले मलाई पनि एक–दुई दिनका लागि साथै जान भन्नुभयो । त्यहाँ लीला श्रेष्ठ भन्ने हुनुहुन्थ्यो । उहाँका दुई छोराबुहारी, नातिनातिना पनि त्यहीँ क्यासिनोमा नाच्नु हुँदोरहेछ । उहाँहरुले मलाई पनि त्यहीँ नाच्न भन्नुभयो । क्यासिनोमा नाच्नेलाई त्यति राम्रो मान्दैनन् भन्ने मलाई पनि परेको थियो । तर, त्यहाँ गएपछि म स्पष्ट भएँ । त्यहाँ त परिवार पनि नाच्दा रहेछन् ।
क्यासिनोले मलाई पाँच हजार रुपैयाँ मासिक तलब दिनेभयो । यता, मितेरीले २५ सय रुपैयाँ दिनेगथ्र्यो ।
त्यसपछि मैले ठमेलको टपटेन फ्यामिली रेस्टुरेन्टमा काम पाएँ । त्यो रेस्टुरेन्ट अहिले छैन । क्यासिनोमा नाच्ने ग्रुपमार्फत मैले टपटेनमा काम पाएकी थिएँ । टपटेनले पनि मासिक पाँच हजार दिने भयो । त्यसपछि मैले मितेरीमा डान्स गर्न छाडेँ । मितेरीमा त्यस्तै तीन–चार महिनाजति गरेँ ।
साँझ ७ देखि १० बजेसम्म टपटेनमा र १० देखि २ बजेसम्म क्यासिनोमा नाच्न थालेँ, झन्डै दुई वर्षसम्म । यो ०५६÷५७ सालको कुरा हो ।
सानी भएकाले मलाई सबैले माया गर्नुहुन्थ्यो । कतिपय कल्चरल डान्स हुन्थेँ । हामीले बिहानैदेखि रिहर्सल गथ्र्यौ । डान्स कम्पोज गथ्र्यौं ।

