झापा, २० कात्तिक। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मालवाहक ट्रकको ठक्करबाट झापाको कनकाई नगरपालिका–८ विरिङ पुलनजिकै शीतलचोकमा आज दिउँसो दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ निवासी ४० वर्षीय लक्ष्मी थापा र सोही ठाउँ निवासी २८ वर्षीय केशव बोहोरा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । वा ५८ प ८१५६ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका उनीहरुलाई सोही दिशातर्फ आइरहेको मे १ ख १८३२ नम्बरको बसलाई ‘ओभरटेक’ गर्ने क्रममा विपरीत दिशातर्फ जाँदै गरेको ना ४ ख १०२१ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करपछि उछिट्टिएको मोटरसाइकल पुनः बससँग ठोकिन पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ट्रक र बसको ठक्करबाट गम्भीर घाइते बनेका उनीहरुको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए । रासस
प्रतिक्रिया