काठमाडौँ । नेपालको पदयात्रामा लोभिएका ल्याटभियाका इन्टस मर्निक्स र नटालिया क्रास्टिना यस पटक नेपाल आउनासाथ माथिल्लो मुस्ताङको पदयात्रामा हानिए ।
नवौँ पटक नेपाल आएका यी पर्यटक जोडी अगस्टको पहिलो हप्ता हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमबाट कागबेनी, चेते, एक्ले भटी, घमी, माथिल्लो मुस्ताङ लोमान्थाङजस्ता क्षेत्र हुँदै तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथसम्मको दुई हप्ताको साहसिक पदयात्रापछि काठमाडौँ फर्किए ।
आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण तथा छ हजार मिटर अग्ला ३५ बढी हिमालले घेरिएको कालीगण्डकीको किनारबाट सुरु हुने न्यूनतम दुई हजार आठ सयदेखि तीन हजार सात सयसम्मको हिमाली डाँडाका उकाली ओरालीको माथिल्लो मुस्ताङको हिँडाईले उनीहरुको पदयात्राको तिर्सना मेटिएन । सन् १९९२ बाट पर्यटकका लागि सो पदयात्रा खुल्ला गरिएको हो ।
“केही दिन काठमाडौँ, पाटनका प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँहरु घुम्यौँ, काभ्रेको तिमाङमा भूकम्पपीडितको राहत कार्यक्रममा सहभागी भएर डोल्पातर्फ लाग्यौँ” – इन्टस मर्निक्सले भने ।
थकाई नमेटिए पनि घुम्ने रहरले गर्दा उनीहरु त्यसपछि माथिल्लो डोल्पाको पदयात्रामा गए । धर्म, संस्कृति, हिमाली जनजीवन, मनोरम प्रकृतिको दृश्यावलोकनसहित तीनवटा पाँच हजार दुईसय मिटर अग्ला भञ्ज्याङ पार गरेर पदयात्रा सक्ने क्रममा थिए ।
“डोल्पाको दुनैमा कफी खाएर कुरा गर्दै थियौँ, मुस्ताङपछि तीन हप्ताको माथिल्लो डोल्पा घुमी सक्दा पनि लाग्यो अझै हाम्रो पदयात्रा पूरा भएको छैन अनि तत्काल कञ्चनजङ्घा पदयात्रामा जाने निर्णय ग¥यौँ” – नटालिया क्रास्टिनाले भनिन् । रहरै रहरमा उनीहरुले कञ्चनजङ्घाको तीन हप्ते पदयात्रा पनि यसैपटक सकेँ ।
भूकम्पले पर्यटक आगमनमा कमी आएका बेला उनीहरु थुप्रै नेपाली साथी भएकाले भेट्न र पदयात्रा गर्न फेरि नेपाल आए । “मिडियाले प्रचार गरेजस्तो भूकम्पले क्षति पुगेको रहेनछ, होटल रेस्टुराँ, पदयात्रा र अन्य घुमघामका क्षेत्र सुरक्षित रहेछन्” –मुस्ताङ, डोल्पा र कञ्चनजङ्घाको पदयात्रा सकेका उनीहरुले एकै स्वरमा भने ।
उनीहरुले भूकम्पपीडित नेपालीलाई हिमालय पिस एजुकेसन फाउन्डेसनमार्फत खाद्य सामग्री, अस्थायी घर निर्माण गर्न करिब १० हजार युरो सहयोग गरेका सो संस्थाका राजेन्द्रबहादुर लामाले बताए ।
सन् २००५ मा तिब्बत जाने क्रममा ट्रान्जिटमा केही दिन काठमाडौँ बिताएपछि इन्टस मर्निक्स र नटालिया क्रास्टिनाको नेपालको अविश्राम यात्रा जारी छ । झन्डै २० लाख जनसङ्ख्याको ल्याटभियामा मसाज थेरापिस्टमा काम गर्ने इन्टस र किन्डर गार्डेन शिक्षकका रुपमा कार्यरत नटालियाले सन् २००७ मा सानो समूह लिएर अन्नपूर्ण क्षेत्रको पुनहिल, घान्द्रुक पदयात्रा थालेका थिए । त्रिशूली नदीमा जलयात्रा गरे । वन्यजन्तु अवलोकन र जङ्गल भ्रमणमा ख्याति कमाएको चितवन घुमेर दुई हप्ता बिताए ।
सन् २००८, २०११ र २०१४ मा महिनौँ दिनसम्म पनि घान्द्रुक, घोरेपानी, अन्नपूर्ण आधारशिविर, म्याग्दीलगायतका क्षेत्रमा निरन्तर पदयात्रामा पुगे । सन् २०१३ मा तीन अग्ला भञ्ज्याङ पार गरी जिरी लुक्ला हिलारी तेन्जिङ टे«क सफलतापूर्वक पूरा गरेका उनीहरु काठमाडौँ केही दिन बसेर सोही बेला अन्नपूर्ण पदयात्रा पनि गर्न भ्याए ।
किन पटक पटक नेपाल भ्रमण र विशेषतः पदयात्रामा जान रुचाउनुहुन्छ त भन्ने प्रश्नमा उनीहरुले नेपाली जनताको आतिथ्यता र यहाँको सुन्दरताले लोभ्याएको बताए । “नेपालीको आतिथ्यता र नेपालको सुन्दरता, यहाँको हिमाल, ताल, नदीनाला, डाँडाकाँडाको सुन्दरता संसारको अरु ठाउँमा पाइँदैन” – इन्टसले भने ।
यति धेरै विविधता अरु देशमा एकै ठाउँमा नपाइने तथा अरु देशसँग यहाँको प्राकृतिक विविधता र सुन्दरता पनि दाँज्न नसकिने नटालियाको भनाइ छ । सन् २०१०, २०१२ र २०१४ मा तिब्बत जाने क्रममा काठमाडौँ भ्रमण र विशेषतः अन्नपूर्ण क्षेत्रको पटक पटक पदयात्रा गरेका उनीहरुको फेरि पनि नेपाल आउने धोको छ भन्छन् ।
उनीहरुले अहिलेसम्म सय बढी ल्याटभियाका साथीहरु नेपाल भित्र्याएका छन् । यस पटकको पदयात्राका तस्बिर र श्रव्य दृश्य सामग्री ल्याटभियामा प्रदर्शनी गरेर नेपालमा पर्यटक भित्र्याउन मद्दत गर्ने उनीहरुको लक्ष्य छ । नेपालको पदयात्राका लागि इन्टस आफ्नो भरपर्दो साथी भएको नटालियाले बताइन् ।
“मैले धेरै विदेशी पर्यटक घुमाएँ तर यो जोडीको नेपाल र यहाँको पदयात्राप्रतिको मोह देख्दा अचम्म लाग्छ” – उनीहरुको पदयात्रामा सघाउँदै आएका फ्राइन्डस एड्भेन्चर टिम प्रालिका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाले भने । क्यानोनिङ, चुली आरोहण र पदयात्रा पथप्रदर्शकको काम गर्दै आउनुभएका लामा पदयात्रामा रुचि राख्ने पर्यटक एक पटक नेपाल आएपछि पटक पटक आउने गरेको दृष्टान्त धेरै भएको बताए ।
(रासस
प्रतिक्रिया