pojanaहिरोको हिरोइन
मैले टपटेनमा डान्स गरेको निर्माता छवि ओझा र श्याम खेतानले हेर्नुभएको रहेछ । उहाँहरुले नयाँ फिल्म बनाउँदै हुनुहुँदो रहेछ, हिरो । फिल्म हिरोका लागि उहाँहरु हिरोइनहरु खोज्दै हुनुहुँदो रहेछ । त्यही क्रममा उहाँहरु टपटेनमा आइपुग्नुभयो । उहाँहरुले मलाई हिरोइनका लागि ठीक मान्नुभएछ । मलाई भिजिटिङ कार्ड पठाइयो, रेस्टुरेन्टका स्टाफमार्फत । उहाँहरु फिल्म निर्माता भएको थाहा पाएँ ।
त्यतिबेला मैले यो कुरालाई त्यति रुचिपूर्ण लिइनँ । किनभने, त्यति बेला म त्यस्तै १३ की हुँदी हुँ । फिल्म खेल्ने र हिरोइन हुने, नाम कमाउने भन्ने मस्तिष्कमा त्यति परिसकेको थिएन । सानोमा मैले मान्छेहरु, हिरो–हिरोइनहरु टिभीभित्र कसरी छिर्छन् ? कसरी नाच्छन् ? कसरी बोल्छन् ? भनेर टिभी पछाडि गएर हेर्थें । टिभीभित्र साँच्चिकैका मान्छेहरु छिरेका होलान् जस्तो गरी सोच्थेँ । १२÷१३ की हुँदासम्म त्यो भ्रम राम्रोसँग चिरिइसकेको थिएन । एकैचोटि फिल्म खेल्ने कुरा आउँदा अचम्म लागेको थियो । उहाँहरुले फलोअप गरिरहनुभयो । मसँगै शंकर बिसीले पनि डान्स गर्नुहुन्थ्यो । शंकरदाइमार्फत खबर आयो, जसरी पनि आउनू भनेर । मलाई लिएर आउन शंकरदाइलाई भनिएको रहेछ । शंकरदाइले मलाई छविराज ओझाको प्रोडक्सन हाउस ‘नमस्ते नेपाल’मा लिएर जानुभयो ।
उहाँहरुले मलाई प्रत्यक्ष देखेपछि भन्नुभयो, ‘तिमी त निकै सानी रैछौ, स्टेजमा त ठूली देखिएकी थियौ त ?’
पछि ठीकै छ, मेकअप गरेर ठूलो देखाउँला भन्ने कुरा गर्नुभयो ।
रेस्टुरेन्टमा नाच्दा पनि मेकअप र डे«सअपले म ठूली देखिन्थेँ । हिरो फिल्म गर्दा म मात्र १४ वर्षकी थिएँ । हिरोमा तीन हिरोइन छौँ– रेखा थापा, निरुता सिंह र म ।
पहिलो सिन फोनमा बोल्नुपर्ने थियो । डाइरेक्टर नरेश पौड्यालले एक्सन भनेपछि मैले बोल्न थालेँ । तर, सासले मात्रै बोलेँछु । क्यामेरा र थुप्रै मान्छेका अघि बोल्नुपर्ने, निकै डर लागेको थियो । पहिलो सट ओके हुन्, २० टेक लिनुपर्यो ।
मैले पहिलो फिल्म सजिलैसँग पाएँ, तर काम गर्न निकै गाह्रो भयो । हिरो ठीकै चल्यो । यो फिल्म खेलेबापत मैले २० हजार रुपैयाँ र नमस्ते नेपाल लेखेको एउटा चाँदीको सिक्का पाएकी थिएँ ।
मोडल हन्ट– २००३
हिरो फिल्मबाट म खासै नोटिस भइनँ । हिरोपछि लगत्तै मैले मोडल हन्ट ब्युटी पजेन्टमा भाग लिएँ, सन् २००३ मा । विनर पनि भएँ । फस्र्ट रनरअप प्रीति सिटौला हुनुभएको थियो, उहाँ २००३ को मिस नेपाल बन्नुभयो । मैले मिस नेपालमा भाग लिइनँ ।
मोडल हन्टको उपाधि जितेपछि मलाई र्याम सोहरुमा अफर आउन थाल्यो, मोडलिङमा बिजी हुन थालेँ । पाँच वर्षजति मेरो मोडलिङमै बित्यो ।
यता पढाइ चलिरहेकै थियो । आठ कक्षासम्म लैनचौरको श्री शान्ति विद्यागृहमा पढेकी हुँ । एसएलसी सिद्धार्थ बोर्डिङ स्कुल लैनचौरबाट गरेँ, ०६३ सालमा । प्लस टु गरेपछि फिल्म लाइनमै व्यस्त भएँ ।

दर्शन जिन्दगीको
टेलिसिरियलका लागि अफर आयो, तुलसी घिमिरेले ‘दर्शन जिन्दगीको’ टेलिसिरियल बनाउन लाग्नुभएको रहेछ । यो ०६५ सालतिरको कुरा हो । तुलसीदाइको फोन आउँदा एकदमै खुसी लागेको थियो । मेरी आमा पनि तुलसीदाइको फ्यान हुनुहुन्थ्यो । तुलसीदाइले राम्रो फिल्म बनाउनुहुन्छ भन्ने मेरो मनमा पनि थियो ।
भेट्न बोलाइयो । भेट्न जाँदा फेरि भारती भाउजुले ‘सानी भई’ भन्नुभयो । श्रवण घिमिरेको जोडी बन्नुपर्ने रहेछ । उहाँको लाहुरे फिल्म हेरेकी थिएँ । उहाँलाई प्रत्यक्ष देख्न पाउँदा खुसी लागेको थियो । सानी भनेपछि म निराश भएर फर्कें । तीन–चार दिनपछि भारतीभाउजुले फोन गरेर बोलाउनुभयो । भन्नुभयो, ‘सानी त सानी नै भयौ । तर पनि मेकअप र गेटअप गरेर अलि म्याच्युर देखाउन सकिएला ।’
भारती भाउजुले मेकअप, ड्रेसअप गरेर निकै बढी उमेर देखिने बनाउनुभयो । दर्शन जिन्दगीको नेपाल–१ टेलिभिजनमा एक वर्षसम्म प्रसारण भयो ।
त्यो फ्यामिली ड्रामा थियो । धेरैजसो तुलसीदाइकै घरमा सुटिङ हुन्थ्यो । म कति दिन त तुलसीदाइकै घरमा बास बसेँ । तुलसीदाइ, भारती भाउजुले मलाई माया गर्नुहुन्थ्यो । दुवैले हरेक दृश्यलाई राम्ररी बुझाएर एक्टिङ गर्न लगाउनुहुन्थ्यो । यो सिरियल गरेपछि मलाई एक्टिङ गर्ने कन्फिडेन्स बढायो ।

