गणेश सिंखडा
के पी ओलीलाई समर्थन गर्नेहरु राष्ट्रवादी र सुशील कोइरालालाई समर्थन गर्नेहरु राष्ट्रघाती भन्ने तर्कसँग कसरी सहमत हुन सकिन्छ ? यी दुई नेतामा आधारभूत भिन्नता कहाँ छ ? यसबीचमा सरकार चलाउन र संविधान निर्माणमा यी दुईको सहकार्य भएकै हो । दुईबीचमा संविधान निर्माण र सरकार सञ्चालनमा मतभिन्नता कहीं देखियो र ? अहिले दुई जनामा प्रधानमन्त्री को भन्ने मात्र लडाईं देखियो । एउटा कुर्ची दुई जना आकांक्षी भए । स्वाभाविक नै हो, जित्नका लागि एउटाले राष्ट्रवादको नारा दिए र अर्काेले लोकतन्त्रको नारा दिए । यी दुई नेतामा ओली अनुदारवादी प्रवृत्तिको प्रतिनिधित्व गर्छन भने कोइराला केही उदारवादी छन् ।
प्रधानमन्त्रीमा ओली निर्वाचित भए । दुई जना लड्दा एक जनाले जित्छ र एक जनाले हार्छ । ओलीले जिते । ओलीले जित्दा वामपन्थी र राष्ट्रिय स्वाधीनताको जीतको रुपमा एकथरिले खुशीयाली मनाइरहेका छन । विडम्वना नै मान्नुपर्छ, ओलीले जित्दा एमाओवादीका एकथरि नेताहरु नयाँ जनवाद नै आएको जस्तो ठानिरहेका छन् । ओली विगतको सुशीलको विरासतमा नै हिंड्नेछन् । नेपालको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने छैनन् । माओवादी एजेण्डा लागू गर्ने छैनन् ।
भारतको पछिल्लो अघोषित नाकावन्दीले देश अस्तव्यस्त छ । नेपालीका ठूला चाड दशैं, तिहार, छठ ढोकामा आइसकेको छ । अभाव र महंगीले आकास छोएको छ । ओलीको पार्टी पनि सरकारमा थियो तर यसको विकल्पको खोजी कहिले गरेन । सुशील कोइरालाको नेतृत्वको सरकारको यसमा नैतिक दायित्व बढी हुन्छ तर ओली पनि पानीमाथिको ओभानो कसरी बन्नसक्छन ? महाभूकम्पले बन्द भएका चीनका नाका समेत खोल्न नेका–एमालेको संयुक्त सरकारले तदारुकता देखाएन । अहिले इन्धन बन्द हुँदा यो सडक विकल्प हुनसक्थ्यो । वामदेव गौतमहरुमार्फत् किन पहल लिएनन् ओलीले ? आगामी दिनमा पनि कमिशनको चक्करमा घुम्नेमात्र काम हुने निश्चित छ ओली र उनको नेतृत्वमा रहने मन्त्रीहरुको पनि ।
ओली प्रधानमन्त्री भएकोमा मैले समर्थन गरेको पार्टी एमाओवादी नै सबैभन्दा बढी खुशी भएको छ । यो खुशी हुने बेला होइन । यतिवेला देश टुक्रिने हो कि एकताबद्ध हुने भन्ने बहस छ । एमाओवादीका दोस्रो वरियताका नेता डा. बाबुराम भट्टराई पार्टी वाहिर गएको अवस्था छ । उनले उठाएको एजेण्डा र वहिर्गमनलाई स्वीकार्न सकिदैंन । जनयुद्ध लडेर आएको माओवादी छ वटा समूहमा क्रियाशील हुनु भनेकोे माओवादी आन्दोलन हाँक्ने प्रमुख नेता प्रचण्डको नैतिक पराजय होइन ? उनको असफलता होइन ? यतातिरबाट किन समीक्षा गरिदैंन ?
सरकार र सुविधाको बहसमा लाग्दा पार्टी अझै संकुचित हुने अवस्था छ । गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने तरिका अपनाइएन भने माओवादीका नाममा वर्गउत्थान गर्ने र पीडित हुनेहरुका बीचमा संघर्ष हुन्छ । यो आगामी दिनमा निकै पेचिलो बन्ने अवस्था छ ।
विवादित नेता ल्याक्र्याल लामाले आफू आगामी गृहमन्त्री भनेर प्रचार गर्दै हिंडेको सुनिन्छ । उनलाई गृहमन्त्री बनाउन अग्नि सापकोटा र शक्ति बस्नेत सक्रिय भएको वाहिर सुनिन्छ । यो हो भने राष्ट्रियताको कभरमा गरिने यस्ता अर्राष्ट्रिय कार्यले पार्टीलाई कहाँ पु¥याउँछ ? ओलीलाई अगाडि सारेर राज्यको तर मार्ने योजनामात्र हो भन्ने हुन्छ ।
यो संकटपूर्ण अवस्थामा एउटा जिम्मेवार पार्टी, जसले उत्पीडित वर्ग र समुदायको एजेण्डालाई बोकेर यहाँसम्म ल्यायो, तिनको विद्रोहलाई समन गर्ने ओलीको नेतृत्वको सरकारमा जानुहुन्न । दुई÷चार जना सरकारमा जानेहरुले आफ्नो वर्ग उत्थान गर्लान, तर माओवादीको एजेण्डा र शक्ति थप कमजोर हुन्छ । सरकार र सुविधाको बलमा तत्कालको अन्तरविरोध हल गर्ने प्रचण्डले सोंचेका छन भने उनी उठ्नै नसक्ने गरी असफल हुनेछन् । गोपाल किरातीदेखि टोपबहादुर र नारायणकाजीको वैशाखी प्रचण्डलाई भरपर्दाे होइन । चेतना भया !
(लेखक नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष हुन्)
साभार – jhilko.com
प्रतिक्रिया