साक्षर गराउने अभियानमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह : शिक्षामन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ जेष्ठ २०७१, मंगलवार ०८:२९

काठमाडौँ,२७ जेठ । शिक्षामन्त्री चित्रलेखा यादवले सन् २०१५ सम्म सबै नेपालीलाई साक्षर गराउने अभियानमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ ।chitralekha-yadav-232x340

साक्षरताको अभियानलाई श्रम र सीप जस्तै जीवन उपयोगी बनाउन सक्नुपर्ने उहाँले बताउनुभयो । अनौपचारिक शिक्षा केन्द्र र शिक्षा पत्रकार समूहले राजधानीमा आयोजना गरेको संविधानसभाको सभासदहरुसँगको छलफल कार्यक्रममा शिक्षामन्त्री यादवले विभिन्न राजनीतिक दलका सभासद्हरुले साक्षरता अभियानलाई सबैको मुख्य एजेण्डा बनाउने सामुहिक प्रतिबद्धतासमेत जनाएका छन् । कार्यक्रममा शिक्षा सचिव विश्वप्रकाश पण्डितले सभासदहरुको प्रतिबद्धताले सन् २०१५ सम्म १७ लाखभन्दा बढी निरक्षर नेपालीलाई साक्षर गराउन सकिन्छ भन्ने विश्वास जागेको बताउनुभयो ।

कार्यक्रममा सभासद् रामहरि खतिवडा, रञ्जित कर्ण, गोमा कुँवर, गरिमा शाह, रीता शाही, सन्तु दराई, नीशा शाहलगायतले साक्षरता अभियानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस अवसरमा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल, उपसचिव केशव दाहाल, डा. प्रकाशसिंह अधिकारीलगायतले साक्षरता सामाजिक विकासको एजेण्डा भएकोले यसलाई सबै पक्षसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

सन् २०१५ सम्म सबैलाई साक्षर गराउने सरकारी अभियान छ । यसवर्ष झण्डै १७ लाख निरक्षरलाई साक्षर गराउने सरकारी कार्यक्रम छ ।

प्रतिक्रिया