काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आज एक कार्यक्रमको आयोजना गरि नेपालको पर्यटन प्रबद्र्धन गर्नको लागि ‘जे’ टू ‘जे’ सम्मेलन गर्नु पर्ने बताएको छ । टेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाईं दिन आयोजना गरेको कार्यक्रममा जाट¬–नेपालले ‘जे’ टू ‘जे’ अवधारणा सार्वजनिक गरेको हो । बधाईं दिन आयोजना गरिएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले ‘बि’ टू ‘बि’को अवधारणा अनुरुप नै ‘जे’ टू ‘जे’को अवधारणा ल्याइएको बताए । उहाँले ‘जे’ टू ‘जे’ अर्थ बताउँदै जर्नालिष्ट टू जर्नालिष्ट अर्थात नेपालको पर्यटन प्रबद्र्धन गर्नको लागि ‘जे’ टू ‘जे’ सम्मेलन गर्न आवश्यक रहेको बताउनु भयो । बिजनेश प्रमोशनका लागि ‘बि’ टू ‘बि’ गरेको जस्तै नेपालको प्रबद्र्धन पत्रकार मार्फत गराउनको ‘जे’ टू ‘जे’ गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद रिजालले आफूले पहिले देखिनै महशुस गरिरहेको कार्यक्रमको अवधारणा पर्यटन पत्रकार संघले ल्याएको पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले ‘जे’ टू ‘जे’ सम्मेलन गर्न सकियो भने यसले अन्ततः व्यवसायी र देशलाई नै फाइदा हुने हुँदा यस अभियानमा आफूहरु प्रत्यक्ष जोडिने र सहयोग गर्न तत्पर रहेको बताउनु भयो । उहाँले निर्वाचनको प्रचारप्रसार अभियान मै आफूले यस किसिमको प्रतिबद्धता जाहेर गरेको बताउँदै जाट–नेपाललाई स्पष्ट अवधारणा ल्याएर अघि बढ्न आग्रह समेत गर्नु भयो । सोही कार्यक्रममा टानका महासचिव कर्ण लामाले पर्यटन पत्रकारहरुकै लागि भनेर टानको नयाँ कार्यसमितिको पहिलो बैठकले नै पदयात्रा पर्यटन पत्रकार कोषको स्थापना गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले ‘जे’ टू ‘जे’ सम्मेलन एउटा सुन्दर एजेन्डा भएको बताउँदै नेपालका पत्रकारहरुले दिएको सन्देशलाई नै विदेशी पत्रकारहरुले समाचारको सामग्री बनाउने भन्दै सकारात्मक समाचार सम्प्रेषणमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले ‘जे’ टू ‘जे’ सम्मेलनका लागि नेपाल पत्रकार महासंघ जापानले जापानको सिनबुन एसोसिएशनसँगको संयोजनकारी भूमिका निर्वाह गर्न सक्ने बताउनु भयो । उनले आफूहरुले समेत जापानमा एक नेपाली एक पर्यटक अभियान चलाइरहेको बताउनु भयो ।
टानका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले ‘जे’ टू ‘जे’ सम्मेलन गराउनका लागि बोर्डले समेत नेतृत्वदायी भूमिका निर्वाह गराउने बताए । उनले भूकम्पपछि नेपालमा करीब ३ सयको हाराहारीमा विदेशी पत्रकारहरु भ्रमणको लागि आएको बताउँदै आगामी दिनमा यस्ता पत्रकारहरुलाई पनि जाट–नेपालसँगको सहकार्यमा भ्रमण गराउने बताए । साथै, उनले तत्काल जाट नेपालको नेतृत्वमा आन्तरिक पर्यटकीय गन्तव्यहरुको अवस्थाको बारेमा बुझाउनको लागि पर्यटन पत्रकारहरुलाई एक भ्रमण कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष देवी पन्तले ‘जे’ टू ‘जे’ सम्मेलनलाई जाट नेपालले आफ्नो मूल एजेन्डाको रुपमा अघि सार्ने प्रष्ट पार्नु भयो ।
प्रतिक्रिया