काठमाडौं । विश्व फुटबलको महाकुम्भ मेला विश्वकप सुरु हुन अब करिब ७२ घण्टा मात्र बाँकी छ । विश्वकप फुटबलले कैयौं नयाँ खेलाडीलाई स्थापित र पुराना खेलाडीलाई विस्थापित गर्छ । तर यसपटकको विश्वकपमा केही यस्ता स्टार खेलाडीहरु छन् जो क्षमतावान भएर पनि विश्वकप गुमाउदै छन् ।
१.जाल्टन इब्राहिमोभिक
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्ने यि स्टारले यसवर्ष पिएसजीलाई फ्रान्सको घरेलु लिग जिताउन महत्वपूर्ण भूमिका खेले । विश्वकपमा यिनको अनुपस्थितिले खल्लोपना महसुस गराउँने भएको छ । उनले विश्वकप छनोट चरणमा स्वीडेनका लागि सात खेलमा ६ गोल गरेपनि देश छनोट हुन नसकेपछि यिनलाई यो महाकुम्भमेलामा नभेटिने भएको हो ।
२.गारेथ बेल
वेल्सका यि स्ट्राइकर विश्वकै महंगो खेलाडीमा पर्छन । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेललाई मड्रिडले ९ करोड १० लाख पाउण्डमा किनेको हो । तर उनको देश वेल्स विश्वकपको छनोट चरणमा समूह ‘क’ बाट पाँचौं हुदै बाहिरिएपछि यिनले पनि विश्वकप गुमाउने भएका हुन् ।
३.कार्लोस टेभेज
यसवर्ष विश्वकपमा नपर्ने सबैभन्दा ठूला स्टार हुन् कार्लोस टेभेज । गत सिजन इङलिस क्लब म्यान्चेस्टर युनाइटेडबाट युभेन्टस गएका टेभेजले भर्खरै सम्पन्न सिजनमा मात्र युभेन्टसका लागि २१ गोल गरेका थिए । युभेन्टसलाई घरेलु च्याम्पियन बनाउँन महत्वपूर्ण भूमिका खेलेपनि अर्जेन्टिनी स्ट्राइकर टेभेज प्रशिक्षक अलेजान्द्रो साबेलाको नजरमा परेनन् । उनलाई विश्वकप छनोट चरणमा पनि टिममा राखिएको थिएन । अघिल्लो विश्वकपमा उनले अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
४.पिटर चेक
यसपटकको विश्वकप खेल्न नपाउँने सबैभन्दा उच्च स्तरका गोलकिपर हुन्, पिटर चेक । चेल्सीका लागि यो सिजनमात्र ५० खेलमा गोलपोष्ट सम्हालेका उनले १६ खेलमा विपक्षीको प्रहारलाई जाली चुम्न दिएनन् । तर उनको देश चेक रिपब्लिक विश्वकप छनोटको समूह चरणबाट नै बाहिरिएपछि उनी पनि यो विश्वकपका दर्शकमात्रै हुने भएका छन् ।
५.ब्रानिस्लाभ इभानोभिच
चेल्सीका भरपर्दा डिफेन्डर इभानोभिचका कैयौं प्रहारहरुले जाली चुम्दा चेल्सी हारबाट जोगिएको थियो । तर उनको देश सर्बिया छनोट चरण पार गर्न असफल भएपछि यि डिफेन्डर पनि विश्वकपमा देख्न पाइने छैन ।
६.समिर नासरी
यसपटकको विश्वकप गुमाउने अर्का स्टार हुन्, समिर नासरी । इङलिस क्लब म्यान्चेस्टर सिटीले यसवर्ष प्रिमियर लिगको उपाधि जित्दा उनको महत्वपूर्ण योगदान थियो । क्लबका लागि राम्रो गरेपनि उनले फ्रान्सका लागि केही नगरेको भन्दै उनलाई यसपटकको विश्वकप खेल्ने टिममा समावेश गरिएको छैन ।
७.रामाडेल फाल्काओ
कोलम्बियालाई १९९८ यता पहिलो पटक विश्वकपमा पुर्याएका फाल्काओ घुडाको चोटका कारण यसपटकको विश्वकपमा देखिने छैनन् । फ्रेन्चकपको खेलमा अर्धव्यवसायिक टोलीविरुद्धको खेलमा उनको घुडाको लिगामेन्ट च्यातिएपछि उनी विश्वकपबाट बाहिरिएका हुन् । उनले विश्वकपको छनोट चरणमा ९ गोल गरेका थिए ।
यसैगरी फ्रान्सका फ्रान्क रिबेरी, जर्मनीका मार्को रिउस, रुसका कप्तान रोमन सिरोकोभ, घानाका मिडफिल्डर जेरी एकामिन्को, इटालीका रिक्कार्डो मान्टोलिभो, मेक्सिकोको लुईस मोन्टेस र स्पेनका थिएगोले पनि यसवर्षको विश्वकप गुमाउने भएका छन् ।
प्रतिक्रिया