‘रोमान्टिक छन् उपराष्ट्रपति’ पत्नी नवीनाको नजरमा उपराष्ट्रपति झा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ कार्तिक २०७२, सोमबार ०७:३४

parmanad-jhaकाठमाडौं  । सात वर्षअघि उपराष्ट्रपतिमा निर्वाचित परमानन्द झाको कार्यकाल एक महिनाभित्रै सकिदै छ । लामो समय न्याय क्षेत्रमा बिताएका उनले उपराष्ट्रपतिका हैसियतमा दिएका अभिव्यक्ति पनि विवादित बने । उपराष्ट्रपति झाका बानी र स्वभावबारे पत्नी नवीनालाई नयाँ पत्रिकाकाखगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् ।

पद र काम
१) उपराष्ट्रपतिमा निर्वाचित भएको दिन घरमा खुसीयाली कत्तिको मनाइएको थियो ?
खुसीयाली नहुने त कुरै भएन नि । तर, हामीलाई उहाँ यसरी बन्दै हुनुहुन्छ भन्ने थाहा नै थिएन । फोरमका दुईजना मान्छे आएर उहाँको नागरिकता र फोटो लिएर जानुभएको थियो, त्यसकै लागि रहेछ । उहाँले पनि केही भन्नुभएको थिएन, हामीले त अन्तिममा मात्रै थाहा पायौँ ।
२) उपराष्ट्रपति बनेपछि सरकारी निवासमा सुरुका दिनमा कत्तिको उकुस–मुकुस महसुस गर्नुभयो ?
त्यो लागिहाल्छ नि सुरुका दिनमा, कतै निस्कन पनि नपाइने । बिस्तारै बानी पर्‍यो । कुराकानीका क्रममा ‘पहिलाको जिन्दगी नै रमाइलो थियो, फ्री भइन्थ्यो’ भन्नुुहुन्थ्यो ।
३) कार्यालयमा धेरै बस्नुहुन्छ कि घरमा ?
कार्यालय जानुहुन्छ । कहिलेकाहीँ घरमै पनि बस्नुहुन्छ ।
४) काम कति हुन्छ भन्नुहुन्छ कार्यालयमा ?
कामै छैन भन्नुहुन्छ । कहिलेकाहीँ दिक्क मानेर ‘कामै हुँदैन मेरो त, कार्यालय गएर पनि के गर्नु’ भन्नुहुन्छ ।
५) सात वर्ष उपराष्ट्रपति बन्नुभयो, अब जाने वेला भयो, फेरि खान पाए हुन्थ्यो भन्ने इच्छा देखाउनुहुन्छ होला नि ?
खै ? हामीसँग त फेरि बन्न पाए हुन्थ्यो भन्ने केही भन्नुहुन्न ।
६) तपाईंलाई के लाग्छ ?
जाने हो अब त । कति बस्नु यो कैद खानामा ?
७) आफ्नो कार्यकालमा कस्तो काम गरेँ भन्ने बुझाइ छ उहाँको ?
काम भए पो काम गर्नु ? काम नै हुँदैन भन्नुहुन्छ ।

जिद्दी
८) जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जिद्दी त धेरै गर्नुहुन्छ । उहाँलाई लाग्यो भने त्यो कसैले रोक्न सक्दैन ।
९) कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
आफूलाई ठीक लागेका, गर्न मन लागेका कुराहरूमा अति जिद्दी गर्नुहुन्छ ।
१०) सम्झाउँदा पनि मान्नुहुन्न ?
धेरै तरिकाले सम्झाएपछि मान्नुहुन्छ । तर, धेरै मिहिनेत गर्नुपर्छ ।

