विजया पन्त । लुम्बिनी अञ्चलको पाल्पा जिल्लाको सदरमुकाम तानसेन प्रकृतिको अनुपम सौन्दर्यको उत्कृष्ट नमुना हो । त्यसैले त तानसेनलाई नेपालकी रानी भनेर चिनिन्छ । भू बनोटका आधारमा हेर्दा नेपालको दार्जिलिङ पनि भन्ने गरेको पाइन्छ । श्रीनगरको डाँडादेखि माडी फाटसम्म पाइला टेकेकी तानसेन रानीले कसैको पनि मन नलोभ्याइ छोड्दिनन् ।
उत्तरतिर रहेको श्रीनगर डाँडा जहाँबाट हिमाच्छादित शिखर र तराईको फाटलाई नजरमा कैद गरी दृश्यात्मक आनन्द गराउन सक्छिन् । श्रीनगरमा ढकमक्क फुलेका लाली गुँरासका फुल र त्यहाँबाट देखिने दृश्यले हरेक अगन्तुकको मन सुटुक्क चोरेकी हुन्छिन् । बाह्रै महिना छाउने हरियालीले वसन्त ऋतुको अनुभूति गराउने हुँदा हरेक महिना बनभोजको आनन्द लिन अतिथिहरूलाई खुला हृदयले स्वगत गर्छिन् । यहाँ आएर देख्नेहरू मात्र होइन तानसेनको नाम सुन्नेहरू पनि तानसेन रानीको सौन्दर्यप्रति भुतुक्कै हुन्छन् । प्रकृतिको सुन्दर नगरको रुपमा सिगारिएकी तानसेन रानीले भूस्वर्गको अनुभूति गराई हृदय भरी हर्ष लुकाउन र मन मस्तिष्कमा ममता उमार्न सक्छिन् ।
यहाँका मठमन्दिरले बोकेको इतिहासलाई कसैले पनि भुल्न सक्दैन । भगवती स्थान, नारायण मन्दिर कला र संस्कृतिको धरोहर हुन् । यी मन्दिरका कलाले प्राचिन संस्कृति र कालिगढहरूको कलाकौशल र पीडाप्याथालाई व्यक्त गरेका छन् । भगवती मन्दिर देवीको आस्था र श्राद्धाको स्थम्ब मात्र नभै नेपाली शक्ति र वीरताको प्रतीक पनि हो । त्यसैले सबै जाति र धर्मालम्बीहरूको समान आस्था र श्राद्धा जाग्दछ ।
तानसेन रानी पाल्पाको सदरमुकाम भएको हुँदा सहर हो तर सहरीपनबाट आज पनि टाढा रही हेरक व्यक्तिमा आत्मियता, हार्दिकता, स्वभाविकता, सहजता भरिदिन खुबै सिपालु छिन् । व्यापार व्यवसाय गर्नु हरेक व्यक्तिको जीवन यापनको आधार हो । आज विज्ञान र प्रविधिको युग हो । त्यसैले विज्ञान र प्रविधिबाट मानिस टाढा रहन सक्दैन ।
ठूला र विकसित सहरमा विज्ञान र प्रविधिसँगै मानवता हराइरहेको छ तर तानसेनमा आज पनि एकअर्कामा आत्मियताको भाव पाउन सकिन्छ । व्यापारिक केन्द्र भइकन पनि ग्राहक र व्यापारी बीच मानवता, आत्मियता र हार्दिकताको सम्बन्ध रहेको छ । कुनै सामान किन्न जाँदा मज्जाले मोलतोल गरेर, खुला हृदयले गफ गरेर किन्न पाइनुले आज पनि निस्वार्थ र स्वच्छ ग्रामीण परिवेशको झझल्को ल्याउँछ । जब एकअर्का बीच विचारको आदान प्रदान हुन्छ अनि आत्मियताको आभाष हुन्छ ।
त्यसैले गर्दा एकपटक सामान किन्न गएको ग्राहकले सामान खरीद भन्दा पनि सम्बन्ध जोडेर आएको महसुस गर्ने हुँदा त्यो व्यापारीलाई भुल्न सक्दैन । व्यापारीको बोली र व्यवहारले ग्राहकले पैसा तिरेको पनि अनुभूति गर्दैन । यस्तो मीठो सम्बन्ध ठूला र आधुनिकतामा रमाएका सहरमा कहाँ पाउन सकिन्छ ? आधुनिकताले भरिएको सहरमा त मान्छे मान्छे बिच मानवीय सम्बन्ध हराएर मेसिनको सम्बन्ध हुन्छ । यो पनि तानसेन रानीमा पाइने महत्वपूर्ण विशेषता हो ।