अभिनयका गुरु तुलसी घिमिरे
मैले डान्स सिकेकी छैन । सानैदेखि नाच्दानाच्दै, काम गर्दागर्दै नाच्न सिकेँ । अभिनयको पनि क्लास लिएकी छैन । अभिमन्यू फिल्म खेल्दा मैले फिल्मी फाइटको क्लास लिएकी थिएँ । स्कुल पढ्दा कराते सितेरियो सिकेकी थिएँ, ब्राउन बेल्टसम्म । त्यसले गर्दा फिल्मी फाइट सिक्न पनि खासै गाह्रो भएन ।
हिरो फिल्म गर्दा मलाई विश्व बस्नेतले केही समय एक्टिङ सिकाउनुभएको थियो । त्यसपछि मलाई राम्रोसँग अभिनय सिकाएको तुलसीदाइ र भारती भाउजुले नै हो । मैले तुलसीदाइ र भारती भाउजुलाई अभिनयको गुरु मान्छु ।

लोकगीतले आमनेपालीमाझ चिनायो
सिरियल गर्दैगर्दा पनि मलाई स्टेज प्रोग्राममा डान्स गर्न अफर आइरहेको हुन्थ्यो । यसै सिलसिलामा मेरो म्युजिक भिडियो निर्देशक शिव विकसँग चिनजान थियो । शिव विकले एउटा लोकगीतको म्युजिक भिडियोका लागि अफर गर्नुभयो । भगवान भण्डारीको ‘वनमा काँढा छ’ दोहोरी गीतको भिडियो रहेछ । यो गीत हिट भयो । त्यसपछि शिव विकले नै मलाई अर्को लोकगीतका लागि अफर गर्नुभयो, मिलन लामाको दोहोरी गीत ‘माझीदाइ पोखरा फेवातालको, लाउमाया साँच्चैको नलाउ भो ख्यालख्यालको’मा । यो गीत सुपर हिट भयो । यी दुई गीतले नै मलाई वास्तवमा आमनेपाली माझ चिनायो ।
लोकगीत विदेशमा बस्ने नेपालीले खुब सुन्ने–हेर्ने गर्नुहुँदो रहेछ । त्यसपछि मलाई विदेशमा रहेका नेपालीमाझ हुने स्टेज प्रोग्रामहरुबाट पनि अफर आउन थाल्यो ।
दर्शन जिन्दगीपछि मैले भिडियो फिल्म ‘कर्मको फल’मा काम गरेँ । तामाङ जातिको संस्कृतिमा आधारित छ । यो फिल्म पनि निकै हिट भयो ।
यसपछि म निरन्तर चलचित्र अभिनयमा लागेँ । अहिले मैले चलचित्र चकलेट निर्माण गरेकी छु । यसमा मैले नै कथा लेखेकी छु । निर्देशक निर्मल शर्मा हुनुहुन्छ । यो चलचित्र १० मंसिरदेखि देशभर प्रदर्शन हुँदै छ । चकलेटसँगै आजसम्म मैले ३६ वटा नेपाली चलचित्रमा अभिनय गरेकी छु ।
हिरो, आँधीतुफान, तहल्का डटकम, तीर्खा, श्रीमान, पापीमान्छे–२, सिकारी, द निर्मलालगायत चलचित्रमा काम गरेँ ।