रक्सी र चुरोट
११) चुरोट–खैनीको अम्मल छ कि छैन ?
अचेल त केही खानुहुन्न ।
१२) पहिला खानुहुन्थ्यो ?
खैनी त होइन, चुरोट खानुहुन्थ्यो ।
१३) दिनमा कति खानुहुन्थ्यो ?
एकदमै धेरै पनि होइन, तर साथीभाइसँग बसेर खाने गर्नुहुन्थ्यो ।
१४) तपार्इंले नखानुस् भनेर सम्झाउनुहुन्थेन ?
भन्थेँ नि । तर, केटा मान्छेहरू मान्छन् ?
१५) पछि कसरी छाड्नुभयो त ?
आफैंले छाडिदिनुभयो ।
१६) रक्सी खानुहुन्छ कि खानुहुन्न ?
कहिलेकाहीँ पार्टीहरूमा, साथीहरू जम्मा भएका वेला खानुहुन्छ ।
१७) कति खानुुहुन्छ ?
थोरै खानहुन्छ । साथीभाइलाई साथ दिन मात्रै ।
१८) तास खेल्नुहुन्छ कि ?
तास त खेल्नुहुन्छ साथीभाइहरू जम्मा भएका वेला ।
१९) पहिलेदेखि नै खेल्नुहुन्थ्यो ?
पहिला पनि खेल्नुहुन्थ्यो प्वाइन्टवाला (म्यारिज) । अचेल पनि खेल्नुहुन्छ । पेट्रोलको समस्या बढेपछि साथीभाइ जम्मा हुन पाएका छैनन् ।

सुत्ने/उठ्ने
२०) कति बजे उठ्नुहुन्छ ?
बिहान तीन बजे उठिसक्नुहुन्छ ।
२१) चिया–कफी के रुचाउनुहुन्छ ?
बिहानमा चिया–कफी केही खानुहुन्न, पानी मात्रै हो खाने ।
२२) एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
गर्नुहुन्छ नि । मर्निङवाक गर्नुहुन्छ आँगनमा । पहिला–पहिला त बाहिरै जानुहुन्थ्यो । उपराष्ट्रपति भएपछि बाहिर जान मिल्दैन ।
२३) योगा गर्नुहुन्छ कि गर्नुहुन्न ?
योगा त झन् पहिलादेखि नै गर्नुहुन्थ्यो । वाक गरिसकेपछि योगा गर्नुहुन्छ । अनुलोम–विलोमलगायतका आसन गर्नुहुन्छ ।
२४) साँझमा पनि एक्सरसाइज गर्नुहुन्छ ?
साँझमा योगा त गर्नुहुन्न, तर वाक गर्नुहुन्छ ।
२५) राति कतिखेर सुत्नुहुन्छ ?
राति त समयमै सुत्नुहुन्छ । नौ बजे निदाइसक्नुहुन्छ ।
२६) सुत्नुअघि केही खाने बानी छ ?
दूध खानुहुन्छ ।
२७) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
सजिलो हुने लुगाहरू लगाउनुहुन्छ । टी–सर्ट, ट्राउजरहरू लगाउनुहुन्छ ।
२८) कुन पेस्ट प्रयोग गर्नुहुन्छ ?
दाँतमा समस्या देखिएपछि डाक्टरले दिएको छ । त्यही प्रयोग गर्नुहुन्छ ।
२९) नुहाउन कुन सेम्पु प्रयोग गर्नुहुन्छ ?
हेयर एन्ड सोल्डर ।

पत्रपत्रिका/टेलिभिजन
३०) पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पत्रपत्रिका त धेरै पढ्नुहुन्छ । तपाईंहरूले (पत्रकार) लेखेका सबै समाचार पढ्नुहुन्छ ।
३१) आफैं पढ्नुहुन्छ कि कसैले पढेर सुनाइदिने गर्छ ?
आफैं पढ्नुहुन्छ ।
३२) टेलिभिजन कति हेर्नुहुन्छ ?
टेलिभिजन पनि हेर्नुहुन्छ । समाचार बिहानको भन्दा बेलुकामा हेर्नुहुन्छ ।
३३) उहाँ कुन–कुन समयमा टेलिभिजन हेर्नुहुन्छ ?
प्राय: राति हेर्नुहुन्छ । फुर्सद हुँदा अरू वेला पनि हेर्नुहुन्छ ।
३४) आफ्नोबारेमा छापिएका समाचारबारे हेरेर प्रतिक्रिया कस्तो हुन्छ ?
त्यो त समाचार हेरेर हुन्छ नि ।
३५) कस्ता समाचारमा कस्तो प्रतिक्रिया हुन्छ ?
राम्रो समाचार आउँदा त राम्रो नै मान्नुहुन्छ । अब कुनै–कुनै पत्रिकाले राम्रो समाचार पनि नराम्रो बनाएर लेख्नुहुन्छ । त्यस्तो समाचार आएपछि त जसलाई पनि नराम्रो लागिहाल्छ नि । ‘कस्तो पत्रकार रहेछ, हावा समाचार लेख्यो’ भन्नुहुन्छ ।

