विष्णु नेपाल/ काठमाडौँ । सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन भएका छन् । सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुन् ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आइरहेका छन् । यही मार्गबाट हिँडेर अगामी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जनतालाई दिने प्रण गरेका छन् ।
बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनीदेवी कोइरालाबाट विसं १९९५ साउन २८ गते सिन्धुलीको दुम्जा गाउँ विकास समितिमा उनको जन्म भएको थियो । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए । यसपछि विसं २०१२ मा उनी नेकाको सदस्यता लिई पार्टीको काममा होमिए । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए ।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनका गए ।
ूराजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै होू भन्ने कोइरालाले प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे । पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले नेकाका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गरे ।
विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उनी निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उनलाई जेलमा राखिएको हुँदा उनले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो ।
छ वर्ष जेल जीवनपछि कोइराला रिहाइ भए । रिहाइपछि जनमत सङ्ग्रहका समयमा उनी बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किए । त्यसपछि उनी सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे । जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उहाँ युरोपियन मुलुकमा खटिए ।
यस क्रममा उनी सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बने । त्यसपछि कोइराला स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिए । विस २०४६ को प्रथम जन आन्दोलनमा पनि उनको योगदान अतुलनीय थियो । त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए । उसबेला उनलाई मन्त्री पदका लागि आग्रह गरिँदा उनले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिए । उनले हालसम्म कुनै सार्वजनिक पद धारण गरेका छैनन् ।
विसं २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित हुनुभयो । विसं २०६२(६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए ।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए । त्यसपछि विसं २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी बाँके र चितवनबाट सभासद्मा विजयी भएका छन् । त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता बनेका हुन् ।
पार्टी यात्रा
विसं २०१२ मा नेकाको पार्टी सदस्य लिएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बनेका थिए । पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि हुन् ।
सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उनी परिचित छन् । त्यसपछि कोइराला पार्टीको महामन्त्रीका रुपमा काम गरे । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको २०६८ सालमा भएको १२ औं महाधिवेशनबाट उनी पार्टीको सभापतिमा निर्वाचित भए ।
सम्पादक कोइराला
नेता कोइरालाले कुशल पत्रकारको रुपमा काम गरेका छन् । पार्टीको मुखपत्र ुतरुणु पत्रिकाको सम्पादक समेत भएका थिए । प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टीलाई नयाँ उचाइ पुर्याएको छ । कोइरालाका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरु विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए ।
भ्रमण
कोइरालाले बेलायत, अमेरिका, प्रmान्स, चीन, भारतलगायत युरोपियन मुलुक भ्रमण गरेका छन् । रासस
प्रतिक्रिया