जयसंगतमा
जीवन भनेको योग लाग्छ मलाई । योग भनेको भगवानसँग जोडिनु, भगवान भनेको मानवताका लागि असल कार्य गर्ने मानिस वा चरित्र भनेर बुझौँ । सबै मानिस र प्राणीप्रति सद्भाव राख्नु, सबै मानिसलाई समान व्यवहार गर्नु अर्थात् मानवतावादी चरित्र निर्माण गर्नु नै योग हो ।
जयसंगत आध्यात्मिक अभियान हो । मैले बुझेअनुसार, मानिसहरुबीचको समान व्यवहारसहितको संगत नै जयसंगत हो । म यसमा ०६५ सालदेखि आबद्ध छु । जयसंगतको प्रमुख पुष्पराज पुरुष हुनुहुन्छ । पुष्पराज कलाकार पनि हुनुहुन्छ । एकपटक एउटा म्युजिक भिडियोमा उहाँसँगै काम गर्ने मलाई संयोग मिल्यो । पार्यौ नि भुतुक्कै बोलको लोकगीतमा हामीले सँगै काम गर्यौँ । उहाँले परिचय दिने क्रममा भन्नुभएको थियो, ‘जयसंगत, म पुष्पराज पुरुष ।’
एउटा पुरुषले के पुरुष भनेर परिचय दिएको होला ? मलाई अनौठो लागेको थियो । सुरुमा मैले उहाँलाई जिस्काएकी थिएँ, ‘तिमी पुरुष भनेर था’छ त, के पुरुष–पुरुष भनिराको ?’
एक दिन म उहाँको आश्रममा पुगेँ, काम विशेषले । उहाँको आश्रम पुतलीसडकमा थियो । त्यतिबेला मलाई कुनै पोजिटिभ भाइब्रेसनले छोएको जस्तो अनुभूति भयो । आश्रममा मलाई सात्विक खाजा खुवाइयो । मलाई त्यो सात्विक खाजा पनि विशेष लाग्यो । त्यतिबेला म फिल्म ‘मिसन नेपाल’ मा काम गर्दै थिएँ, जसमा सिमान्त उदासको निर्माण र नवल नेपालको निर्देशन रहेको छ ।
यो फिल्ममा काम गर्दैैगर्दा अलि बढी मोटाएको फिल भइरहेको थियो । पुष्पराज पुरुषलाई फोन गरेर भनेँ, ‘म पनि तपाईंको आश्रम आएर एक हप्ता योग सिक्छु । योगले शरीरको घट्छ नि ।’
उहाँले मलाई नौ दिनको कोर्समा बोलाउनुभयो । कोर्समा शारीरिक योगसँगै भक्तियोग र ध्यानयोग गर्नुपथ्र्यो । जसले मलाई विशेष आनन्दको अनुभूति गरायो । बुझ्दै जाँदा उहाँहरुको अभियान मलाई मन पर्यो । र, म पनि जयसंगतमा आबद्ध भएँ । हामीले बालबालिकाको क्षेत्रमा पनि काम गरेका छौँ ।

आमाको नाममा नागरिकता पाइनँ
नागरिकतामा मेरो थर गुरुङ छ । त्यतिबेला आमाको नाममा नागरिकता लिने प्रावधान थिएन । तर, मैले आमाको नाममा नागरिकता लिने प्रयास भने गरेकी थिएँ । तर, हुँदै नहुने भएपछि मैले बुवाको नाममा नागरिकता लिएँ, सन् २००५ मा । मलाई विदेशका कार्यक्रममा जान नागरिकता र पासपोर्ट अनिवार्य भयो ।
नागरिकता बनाउन जाँदा बुवासँग भेट भएको थियो । अहिले पनि फोनमा कुराकानी भइरहन्छ । बुवा अहिले धेरैजसो लमजुङमै रहनुहुन्छ । उहाँको काठमाडौंमा पनि काम परिरहन्छ । बुवाको गाउँको घर लमजुङको हिलेटक्सारमा हो । तर, उहाँ अहिले बेसीसहरमा बस्नुहुन्छ ।
बुवाप्रति मेरो कुनै गुनासो छैन । बुवासँगै भएको भए सायद आज म पूजा गुरुङ हुन्थेँ । पूजना प्रधान भएर चिनिने थिइनँ । आमाको संघर्ष देखेर र मेरो आफ्नै संघर्षले आज म पूजना प्रधान छु ।

प्रस्तुति : ध्रुवसत्य\फातिमा बानु ratipati बाट साभार गरिएको …

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१