खाना/खाजा
३६) बिहानको खाजामा के लिनुहुन्छ ?
बिहान फलफूल र दूध खानुहुन्छ ।
३७) बिहानको खानामा के मन पराउनुहुन्छ ?
रोटी, थोरै भात, दाल, तरकारी खानुहुन्छ ?
३८) माछामासु खानुहुन्न ?
मन त पराउनुहुन्छ । तर, धेरै होइन, थोरै खानुहुन्छ ।
३९) रातिको खानामा के रुचाउनुहुन्छ ?
राति पनि त्यही हो । रोटी, थोरै भात, दाल, तरकारी आदि ।
४०) खानामा कमेन्ट गर्नुहुन्छ कि गर्नुहुन्न ?
त्यति धेरै गर्ने त होइन, मन परेन भने एकछिन कराउनुहुन्छ ।
४१) चिया–कफी खाँदै खानुहुन्न ?
दिउँसोको खाना खाएपछि मात्रै खानुहुन्छ । बिहानमा खानुहुन्न ।
४२) किचनमा कहिले पस्नुहुन्छ कि ?
पस्नुहुन्छ । के पाक्दै छ भनेर सोध्नुहुन्छ ।
४३) पकाउन रहर गर्नुहुन्न ?
सघाउन रुचाउनुहुन्छ । आफैँ पकाउने त गर्नुहुन्न ।
४४) तपाईंलाई अहिलेसम्म केही पकाएर खुवाउनुभएको छैन ?
छैन । म आएदेखि म नै पकाउँछु ।
४५) उहाँलाई केही पकाउन आउँछ कि आउँदैन ?
खै ! मैले त पकाएको देखेको छैन ।
४६) भनेपछि उहाँलाई केही पनि पकाउन आउँदैन ?
पहिला–पहिला पढाइ गर्दा पकाउनुहुन्थ्यो होला, त्यो मलाई थाहा भएन । हाम्रो बिहे भएपछि मैले नै पकाउँछु ।

फिल्म/गीत–संगीत
४७) फिल्म हेर्न कत्तिको रुचि छ ?
फिल्म हेर्न त एकदमै रुचाउनुहुन्छ ।
४८) अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म रुचाउनुहुन्छ ?
धेरै त हिन्दी फिल्म नै हेर्नुहुन्छ । राम्रा छन् भने अंग्रेजी फिल्म पनि हेर्नुहुन्छ ।
४९) दुईजना सँगै हलमा गएर फिल्म कत्तिको हेर्नुभएको छ ?
पहिला–पहिला त धेरै गइन्थ्यो ।
५०) महिनामा कतिपटक हलमा पुग्नुहुन्थ्यो ?
एकपटक त गइन्थ्यो नै । कहिलेकाहीँ दुईपटक पनि हुन्थ्यो । काठमाडौं बस्न थालेपछि लगभग हलमा गएनौँ । अहिले त झन्
कहाँबाट जानु ?
५१) उहाँसँगै हेरेको तपार्इंलाई धेरै मन परेको फिल्म कुन हो ?
त्यस्ता त कति छन् कति । कुन भन्नु ?
५२) अचेल टेलिभिजनमा हेर्नुहुन्छ ?
फुर्सद हुँदा हेर्नुहुन्छ । बेलुका र राति धेरै हेर्नुहुन्छ ।
५३) परिवारका सदस्यसँग बसेर हेर्न रुचाउनुहुन्छ कि हुन्न ?
कहिलेकाहीँ सबै बसेर पनि हेरिन्छ ।
५४) टेलिभिजनमा सिरियल पनि हेर्नुहुन्छ ?
हेर्नुहुन्छ । तर, धेरै हेर्नुहुन्न ।
५५) कुन सिरियल हेर्नुहुन्छ ?
महादेवको सिरियल आउँछ नि, त्यो हेर्नुहुन्छ । धार्मिक सिरियल मन पराउनुहुन्छ ।
५६) गीत कत्तिको सुन्नुहुन्छ ?
गीत सुन्न पनि मन पराउनुहुन्छ ।
५७) कस्ता गीतहरू रुचाउनुहुन्छ ?
हिन्दी फिल्मी गीत, गजल सुन्नुहुन्छ ।
५८) गीत गुनगुनाउने कत्तिको गर्नुहुन्छ ?
पहिला–पहिला त गुनगुनाउनुहुन्थ्यो । अचेल त शान्त हो ।

