तेह्र वर्षदेखि जमिन भारतमा, लालपुर्जा नेपालमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ कार्तिक २०७२, आईतवार १०:१८

कञ्चनपुर, १५  कात्तिक  । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा मात्रै छ, जोत्नका लागि जमिन छैन । सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् ।lalpurja

विसं २०२८ देखि बसोबास गर्दै आएको सुनारको जमिनको २०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा धनी लालपुर्जा दिएको सुनारले बताए ।

सुनारको जमिन २०५८ सालदेखि भारतीय पक्षले कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन् । “मेरो जमिन हाम्रो देश भारतको हो, भन्दै बेलाबेलामा भारतीय वन विभागका कर्मचारीहरुले धम्काउने, दुव्र्यबहार गर्ने गर्दछन्” सुनारले भने – “के गर्ने कागजमा मात्रै जमिन छ ।”
“वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग गर्न नपाएको १३ वर्ष भइसक्यो ।” उनले भने – “फिर्ताका लागि कहीँ कतैबाट समेत पहल भएको छैन ।” जमिन उपभोग गराइदिने पहल कसैले नगराएको उनको दुःखेसो छ ।

त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का स्थानीयवासी मानबहादुर सुनारको समस्या उस्तै छ । उनको पनि नेपाल–भारत पिलर नं २०० नजिकै रहेको डेढ बिगाहा जमिन भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आवादी छ । “भारतीय वन विभागका तर्फबाट बेलाबेलामा आई धम्काउने जोतिरहेका बेला हल गोरु खोलेर लिएर जाने, ट्र्याक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की दिन्छन्” – उनले दुःखेसो पोखे ।

“हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न पाएको छैन ।” उनले पनि १३ वर्षदेखि जमिन उपभोग गर्न नपाएको गुनासो गरे । उनीहरु दुवैजना अरुको अधियाँ गरेर दैनिक गुजारा चलाउँदै आएका छन् । सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् हैन भने हामीले लालपुर्जा भएको जग्गा जोतपोत गर्न पाउनुपर्ने उनीहरुको माग छ ।

दुवै नेपाली नागरिकको जमिनबारे स्थानीय प्रशासन अझैसम्म पनि मौन बसेको छ । विसं २०६७ मा संसदीय समिति र तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीको लालपुर्जाको प्रतिलिपि पनि लगेर गएको थियो ।

तर, अहिलेसम्म सम्बोधन हुन नसकेको इलाका प्रशासन पुनर्वासका प्रमुख मानप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार दुवैजनाको जिल्लादेखि केन्द्र तहसम्म कुरा पु¥याइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन ।

नगर विकास समिति पुनर्वासका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले भारतीय पक्षले नेपालीको जमिन उपभोग गर्न नदिएको प्रति निकै आवाज उठाएको बताउनुभयो ।

दक्षिणी क्षेत्रका जनताले सीमा क्षेत्रको समस्या समाधान र सीमा मिच्नबाट रोक्नका लागि एक गाविस एक सशस्त्र सीमा सुरक्षा क्याम्प राख्नुपर्ने माग गरे पनि स्थानीयवासीको माग सरकारले नसुन्दा यस्तो समस्या देखापरेको स्थानीयवासीको गुनासो छ ।

यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले दुवै नेपाली नागरिकको लालपुर्जा भए उपभोग गर्न पाउनुपर्ने बताउनुभयो ।
यसबारेमा कञ्चनपुरका राजनीतिक दलहरुले समेत पहल गरिदिनुपर्ने पीडितहरुको माग छ । रासस

प्रतिक्रिया