शिक्षा क्षेत्रको इतिहासमा पनि कम महत्वपूर्ण छैन । यहाँको पुराना शिक्षण संस्थाहरु त्रिभुवन बहुमुखी क्याम्पस, जनता स्कुल, प. प. स्कुल , महेन्द्र बोधि स्कुल जसले कृषकदेखि प्रधान मन्त्रीसम्मका जनशक्ति उत्पादन गरेका छन् । पाल्पाको शिक्षा भनेपछि सबैले गुणस्तरीय ठान्दथे । गुणस्तरीय शिक्षा भएकै कारण टाढाटाढाबाट पनि शिक्षा लिन आउँथे । यसरी तानसेन रानीले राच्चै सबैको मन जितेकी थिइन् ।
आज कताकता यति सुन्दर तानसेन रानीको श्रीपेच हराएको महसुस हुन्छ । यहाँ धेरै स्कुल र कलेजहरु खुलेसँगै हिजोको जस्तो गुण्स्तरीय शिक्षा हराएको आभाष भएको छ । जागिर खाने ठाउँ एउटा र अर्को ठाउँमा व्यवसाय गरी शिक्षण संस्था खोलेका कारण पुराना र नामी सरकारी शिक्षण संस्था धारासायी भएका छन् । आजकल बाहिरबाट शिक्षा लिन आउनु त कहाँ हो कहाँ तानसेन कै पनि राम्रो शिक्षाको खोजीमा भन्दै बाहिर गएबाट शिक्षको गुणस्तरमा कमी आएको त होइन ? भन्ने आशंका उत्पन्न हुन्छ ।
तानसेन रानीको श्रीपेच संरक्षण गर्न भनी तलब, भत्ता खाएर विभिन्न तहमा रहेका व्यक्तिको गैरजिम्मेवारीपूर्ण उत्त।दायित्वको कारण हरेक क्षेत्रमा कुरुपता छाएको छ । खाने पानीको अस्तव्यस्त र हाहाकारले तानसेन नगरवासी मात्र होइन बाहिरबाट घुम्न आउने अतिथिहरु पनि काकाकुलको महसुस गर्दछन् । तानसेन नगरपनलिकामा पानीको समान वितरण छैन भने अर्कोतिर पानी वितरणको समय तालिका पनि छैन । त्यसैगरी थोरै आकाशबाट पानी पर्ने बित्तिकै घन्टौँसम्म बत्ती जानेर र विना सुचना दिनभरका दिनभर लाइन काटिनाले गर्दा जुन अन्धकार छाउँछ यसले तानसेन रानीका श्रीपेचको हिरामोति खस्दै हराउँदै गएको त होइन भन्ने हुन थालेको छ ? तानसेन नगरभित्रका सडक जहाँ पिच उक्किएर कुरुप हुनुको साथै खाल्टा परेर पानी भरिएका हुन्छन् ।
त्यसै गरी वाटामा यत्रतत्र फालिएका फोहरका पोका अनि जथाभावि थुकेका फोहरले तानसेन रानीको श्रीपेचमा कुरुपता बढ्दै गएको छ । तानसेन रानीको संरक्षण र संबद्र्धनका लागि तलब र भत्ता खाएर बस्नेहरू मात्र होइन तानसेन रानीको काखमा बसेर आनन्द लिनेहरू पनि तानसेन रानीको श्रीपेचमा कुरुपता ल्याउन उद्धत छन् । यसले तानसेन रानीको सौन्दर्यले लोभ्याएर घुम्न आउने अतिथिहरुको हृदयमा ठेसलागेको पाइन्छ ।
रानी आफै सुन्दर हुछिन र श्रीपेचले रानीको फरक पहिचान र अस्तित्वलाई बोध गराउँछ । श्रीपेच हराउनु भनेको पहिचान र अस्तित्व हराउँदै जानु हो । पानीको अभाव, बाटोको फोहर, आदि श्रीपेचको हिरामोति हराउनु र कुरुपता आउनु हो । त्यसैले तानसेन रानीलाई हेर्ने अतिथिको आँखामा हिलो नछ्याप्न र तानसेन रानीको पहिचान नगुमाउन सबै आआफ्नो ठाउँबाट जुटऔँ । हुँदैन र ?
प्रतिक्रिया