रेस्टुरेन्ट/खाजा
५९) उपराष्ट्रपति बनेपछि कहिले रेस्टुरेन्टमा गएर खाना–खाजा खानुभएको छ ?
छैन । कसरी जानु ?
६०) पहिला तपाईंलाई रेस्टुरेन्ट लिएर जानुुहुन्थ्यो ?
पहिला पनि हामी रेस्टुरेन्ट त्यति जाँदैनथ्यौँ ।
६१) तपाईंको गुनासो हुँदैनथ्यो ?
हुँदैनथ्यो । मलाई पनि बाहिर गएर खाने सोख थिएन । जे खायो, घरमै हो खाने ।

परिवार
६२) सरकारी निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?
हामी बुढाबुढी, दुई छोरा, जेठा छोराकी बुहारी र एउटी नातिनी छे ।
६३) परिवारलाई समय कति दिनुहुन्छ ?
दिनुहुन्छ । घरमा भएका वेला समय नै समय छ ।
६४) केटाकेटीसँग खेल्न कति रुचाउनुहुन्छ ?
मन पराउनुहुन्छ । फुर्सद हुँदा केटाकेटीसँग खेल्नुहुन्छ ।
६५) परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सबै खालका कुराकानी हुन्छन् । घरायसी, राजनीतिक सबै ।
६६) आफूले थाहा पाएका कुरा परिवारमा कति सेयर गर्नुहुन्छ ?
अफिसका कुरा धेरै गर्नुहुन्न । अरू त भन्नुहुन्छ ।

विदेश घुमघाम
६७) विदेश जाँदा तपाईंलाई सँगै लिएर जान मन पराउनुहुन्छ कि हुन्न ?
लैजानुहुन्छ । पछिल्लोपटक चीन पनि सँगै गएकी थिएँ ।
६८) विदेश जाँदा घुमघाम–रमाइलो गर्नुहुन्छ ?
रमाइलो गर्नुहुन्छ ।
६९) दुईजना सँगै कुन–कुन देश जानुभयो ?
बेल्जियम, बेलायत, फ्रान्स, चीनलगायतका देश सँगै गएका छौँ ।

लुगा/पहिरन
७०) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत नै हुनुहुन्छ । राम्रो लुगा मन पराउनुहुन्छ ।
७१) कस्तो लुगा लगाउन मन पराउनुहुन्छ ?
पाइन्ट, सर्टमा सजिलो मान्नुहुन्छ ।
७२) तपाईंले चाहिँ कस्तो लुगामा उहाँलाई राम्रो देख्नुहुन्छ ?
पाइन्ट, सर्टमा राम्रो देखिनुहुन्छ । नेपाली पोसाक (दौरा–सुरवाल) पनि राम्रो सुहाउँछ ।
७३) लुगामा आइरन आफैं गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
आफैँले लगाएको कहिले देखेको छैन । हामीले नै लगाइदिन्छौँ ।
७४) आफ्ना लागि लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुहुन्छ ?
बाहिर निस्कन पाए पो किन्नु ? कहिले छोराले किनिदिन्छ, कहिले हामी किनिदिन्छौँ ।
७५) शपथ गर्दा धोती–कुर्ता लगाएकोमा उहाँको निकै आलोचना भयो, त्यो दिन कत्तिको तनाव लिनुभएको थियो ?
ए, कुरै नगर्नुस् । त्यतिवेला त के–के भयो के–के । टेन्सन त हुने नै भयो त्यस्तो वेला ।

तलब
७६) आफ्नो तलब तपार्इंलाई दिनुहुन्छ कि आफैं राख्नुहुन्छ ?
न्यायाधीश हुँदा त मलाई नै दिनुहुन्थ्यो । अचेल बैंकमा जान्छ । उहाँसँग भएको मलाई दिने गर्नुहुन्छ ।
७७) आफूले कति राख्नुहुन्छ ?
चाहिएको वेला माग्नुहुन्छ ।
७८) पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ?
कहिलेकाहीँ त भइहाल्छ नि । तर, यादै रहने गरी ठूलो झगडा भएको छैन ।
७९) लामो समय न्यायाधीश रहनुभयो, आर्थिक हिसाबले उपराष्ट्रपति पद राम्रो कि न्यायाधीश ?
पैसा त त्यस्तै हो, अन्य हिसाबले न्यायाधीश नै राम्रो, देशभित्र धेरै जिल्ला जान पाइन्थ्यो । बाहिर पनि गइन्थ्यो । अहिले त घरभित्र मात्रै बाँधिएर बस्नुपर्ने ।
८०) तपाईंलाई न्यायाधीश हुँदा धेरै पैसा दिनुहुन्थ्यो कि अचेल ?
पैसामा त पहिला पनि हामीलाई धेरै दु:ख नै हो । धेरै पैसा त्यतिवेला पनि थिएन ।

रिसाउने र खुसी हुने
८१) रिसाउने बानी कति छ ?
कहिलेकाहीँ रिसाउनुहुन्छ ।
८२) कस्ता कुरामा रिसाउनुहुन्छ ?
आफूलाई मन नपरेको काम भयो भने रिसाउनुहुन्छ ।
८३) रिसाएपछि कसले फकाउँछ/को पहिला बोल्छ ?
कसले फकाउने भन्ने ? जसको काम पहिला पर्छ, उही पहिला बोल्ने हो । फेरि धेरैबेर रिसाउनुहुन्न, एकैछिन हो ।
८४) धेरैबेर रिसाउने तपाईं कि उहाँ ?
धेरैबेर रिसाउने त म नै हो ।
८५) माया गरेर तपार्इंलाई के नामले बोलाउनुहुन्छ ?
त्यस्तो छुट्टै नाम छैन । नवीना भनेर नै बोलाउनुहुन्छ ।
८६) तपाईंले के भन्नुहुन्छ ?
हाम्रोमा नाम लिएर बोलाउने हुँदैन ।
८७) परिवारका सदस्यलाई गाली कति गर्नुहुन्छ ?
रिस उठ्यो भने कराउनुहुन्छ ।
८८) रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?
पिट्ने काम त गर्नुभएको छैन ।

दु:खी र खुसी ?
८९) कस्ता कुरामा खुसी मान्नुहुन्छ ?
सबै कुरा राम्रो भयो, आफूले सोचेजस्तै हुँदै गयो भने खुसी हुनुहुन्छ ।
९०) खुसी कसरी साट्नुहुन्छ ?
परिवरमा भन्नुहुन्छ । गफगाफ हुन्छ, त्यसमा रमाउनुहुन्छ ।
९१) कस्ता घटनामा धेरै दु:खी हुनुहुन्छ ?
आफूलाई राम्रो नलाग्ने कुरा हुँदा दु:ख मान्नुहुन्छ ।

उपहार
९२) तपाईंलाई, परिवारका सदस्य अरूलाई उपहार कत्तिको दिनुहुन्छ ?
उपहार, सुपहार केही दिनुहुन्न ।
९३)तपाईंलाई अहिलेसम्म केही उपहार दिनुभएको छैन ?
पहिला लुगा ल्याइदिनुहुन्थ्यो, तर त्यस्तो उपहार नै भनेर होइन ।
९४) जन्मदिन, म्यारिज एनिभर्सरीमा विस गर्नुहुन्छ कि हुन्न ?
गर्नुहुन्न ।
९५) उहाँलाई याद नै हुन्न ?
गते याद त हुन्छ होला ।

पढ्ने बानी
९६) पुस्तक पढ्ने बानी कत्तिको छ ?
पढ्ने बानी त धेरै छ । कुनै न कुनै पुस्तक पढिराख्नुहुन्छ ।
९७) नेपाली कलाकारलाई कत्तिको चिन्नुहुन्छ ?
खै, त्यो त मलाई थाहा छैन ।
९८) सामाजिक सञ्जालमा कतिको रमाउनुहुन्छ ?
चलाउनुहुन्छ होला । कम्प्युटर चलाएको त देखिरहेकी हुन्छु ।

रोमान्टिक
९९) रोमान्टिक कत्तिको हुनुहुन्छ ?
रोमान्टिक हुनुहुन्छ, वेला–वेला रमाइलो गर्नुहुन्छ ।
१००) ठट्टा गर्ने, रमाइलो गर्ने बानी कति छ ?
गर्नुहुन्छ । मुड भएको वेला रमाइलो गर्नुहुन्छ ।
१०१) जिस्कने कत्तिको गर्नुहुन्छ ?
कहिलेकाहीँ ।

-नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिक्रिया